सूचनाको शक्ति - The Power Of Information

        

बैंकका म्यानेजर स्वास्थ्यमन्त्रीका ‘जनस्वास्थ्य सल्लाहकार’ !

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नविल बैंकका एक म्यानेजरलाई जनस्वास्थ्य सल्लाहकारमा नियुक्ति दिलाएको पाइएको छ । १२ असारमा मन्त्रिपरिषद्ले नबिल बैंकको दाङका शाखाका म्यानेजर विश्वरुप खड्कालाई जनस्वास्थ्य सल्लाहकारका रुपमा नियुक्त गरेको हो ।

यसअघिका मन्त्रीहरुले आफ्नो जनस्वास्थ्य सल्लाहकारका रुपमा जनस्वास्थ्यमा स्नातकोत्तर गरेका वा स्वास्थ्य विज्ञ सल्लाहकार राख्दा चिकित्सा क्षेत्रका स्नातकोत्तर गरेका विज्ञहरुलाई नियुक्त गर्दै आएका थिए । तर, आफू विधी र पद्धतिबाहिर गएर काम नगर्ने कसम खाइरहेका मन्त्री बस्नेतले नैतिक रुपमा प्रश्न उठ्ने गरी आफ्नै गृहजिल्लाका खड्कालाई अवैतनिक जनस्वास्थ्य सल्लाहकारमा नियुक्त गरेका हुन् ।

क्याबिनेट बैठकको निर्णय मन्त्रिपरिषद् कार्यलयको वेवसाइटबाट स्क्रीनसट खड्काले नेपाल सरकारबाट तबलभत्ता नलिए पनि उनी विभिन्न कार्यक्रम र मन्त्रीसँगको विदेश भ्रमणमा जनस्वास्थ्य सल्लाहकारका हैसियतमा सहभागिता जनाउने गरेका छन् ।

‘उहाँले राज्यकोषबाट तलब नखाएतापनि मन्त्रीको जनस्वास्थ्य सल्लाहकारका रुपमा कार्यक्रमहरुमा सहभागी र विदेश भ्रमण गरिराख्नुभएको छ,’ मन्त्रालयका एक अधिकारी भन्छन्, ‘यो नैतिक प्रश्न उठ्ने नियुक्ति हो र अन्तर्राष्ट्रियस्तरमा बैंकको अनुभवले कसरी जनस्वास्थ्य विज्ञको प्रतिनिधित्व गर्छ होला त्यो ठूलो प्रश्न हो ।’

खड्काले हेल्थआवाजसँग आफू जनस्वास्थ्य सल्लाहकार नभएर सल्लाहकार मात्र भएको दावी गरे । ‘म जनस्वास्थ्य सल्लाहकार होइन्,’ उनले भने, ‘म सल्लाहकार मात्रै हुँ ।’ तर, खड्कालाई मन्त्रिपरिषद्बाटै जनस्वास्थ्य सल्लाहकारका रुपमा नियुक्ति गरिसकेका कारण मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रको सल्लाहकार राख्न सकेका छैनन् ।

मन्त्री बस्नेतले असम्बन्धित विषयको जनस्वास्थ्य सल्लाहकार नियुक्ति गरेका कारण स्वास्थ्य नीतिगत कामहरु केही पनि अगाडि बढाउन सकेका छैनन् । सचिवालय स्रोतकाअनुसार उनी नबिल बैंकबाट काजमा स्वास्थ्यमन्त्रीको सल्लाहकार बन्न आएका हुन् ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार १५:४४

लोकप्रिय