२०८३ असार १७ , बुधबार 1, July 2026, Wednesday

आफ्नै उत्पादनले वर्षभरि खान पुग्ने कृषक ४५ प्रतिशत मात्रै

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० भदौ २१ गते बिहीबार

कृषि प्रधान देश नेपालका ४५ प्रतिशत कृषक परिवारलाई मात्र आफ्नो कृषिकार्यबाट भएको आम्दानीले वर्षभरि खान पुग्ने तथ्य सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार ‘कृषिगणना २०७८’ को नतिजा सार्वजनिक गर्दै उक्त तथ्य बाहिर ल्याएको हो ।

‘गणनाबाट प्राप्त नतिजाले ४५ प्रतिशत कृषक परिवारले आफ्नो कृषिकार्यबाट भएको आम्दानीले वर्षभरि खान पुग्ने बताएका छन् भने अघिल्लो कृषिगणना २०६८ मा यसरी उल्लेख गर्ने कृषक परिवार ४० प्रतिशत थिए,’ कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कृषिगणना २०७८ अनुसार ८८ प्रतिशत कृषक परिवारको मुख्य कृषि उत्पादन÷क्रियाकलाप खाद्यान्न बाली रहेको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः तरकारी बाली (६ प्रतिशत) र पशुपालन (तीन प्रतिशत) रहेको देखिन्छ ।

यस गणनाको प्राप्त नतिजाअनुसार आफ्नो कृषिकार्यबाट भएको सबै उत्पादन घरायसी उपभोगको लागि हो भनी बताउने कृषक परिवार ६८.८ प्रतिशत छ । आफ्नो कृषिकार्यबाट भएको उत्पादन सबै बिक्रीको लागि हो भनी बताउने १.१ प्रतिशत छन् ।

त्यस्तै घरायसी उपभोग र केही बिक्रीको लागि हो भनी बताउने २४.७ प्रतिशत र मुख्यतः बिक्री र केही घरायसी उपभोगका लागि हो भनी बताउने ५.४ प्रतिशत रहेको कृषि गणना २०७८ मा देखाइएको छ ।

‘जम्मा कृषक परिवारमध्ये २६ प्रतिशत परिवारले कृषि कार्यका अतिरिक्त अन्य आर्थिक क्रियाकलाप पनि सञ्चालन गरेको बताएका छन् । अघिल्लो कृषिगणनाका अनुसार यो प्रतिशत १६ रहेको थियो,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २०८० भदौ २१ गते बिहीबार