सूचनाको शक्ति - The Power Of Information

        

खजुरामा बृहत तीज महोत्वस आयोजना हुने

बाँकेको खजुरामा असोज १ गते बृहत तीज महोत्सव अयोजना हने भएको छ ।

खजुरा क्षेत्र संरक्षण समितिले आयोजना गर्न लागेको ‘१८आंै बृहत खजुरा तीज महोत्सव – २०८०’को तयारी तीव्ररुपमा भई रहेको समितिका अध्यक्ष प्रेम बुढाथोकीले बताएका हुन् ।

२२ वर्ष पहिले खजुरा क्षेत्र संरक्षण समितिले थालेको तीज महोत्सवको निरन्तरताकारुपमा यसवर्षको महोत्सवलाई भब्य बनाउने तयारी रहेको बुढाथोकीले बताए ।

उनले तीज महोत्सव खजुराको एउटा गहना बनिसकेको उल्लेख गर्दै बाँके र बर्दियाका अवलोकन कर्ता तथा ब्रतालु दिदीबहिनीहरुको खजुरामा तूजा गर्न आउने र तीज गीतमा रमाउने परम्परा बस्तै आएको उनले बताए ।

मौलिक शैलीमा आफंै मादल बजाएर तीजको भाकामा गीत गाउने र नाच्ने महोत्सवमा व्यवस्था मिलाइएको उनले जानकारी दिए । समूहगत र एकल तीज र नृत्यको प्रतियोगिता रहेको महेत्सवमा ५० हजार बढी दर्शक र ब्रतालुहरुको भेला हुने आयोजकले अपेक्षा गरेको छ ।

यस विषयमा आयोजकले बुधबार पत्रकार सम्मेलनसमेत गरेको छ । सम्मेलनमा बोल्दै क्षेत्र संरक्षणका पूर्व अध्यक्ष शिवराज श्रेष्ठले ५ दशक पहिलेदेखि लक्ष्मीनारायण परिषरमा स्वतः भेला हुने र तीजको रमझम गर्ने परम्परालाई खजुरा क्षेत्र संरक्षण समितिले व्यवस्थापन मात्र गरेको बताए ।

तीजको दिन स्वतः खजुरामा हजारोंको संख्यामा दिदीबहिनीहरुको जमघट हुने गरेको बताउँदै उनले यस वर्ष खजुराको वारी र पारी दुवै स्थानमा महोत्सव राखिएकाले थप आकर्षण बढ्ने बताए ।

महोत्सवमा परम्परागत लाखे नाच प्रदर्शन हुने आयोजकले जनाएको छ । मौलिकता हराएको अवस्थामा आफंै मादल बजाएर मौलिक भाकामा प्रस्तुतिकरण हुने तीज गीत र तीजको एकल नृत्यु प्रतियोगिता महोत्सवका आकर्षण हुनेसमेत आयोजक क्षेत्र संरक्षण समितिले जानकारी दिएको छ ।

प्रतियोगीसहित मेला भर्न आउने मौलिक नेपाली पहिरन लगाएर आउने दर्शकबाट मूल्यांकन गरेर पुरस्कृत गरिनेसमेत अध्यक्ष बुढाथोकीले बताए । साथै महोत्सवमा एकल तथा सामूहिक नृत्य प्रतियोगितासमेत आयोजना हुने भएकाले विजेताहरुका लागि नगद पुरस्कारसमेत व्यवस्था गरिएको उनले बताए ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार ०८:३१

लोकप्रिय