सूचनाको शक्ति - The Power Of Information

        

जानकीको कन्या विद्यालयमा छात्राहरुको आकर्षण

 बाँकेको जानकी गाउँपालिकाले सञ्चलान गरेको कन्या विद्यालयमा छात्राको आकर्षण बढ्दै गएको छ । विपन्न बालवालिकालाई लक्षित गरी सञ्चालन गरेको विद्यालयमा पछिल्लो समय छात्राहरुको भर्ना संख्या बढ्दै गएको हो ।

छात्राहरुलाई घरधन्दामा मात्र सीमित गर्दे आएका जानकी गाउँपालिका क्षेत्रका समुदायले कन्या विद्यालय सञ्चालनमा आएसँगै आफैंले छात्रा भर्ना अभियानलाई तीव्रता दिएका छन् ।

जानकी गाउँपालिकाले शैक्षिक सत्र २०८० देखि पालिकामा पहिलोपटक छात्राहरुका लागि कन्या विद्यालय सञ्चालन गरेको हो । पालिकाले वडा नम्बर ३ मानपुरमा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई कन्या विद्यालयका रुपमा अघि बढाएको थियो  ।

मधेशी र मुस्लिम समुदायको बाहुल्यता भएको जानकी गाउँपालिकाले छात्राहरुका लागि मात्रै यो वर्षदेखि कक्षा ६ सम्म अध्यापन सुरु गरेको हो । विद्यायलय सञ्चालनको पहिलो वर्ष नै छात्राहरुको आकर्षण बढेको पाइएको छ ।

विद्यालयमा छात्राहरुको आकर्षण सोचे भन्दा राम्रो भएको नेपाल राष्ट्रिय कन्या आधारभूत विद्यालयकी प्रधानाध्यापक मालती कुमारी शाहीले बताइन् । विद्यालयमा छात्र भन्दा छात्राहरु मात्रै पढ्दा पनि पहिलाको भन्दा अहिले संख्या बढ्दो स्थितिमा रहेको समेत प्रधानाध्यापक शाहीको भनाई छ ।

कन्या विद्यालय सञ्चालनपछि अभिभावकहरु पनि खुशी देखिन्छन् । पढ्नको लागि छोरीहरुलाई जति बढी सुविधा भए त्यति राम्रो हुने अभिभावकहरु बताउँछन् । छोरीहरुले पढ्ने विद्यालयमा पढाउने शिक्षक पनि महिला नै रहेका कारण अभिभावकहरु अझ बढी खुशी  देखिन्छन् ।

सुरक्षित, भयरहित र महिलामैत्री विद्यालय स्थापना गर्ने गरी कन्या विद्यालय सञ्चालनमा ल्याइएको प्रमुख प्रशासककीय अधिकृत सिंहराज डाँगीले बताए ।

गाउँपालिकाले एउटा आफ्नो प्रोजेक्टको रुपमा यो विद्यालय सञ्चालनमा ल्याएको बताउँदै उनले २०८४ सालसम्ममा कक्षा १० सम्म पुर्याउने लक्ष्य रहेको जानकारी दिए ।

छोरीहरु शिक्षाबाट बञ्चित नहोउन् भनेर सबैको पहुँच र राम्रो सुरक्षित वातावरणको लागि कन्या विद्यालय सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष छब्बन खाँले बताए ।

पालिकाले विद्यालयमा छात्राहरुका लागि निःशुल्क शिक्षासहित शैक्षिक सामग्री, पोशाक र आउन जानका लागि निःशुल्क यातायातको पनि व्यवस्था गरेको अध्यक्ष खाँले बताए । उक्त विद्यालयमा पालिकाका ६ वटै वडाका छात्राहरुलाई समावेश गर्ने गरी पालिकाले यातायातको व्यवस्था गरेको छ ।

विशेषगरी मधेशी तथा मुस्लिम समुदायको लागि कन्या विद्यालय नहुँदा छोरीहरुको उमेर बढ्दै जाँदा विद्यालय नपठाउने गरिएको छ । जसका कारण जानकी गाउँपालिकाले यही शैक्षिक सत्रदेखि कन्या विद्यालय सञ्चालन गरेको थियो ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार १८:३६

लोकप्रिय