सूचनाको शक्ति - The Power Of Information

        

पत्रकारहरुका लागि नेपालगञ्जमा निःशुल्क मिर्गौला परीक्षण

पत्रकारहरुका लागि नेपालगञ्जमा निःशुल्क मिर्गौला परीक्षण कार्यक्रमको आयोजना गरिएको छ ।

नेपाल प्रेस युनियन बाँके शाखाका संस्थापक अध्यक्ष, प्रेस स्वतन्त्रता सेनानी स्व.पन्नालाल गुप्त ‘चाचा’ को ९५औं जन्मजयन्तीको अवसरमा भोलि विहान सेन्ट्रल सिटी हस्पिटलमा निःशुल्क मिर्गौला परीक्षण कार्यक्रमको आयोजना गरिएको हो ।

नेपाल प्रेस युनियन बाँके शाखा र वरिष्ठ पत्रकार स्व. पन्नालाल गुप्त प्रतिष्ठानको आयोजना तथा सेन्ट्रल सिटी हस्पिटलको सहकार्यमा मिर्गौला परीक्षण कार्यक्रमको आयोजना गरिएको सचिव भिष्म लोधले जानकारी दिए ।

‘भोलि २६ गते मंगलवार विहान ७ बजेदेखि १० बजेसम्म पत्रकारहरुका लागि निःशुल्क मिर्गौला परीक्षण कार्यक्रमको आयोजना गरिएको छ,’ सचिव लोधले भने–‘यसले पत्रकारहरुलाई आफ्नो स्वास्थ्य सजगतासँगै मिर्गौलाको अवस्थाबारे पनि थाहा हुनेछ । समस्या देखिए समयमै रोगको पहिचान गरेर उपचारमा पनि सहजता मिल्नेछ ।’

पछिल्लो समय अस्वस्थ खानपान, फेरिँदो जीवनशैली लगायतका कारणले मिर्गौलाको समस्या विकराल बन्दै गएको छ । वरिष्ठ युरोलोजिष्ट डा. दिपेश गुप्ता नेतृत्वको टिमले पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने पनि सचिव लोधले बताए ।

यो सँगै स्व. गुप्तको जन्मजयन्तीमा २७ गते महेन्द्र पुस्तकालयमा दिउँसो अन्तरक्रिया कार्यक्रमको पनि आयोजना गरिएको छ । ‘पत्रकारिताको वर्तमान अवस्था, सम्भावना र चुनौति’ विषयक उक्त अन्तरक्रियामा यस क्षेत्रका नागरिक समाज, अधिबक्ता, बुद्धिजीवि, संचारकर्मी लगायतको उपस्थिति रहनेछ ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार १८:३९

लोकप्रिय