सूचनाको शक्ति - The Power Of Information

        

बिरयानीसँग राइता माग्दा रेस्टुरेन्टमै ग्राहकको हत्या

बिरयानीका लागि अतिरिक्त राइता माग्दा एक व्यक्तिले ज्यान गुमाउनु परेको छ । भारतको तेलंगनाको हैदराबादस्थित एक रेस्टुरेन्टमा ग्राहकले बिरयानीका लागि अतिरिक्त राइता माग्दा विवाद सुरु भयो ।

विवाद यतिसम्म बढ्यो कि रेस्टुरेन्टका केही कर्मचारीले ग्राहकमाथि निर्घात कुटपिट गरे, यति कुटे कि उनको ज्यानै गयो । भारतीय सञ्चार माध्यमका अनुसार मारिएका व्यक्तिको नाम लियाकत हो ।

उनी ३० वर्षका थिए र चन्द्रयानगुट्टाका बासिन्दा थिए । लियाकत सोमबार राती आफ्ना तीन जना साथीहरूसँग बेलुकाको खानाका लागि पन्जागुट्टा एक्स रोड इलाकाको मेरिडियन बिरयानी रेस्टुरेन्टमा बिरयानी खान गएका थिए ।

खाँदै गर्दा बिरयानी पुगेन, अतिरिक्त मागे त्यसपछि विवाद सुरु भयो । प्रहरीका अनुसार बिरयानी खाने बेला अतिरिक्त राइता माग्दा ग्राहक र रेस्टुरेन्टका केही कर्मचारीबीच बहस भयो । त्यसपछि ग्राहक र रेस्टुरेन्टका एक कर्मचारीले एक–अर्कामाथि कुटपिट सुरु गरे ।

एक प्रहरी अधिकारीले दिएको जानकारी अनुसार दुई कुटपिट सुरु भएको जानकारी पाएपछि प्रहरी रेस्टुरेन्ट पुगे । पछि ग्राहक र होटेलका कर्मचारीले पन्जागुट्टा प्रहरी थानामा एक–अर्काविरुद्ध उजुरी दर्ता गरे । अधिकारीले दिएको जानकारी अनुसार कुटपिटमा ग्राहकलाई खासै चोट लागेको थिएन तर उनलाई बान्ता हुन थाल्यो र उनी थाना भित्रै लडे ।

एफआइआर दर्ता

प्रहरीले दिएको जानकारी अनुसार उनलाई अस्पताल लगियो, त्यहाँ उनलाई डाक्टरले मृत घोषणा गरे । मृतकको परिवारले उनलाई अस्पताल लैजान ढिला गरेको भन्दै आरोप लगाए ।

प्रहरीले पोस्टमार्टम रिपोर्टपछि नै मृत्युको सही कारणबारे पत्ता लाग्ने बताएको छ । हाल हत्याको मुद्दा दर्ता भएको र अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार ०९:१३

लोकप्रिय