२०८२ माघ ४ , आइतबार 18, January 2026, Sunday

भेरी अस्पतालमा विशेषज्ञ सेवा थपिँदै

सत्यपाटीसत्यपाटी । बाँके । २०८० भदौ २४ गते आइतबार

भेरी अस्पतालमा विभिन्न विशेषज्ञ सेवा र आधुनिक जाँच सेवा थपिँदै गएका छन् ।

स्वास्थ्य उपचारका लागि अतिनै आवश्यक मानिने एमआरआई मेसिन जडान हुने प्रक्रियामा रहेकै बेला सो अस्पतालमा क्यान्सर रोग पत्ता लगाउन गरिने जाँच अर्थात् ‘हिस्टो प्याथोलोजी’ सेवा शुरु गर्ने तयारी गरिएको हो ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले क्यान्सर पत्ता लगाउन जाँच गर्न बाहिर पठाउनु परेकोले बिरामीलाई समस्या हुने गरेकोले अस्पतालमै हिस्टो प्याथोलोजी सेवा शुरु गर्ने तयारी भइरहेको बताए । उनले यसका लागि क्यान्सर रोग जाँच गर्न आवश्यक पर्ने मेसिन ल्याउने प्रक्रिया सकिएको बताए ।

अध्यक्ष शाहले भने, “क्यान्सर पत्ता लगाउन जाँच गरिने हिस्टो प्याथोलोजी सेवा सुरु गर्न आवश्यक तयारी पुरा गरेर थप प्रक्रिया अगाडी बढाईएको छ, छिटै मेसिन आउने आशामा छौं ।”

अध्यक्ष शाहका अनुसार अस्पतालले हाल आपतकालीन प्रयोगशाला जाँच २४ सै घण्टा र ओपिडी प्रयोगशाला बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म सञ्चालन गर्दै आएको छ । प्रयोगशालामा दैनिक चार सय जनाले विभिन्न प्रकारका परीक्षण गराउँदै आएका छन् ।

अस्पतालका प्रयोगशाला इन्चार्ज प्रशन्न मिश्रले पनि अब छिट्टै हिस्टो प्याथोलोजी सेवा शुरु गर्ने तयारी भइरहेको जनाउँदै यसबाट पश्चिम नेपालका धेरै बिरामीलाई समयमै रोग पत्ता लगाउन सहयोग पुग्ने बताए ।

उनले भने, “हिस्टो प्याथोलोजी सेवा सञ्चालन गर्ने प्रक्रिया अगाडि बढिसकेको छ, भेरीमा यो सेवा शुरु भएपछि क्यान्सरसम्बन्धी बिरामीलाई धेरै राहत मिल्नेछ ।”

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा पनि केही समय अघिबाट हिस्टो प्याथोलोजी सेवा सञ्चालनमा आएको छ । तर, भेरी अस्पतालमा पनि यो सेवा शुरु भएपछि पश्चिम नेपालका विभिन्न अस्पतालबाट पनि क्यान्सर पत्ता लगाउन नमुनाहरु यहाँ पठाइने जनाइएको छ ।

प्रकाशित मिति : २०८० भदौ २४ गते आइतबार