सूचनाको शक्ति - The Power Of Information

        

संघीय निजामती विधेयक आजै संसद्मा पठाइने

सरकारले बहुप्रतिक्षीत संघीय निजामती सेवा विधेयकलाई बिहीबार संघीय संसद्मा पठाउने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उच्च स्रोतका अनुसार बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले सो विधेयकलाई स्वीकृत गर्दै संघीय संसद्मा पठाउने निर्णय गर्नेछ ।

विधेयकमा कतिपय विषय विवादित भए पनि त्यसको अन्तिम टुंगो संसद्ले नै लगाउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले बताए ।मन्त्रिपरिषद्ले संघीय संसद्मा पठाएसँगै अब सो विधेयक प्रतिनिधि सभामा दर्ता भएर पेस हुनेछ ।

संसद्मा आवश्यक छलफलपछि सो विधेयकले कानूनी मान्यता पाउने छ । यद्यपि, यसअघि पनि संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता भइसकेको भए पनि पछि फिर्ता गरिएको थियो । सो विधेयकलाई मन्त्रिपरिषद्को विधेयक समितिले समेत आवश्यक छलफल र संशोधनसहित मन्त्रिपरिषद्मा पठाएको हो ।

यसअघि सरकारले सो विधेयक आवश्यक परामर्शका लागि लोकसेवा आयोगमा पठाएको थियो । लोकसेवाले परामर्शसहित सो विधेयक सरकारलाई पठाएसँगै मन्त्रिपरिषद्को विधेयक समितिमा केही दिनदेखि छलफल गरिँदै आएको थियो । प्रस्तावित विधेयकमा कर्मचारीको उमेर हद ५८ बाट बढाएर ६० पुर्‍याउन प्रस्ताव गरिएको छ ।

त्यस्तै, कर्मचारी सरुवामा वैज्ञानिक र चक्रीय प्रणाली लागू गर्ने प्रावधान पनि उक्त प्रस्तावित विधेयकमा समेटिएको छ । यसै गरी हालको पदमा तहगतको व्यवस्था गरिएको छ ।

स्रोत : नेपाल समाचारपत्र
प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार ०७:१५

लोकप्रिय