सूचनाको शक्ति - The Power Of Information

        

भारतको संविधानबाट हटाइँदै ‘इन्डिया’

भारतको नयाँ संसद भवन ।

भारत सरकारले आफ्नो देशको संविधानबाट ‘इन्डिया’ शब्द हटाउने तयारी गरेको छ । संसदको विशेष अधिवेशन अमृतकालमा सरकारले यससम्बन्धी विधेयक ल्याउन सक्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय पत्रिका दैनिक जागरणको अनलाइन संस्करणमा प्रकाशित समाचारमा यससम्बन्धी प्रस्तावको तयारी भइरहेको स्रोतले दाबी गरेको उल्लेख छ । देशका जनतालाई दासत्वको मानसिकता र यससँग सम्बन्धित जुनसुकै कुराबाट मुक्त गराउनमा जोड दिइरहेको नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले संविधानबाट इन्डिया शब्द हटाउने योजना बनाइरहेको समाचारमा जनाइएको छ ।

हालै राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)का सरसंघचालक मोहन भागवतले पनि सदियौंदेखि आफूहरूको देशको नाम भारत रहेको बताएका थिए । उनले जनतालाई इन्डियाको सट्टा भारत शब्द प्रयोग गर्न पनि आग्रह गरे । उनले इन्डिया शब्द औपनिवेशिक दासत्वको प्रतीक भएको बताए ।

प्रधानमन्त्री मोदीले जुलाई २५ मा भाजपा संसदीय दलको बैठकमा विपक्षी गठबन्धन आइएनडीआईएप्रति निशाना साध्दै इस्ट इन्डिया कम्पनी र भारतीय राष्ट्रिय कांग्रेस बेलायतीहरूले गठन गरेको बताएका थिए । सरकारले १८ देखि २२ सेप्टेम्बरसम्म संसदको विशेष अधिवेशन बोलाएको छ । तर, यसका एजेण्डाबारे भने केही जानकारी दिइएको छैन ।

विशेष अधिवेशमा चन्द्रयान–३ र आदित्य–एल१ मिसनसहित हालै प्राप्त सफलताहरूबारे छलफल हुन सक्नेछ । यसका साथै सन् २०४७ सम्ममा भारतलाई विकसित राष्ट्र बनाउने रोडम्याप बनाइने छ र यस विषयमा पनि छलफल हुन सक्नेछ ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार ०८:३४

लोकप्रिय