सूचनाको शक्ति - The Power Of Information

        

क्यान्सर अस्पताल खजुरामा रक्त सञ्चार केन्द्र स्थापना

खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रक्त सञ्चार केन्द्रको उद्घाटन गर्दै कांग्रेस सहमहामन्त्री एवं संघीय सांसद किशोरसिंह राठौर ।

पश्चिम नेपालकै एक मात्र क्यान्सर अस्पताल बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा पहिलो पटक रक्त सञ्चार सेवा केन्द्र स्थापना गरिएको छ । सो अस्पतालमा ब्लड क्यान्सरका बिरामीको पनि उपचार सुरु गरिएपछि रक्त सञ्चार सेवा केन्द्र अति आवश्यक परेकाले स्थापना गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डा.निरज भट्टराईले अस्पतालमा ब्लड क्यान्सरको उपचार सेवा सुरु गरिएसँगै रक्त सञ्चार केन्द्र अति आवश्यक परेको हुँदा खजुरा गाउँपालिका, अस्पताल र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको समन्वयमा रक्त सञ्चार केन्द्र स्थापना गरेर सञ्चालनमा ल्याइएको बताए ।

सो रक्त सञ्चार केन्द्रको उद्घाटन बाँके क्षेत्र नम्बर ३ का सङ्घीय सांसद तथा नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले गरे । सो अवसरमा बोल्दै उनले यो सेवा यहाँ सुरु गरिएपछि क्यान्सर अस्पतालका बिरामीलाई आवश्यक पर्ने रगतका लागि अब नेपालगन्ज र कोहलपुर जानुपर्ने बाध्यता अन्त्य भएको बताए ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका अध्यक्ष गोवर्धनसिंह सम्झनाले रेडक्रस सोसाइटीले नेपालगन्ज र कोहलपुरमा ब्लड बैंक सञ्चालन गर्दै आएकोमा अब खजुरामा पनि सञ्चालनमा आएपछि यस क्षेत्रका बिरामीलाई सहज हुने बताए ।

क्यान्सर अस्पतालका निर्देशक डा.भट्टराईले क्यान्सर अस्पतालमा बिरामीका लागि दिनदिनै नयाँ-नयाँ सेवा सुविधा थप हुँदै गएको बेला रक्त सञ्चार केन्द्र पनि स्थापना भएकाले अब रगतका लागि निबै सहज हुने बताए ।

उनले यो अस्पतालमा बिरामीको सहज उपचारका लागि रक्त सञ्चार सेवा केन्द्र अत्यावश्यक महसुश भएपछि सेवा सञ्चालनको तयारी गरिएकोमा खजुरा गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले ठूलो सहयोग गरेको बताए ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले क्यान्सर अस्पतालमा बिरामीहरु सेवा लिन टाढाबाट आउने भएकाले रक्त सञ्चार केन्द्र आवश्यक भएको बताए । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले हाल भेरी अस्पताल नेपालगन्ज र शिक्षण अस्पताल कोहलपुरमा रक्त सञ्चार सेवा केन्द्र सञ्चालन गरी सेवा दिँदै आएको छ ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार १८:०५

लोकप्रिय