सूचनाको शक्ति - The Power Of Information

        

चार्जिङ स्टेसन बनाउने होड, बढेकै हो बिजुली गाडीप्रति आकर्षण ?

नेपाल विद्युत् प्राधिकरणले गत भदौ २० गते विभिन्न ५१ वटा विद्युतीय चार्जिङ स्टेसनको एकैपटक सञ्चालनमा ल्यायो । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले संयुक्त रुपमा नेपाल पुलिस क्लबमा पुगेर चार्जिङ स्टेसनको उद्घाटन गरे ।

स्वदेशमा उत्पादिन विद्युत्को खपत वृद्धि गर्ने उद्धेश्यका साथ प्राधिकरणले तीन वर्षअघि विद्युतीय चार्जिङ स्टेसन निर्माण प्रक्रिया अघि बढाएको थियो । एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण र प्राधिकरणको लगानीमा करिब ४० करोड खर्चेर विद्युतीय चार्जिङ स्टेसनको संरचना तयार गरिएको छ ।

एकैचोटी ५१ ठाउँमा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा ल्याएसँगै नेपाल विद्युतीय सवारी र दीगो विकासको नयाँ यात्रामा प्रवेश गरेको कतिपयले बताउने गरेका छन् । त्यस्तै, कतिपयले भने इलेक्ट्रिक ट्रान्सर्पोटेसनमा नयाँ आयाम थपिएको रुपमा अर्थ लाउने गरेका छन् । प्राधिकरणले पनि विद्युत्को खपत बढाउने गतिलो माध्यमका रुपमा यसलाई लिएको छ ।

सरकार र विद्युत प्राधिकरणले मात्र होइन, निजी क्षेत्रले पनि इलेक्ट्रिक ट्रान्सर्पोटेसनमा जोड दिँदै आएको छ । निजी क्षेत्रबाट सुन्दर यातायात प्रालिले पहिलो पटक विद्युतीय सवारी साधन सञ्चालन गरिसकेको छ भने त्यसपछि साझा यातायात प्रालिले पनि विद्युतीय गाडी सञ्चालन गरिसकेको छ ।

पेट्रोलियम पदार्थको आयातले नेपालबाट वर्षेनी ठूलो रकम बाहिरिने गरेको छ । पेट्रोलियम पदार्थ आयायतबाट हुने व्यापार घाटा कम गर्न पनि नेपालमा विद्युतीय यातायात साधन चल्नुपर्छ । यसले पेट्रोलियम पदार्थलाई मात्र विस्थापित गर्दैन, वातावरण स्वच्छ र हरित ऊर्जामा पनि उत्तिकै भूमिका खेल्छ नै । स्वदेशमा विद्युत उत्पादन क्रमिक रुपले बढ्दैछ ।

यहाँ जति विद्युत् उत्पादन हुन्छ, त्यसअनुसार खपत र माग बढाउँदै जान हामीले दैनिक रुपमा प्रयोग गर्ने सवारीसाधन इलेक्ट्रिक हुनैपर्छ । हाल नेपालमा करिब २ हजार ९०० मेगावाट बिजुली राष्ट्रिय ग्रीडमा जोडिइसकेको छ । यस वर्ष करिब १५ सय मेगावाट बिजुली उत्पादन भइ ग्रीडमा थपिने सरकारको प्रक्षेपण छ । जुन, बिजुली स्वदेशमा घरेलु ग्राहक वा चीम बालेर मात्र खपत हुन सक्दैन ।

खपत बढाउन विद्युतीय सवारी साधनको प्रयोगमा पनि सरकारले जोड दिएको देखिन्छ । पछिल्लो पटक दिन प्रतिदिन नयाँ ब्रान्डका विद्युतीय गाडीहरु नेपालमा भित्रिँदैछन् । मंगलबारबाट भृकुटीमण्डमा सुरु भएको नाडा अटो शोमा विभिन्न ब्रान्डका विद्युतीय गाडीहरुको प्रदर्शन स्टल राखिएको छ । त्यतिमात्र होइन, प्राधिकरण र ऊर्जा मन्त्रालयका अधिकांश सरकारी कर्मचारीहरुले चढ्ने गाडी पनि विद्युतीय नै छन् ।

सार्वजनिक यातायातदेखि पछिल्लो पटक सरकारी कर्मचारी र सबैक्षेत्रमा विद्युतीय सवारीप्रतिको आकर्षण बढेको देखिन्छ । पछिल्लो समय सरकार र निजीक्षेत्रबाट विद्युतीय सवारी साधनप्रति लगानी र आकर्षण बढ्दै गएको प्राधिकरणका प्रवक्ता सुरेस भट्टराइ बताउँछन् । विद्युतीय सवारीप्रति आकर्षण बढाउन र उत्पादित विद्युतको खपतका लागि प्राधिकरणले देशका ५१ वटा ठाउँमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको उनले बताए ।

‘नेपालमा विद्युत् सवारीप्रति आकर्षण बढ्दै गएको छ । सरकारले पनि विद्युतीय सवारी र यातायातमै जोड दिएको छ,’ उनले भने, ‘प्राधिकरणले पनि विद्युत् खपत बढाउनका लागि विद्युतीय सवारीमै जोड दिँदै आएको छ ।’ संसारभर विद्युतीय सवारीप्रति आकर्षण बढिरहेका बेला नेपालमा नबढ्ने अवस्था नरहेको सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले बताए ।

‘संसारभरीमै विद्युतीय सवारीको लहर बढिरहेको अवस्थामा नेपालमा नबढ्ने कुरो भएन,’ उनले बताए । प्राधिकरणले अध्ययन बिना संख्यात्मक रुपमा मात्र चार्जिङ स्टेसन निर्माण गरेको प्रचार गरेको टिप्पणी उनले गरे । ‘अध्ययन बिना प्राधिकरणले संख्यात्मक रुपमा मात्र देशभर चार्जिङ स्टेसन निर्माण गरेको प्रचार गयो,’ उनले भने, ‘गाडीको रुट, मापदण्ड र सुरक्षाका हिसाबमा उपयुक्त ठाउँमा चार्जिङ स्टेसन राखिएन ।’

प्राधिकरणले मात्र होइन, सुन्दर यातायातले पनि काठमाडौं उपत्यकाका ५–६ स्थानमा चार्जिङ स्टेसन बनाएर सार्वजनिक विद्युत्तिय सवारी सञ्चालन गरिरहेको छ । प्राधिकरणले सञ्चालनमा ल्याएको चार्जिङ स्टेसनमध्ये २६ वटामा ठूला बसहरु, माइक्रो, ट्रक, पिकअप तथा कार २५ वटामा साना–ठूला कारहरु चार्ज गर्न मिल्ने जनाएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार १६:५३

लोकप्रिय