सूचनाको शक्ति - The Power Of Information

        

चीनमा सरकारी कर्मचारीलाई आइफोन बोक्न प्रतिबन्ध

चीनले सरकारी निकायमा कार्यरत अधिकारीहरूलाई एप्पलको आइफोन र अन्य विदेशी ब्रान्डका मोबाइल फोनहरू प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । सरकारी कर्मचारीलाई यसप्रकारको फोनहरु कार्यालयमा ल्याउन निषेध गरिएको छ ।

पछिल्ला हप्ताहरूमा विभिन्न सरकारी निकायका वरिष्ठ अधिकारीहरूले आफ्ना कनिष्ठ कर्मचारीहरूलाई च्याट समूह र बैठकहरूमा सरकारको यो आदेशको बारेमा जानकारी गराउँदै आएका छन् । वाल स्ट्रिट जर्नलमा प्रकाशित समाचार अनुसार चीनले विदेशी प्रविधिमा निर्भरता घटाउन र साइबर सुरक्षा बढाउनमा जोड दिँदै गर्दा यो कदम चालेको हो ।

चीनले कुनै पनि प्रकारको संवेदनशील जानकारी विदेशी ब्रान्डका उपकरणहरू मार्फत देशको सीमा बाहिर लैजान चाहँदैन । उसले सूचनालाई सीमित गर्न काम गरिरहेको छ । चीनले विदेशी ब्रान्डका फोनमार्फत जासुसी गर्न सकिने ठानेको छ । चिनियाँ सरकारले चालेको कदमका कारण चीनमा रहेका एप्पल लगायत विदेशी ब्राण्डलाई ठूलो नोक्सान हुनसक्छ ।

एप्पल चीनमा सबैभन्दा लोकप्रिय मोबाइल फोन ब्रान्ड हो । चीन एप्पलको सबैभन्दा ठूलो बजार पनि हो । कम्पनीको नाफाको १९ प्रतिशत चीनबाट मात्रै प्राप्त हुन्छ । चिनियाँ सरकारको आदेशलाई कत्तिको कडाइका साथ कार्यान्वयन भइरहेको छ भन्ने स्पष्ट छैन । यस विषयमा एप्पलले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

चीनले केही सरकारी निकायका अधिकारीहरूलाई आइफोन प्रयोगमा प्रतिबन्ध लगाएको छ । वाल स्ट्रीट जर्नलले रिपोर्ट गरेको छ कि प्रतिबन्धको दायरा नयाँ आदेश अन्तर्गत विस्तार गरिएको छ । यसपटक प्रतिबन्ध कडाइका साथ लागु हुने विश्वास गरिएको छ । चिनियाँ सरकारको नयाँ आदेशले चीन र अमेरिकाबीच जारी तनावलाई देखाउँछ ।

अमेरिका र चीनले एक अर्कामाथि प्राविधिक उत्पादनका विषयमा लगातार प्रतिबन्ध लगाउदै आएका छन् । अमेरिकाले हालै चीनीयाँ कम्पनीले उत्पादन गरेको हुवावेमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकी अधिकारीहरूलाई चिनियाँ सोशल मिडिया प्लेटफर्म टिकटक प्रयोग गर्न निषेध गरिएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार ०७:४९

लोकप्रिय