सूचनाको शक्ति - The Power Of Information

        

धान बालीमा सेतो पुतलीको प्रकोप

नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसानले लगाएका धानबालीमा पुतली (झिँगा)को प्रकोप बढ्न थालेको छ । धान बालीमा सेतो पुतलीको प्रकोप बढ्न थालेपछि जिल्लाका किसान चिन्तित भएका छन् ।

कावासोती नगरपालिका क्षेत्रको धान बालीमा पुतलीको प्रकोप बढ्दो क्रममा रहेको नगरपालिकाका कृषि विकाश शाखा प्रमुख शिवनारायण कुमालले बताए । ‘वडा नं.७ देखि १७ सम्मका धान बालीमा पुतलीको प्रकोप दैनिकरुपमा बढिरहेको छ,’ उनले भने, ‘सावित्री र हाइब्रिड जातका धानमा धेरै क्षति भएको पाएका छौँ ।’

धान बालीमा सेतो पुतलीको प्रकोप देखिन थालेपछि नगरपालिकाले व्यवस्थापनका लागि अभियान नै चलाएको छ । धान खेतमा पुगेर किसानलाई प्रशिक्षण र व्यवस्थापन विधि सिकाइएको शाखा प्रमुख कुमालले बताए । सेतो पुतलीका कारण धानको पात पहेँलिने समस्या कावासोती र गैँडाकोट नगरपालिकामा जटिलरूपमा फैलिरहेको कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताए ।

‘जिल्लाका आठवटा पालिकामध्ये कावासोती र गैँडाकोटको धान बालीमा पुतली र ढुसीको प्रकोप फैलिँदो रहेको पाएका छौँ,’ उनले भने । जिल्लामा अहिले सुरुवाती चरणमा रहे पनि दिन प्रतिदिन धान बालीमा क्षति फैलिँदो रहेको प्रमुख लामिछानेले बताए । यसवर्ष नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा १८ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइएको छ ।

जिल्लामा यो वर्ष ७६ हजार ९५६ मेट्रिकटन धान उत्पादन हुने अनुमान गरिए पनि पछिल्लो प्रकोपले उत्पादन घट्न सक्नेमा उनको चिन्ता थियो । ‘यी पुतली प्रायः पातको पछाडिपट्टिको सतहमा बस्छन्,’ प्रमुख लामिछानेले भने, ‘यो कीराको वृद्धि विकास र क्षति प्राय गरेर चिसो मौसमभन्दा गर्मी मौसममा बढी देखिन्छ ।’

उनका अनुसार सेतो पुतलीको वयस्कले एकै पटक १५० वटासम्म सेतो रङ्का फुल पार्छ । यसको बच्चा अन्डाबाट निस्केपछि एकदेखि तीन हप्तासम्म पातमा टाँसिएर बस्ने गर्दछ । नेपालमा मुख्यतया गोलभेँडा, काँक्रो, भण्टालगायत तरकारी बालीमा यस्तो कीराको प्रकोप देखिए पनि पछिल्लो समय धानमा समेत व्यापक रूपमा क्षति पुर्याउन थालेको उनले बताए ।

यो कीरा वयस्क हुँदा एक मिलिमिटरभन्दा सानो, शरीर हल्का पहेँलो सेतो तथा पखेटा सेतो देखिन्छ । सङ्क्रमित बिरुवा चलाउँदा सेता स–साना कीरा उडेको देख्न सकिने र वयस्कले रोगी बिरुवाबाट भाइरसजन्य रोग स्वास्थ्य बिरुवामा सार्नुका साथै एउटै गाँजमा हजारौँको सङ्ख्यामा यसको सङ्क्रमण भएको समेत देखिने प्रमुख लामिछानेले जानकारी दिए ।

‘यो पुतलीको बच्चा र वयस्क दुवै हजारौँ सङ्ख्या रही धानका कलिला पातको रस चुसेर बिरुवालाई कमजोर बनाउँदछ,’ उनले भने, ‘बच्चा अवस्थामा यसले गुलियो पदार्थ उत्पादन गर्छ र यसमा कालो ढुसी विकास हुन गई पातको सतह छोप्दा पातमा प्रकाश संश्लेषण प्रक्रिया अवरुद्ध हुनपुग्दछ ।’

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार १५:०५

लोकप्रिय