सूचनाको शक्ति - The Power Of Information

        

चीनका रक्षामन्त्री ली साङ्फू ‘गायब’ !

चीनका रक्षामन्त्री ली साङ्फू । फाइल तस्वीर

चीनका रक्षामन्त्री ली साङ्फू सार्वजनिक रुपमा केही हप्तादेखि नदेखिएपछि उनीलाई पनि गायब बनाइएको आशंका सुरु भएको छ । यसअघि यसैगरि तत्कालिन विदेशमन्त्री छिन काङ गायब भएका थिए । उनीपछि चीनको रकेट फोर्सका जनरल गायब भएका छन् । चीनले तत्कालिन विदेशमन्त्री छिन काङ गायब भएको आशंकाका आधारहरु सार्वजनिक हुनथालेपछि उनको ठाँउमा वाङ यीलाई विदेशमन्त्री नियुक्त गरेको सार्वजनिक गरेको थियो ।

यो आशंकालाई पुष्टिगर्दे केही दिनअघि (सेप्टेम्बर ८) मा जापानका लागि अमेरिकी राजदूत रेहम इमानुएलले चीनमा बढ्दो राजनीतिक उलटपुलटलाई लिएर सामाजिक सञ्चार एक्समा पोस्ट गरेका थिए । उनले लेखेका छन्, ‘राष्ट्रपति सीको क्याबिनेट लाइनअप अब अगाथा क्रिस्टीको उपन्यास र देन देअर ननसँग मिल्दोजुल्दो छ । पहिले, विदेश मन्त्री छिन काङ बेपत्ता भए, त्यसपछि रकेट फोर्सका कमाण्डरहरू बेपत्ता भए, र अहिले रक्षा मन्त्री ली साङ्फु दुई हप्तादेखि सार्वजनिक रूपमा देखिएका छैनन् ।

यो बेरोजगारी दौड कसले जित्ला ? चीनको युवा वा सीको मन्त्रिपरिषद् ?’ उनले ह्यासट्यागमा बेइजिङ बिल्डिङको रहस्य भनेका छन् । यो विषयले अन्तराष्ट्रिय सञ्चारमाध्यमले समेत लेखेका छन् । उनीहरुको समाचारअनुसार रक्षामन्त्री साङ्फू २९ अगस्ट २०२३ पछि कुनै पनि सार्वजनिकस्थलमा देखिएका छैनन् । उनीमाथि २०१७ मा भएको भ्रष्टाचार सम्बन्धी छानबिन चलिरहेको थियो । अन्तिम पटक उनले चीन–अफ्रिका शान्ति तथा सुरक्षा मञ्चलाई सम्बोधन गरेका थिए ।

यसअघि साङ्फू सुरक्षा मञ्च (सेक्योरिटी फोरम) मा सहभागी हुन रुस गएका थिए । त्यतिबेला साङ्फूले चीनलाई घेरा हाल्न ताइवानलाई प्रयोग गरेको भन्दै अमेरिकाको आलोचना गरेका थिए । ताइवानलाई प्रयोग गरी अमेरिका आगोसँग खेलिरहेको उनको टिप्पणी थियो । रक्षामन्त्री गायब भएकै बेला चिनियाँ राष्ट्रपति सी जिनपिङले देशको सेनामा एकता र स्थिरता कायम राख्न निर्देशन दिएका छन् ।

त्यस्तै, युद्धका लागि पनि सेनालाई तयारी अवस्थामा बस्न सीको निर्देशन छ । रक्षामन्त्री साङ्फू सैन्य परिवारको व्यक्ति हुन् । सन् १९३० र १९४० का बेला जापानविरुद्ध लडाइँ लडेका साङ्फूका पिता ली साओजू रेड आर्मी अधिकृत थिए । उनलाई गृहयुद्ध र त्यसपछि भएको कोरियाली युद्धमा लजिस्टिक रेलवे पुनःनिर्माणमा महत्वपूर्ण भूमिका निभाउने व्यक्तिका रुपमा चिनिन्छ । पछि १९५०–७० को दशकमा तिब्बत र युन्नान सीमावर्ती क्षेत्रमा पिपल्स लिबरेसन आर्मीको रणनीतिक रेलवे बलको इन्जार्च बनाइएको थियो ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार १०:०९

लोकप्रिय