सूचनाको शक्ति - The Power Of Information

        

एमाले लुम्बिनी प्रदेश अधिवेशन : मतदान सकियो, आजै नतिजा आउने

नेकपा एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा नेतृत्व चयनका लागि मतदान सकिएको छ ।

कुल १ हजार ५ जना मतदाता रहेकोमा ९६५ मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ । प्रतिशतका आधारमा ९६ प्रतिशत मत खसेको हो । बिहान पौने ९ बजे सुरू भएको मतदान अवधि दिउँसो साढे २ बजे सकिएको हो ।

मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीका अनुसार केहीबेरमा गणना सुरू हुनेछ भने आजै रातिसम्म मतपरिणाम सार्वजनिक गर्ने तयारी छ । यसअघि सोमबार रातिदेखि मतदान गर्ने भनिए पनि अन्तिम समयमा आन्तरिक तयारी नपुगेको र अध्यक्ष मण्डलले उज्यालोमा मतदान गर्न आग्रह गरेकाले मंगलबार बिहानका लागि सारिएको थियो ।

आगामी नेतृत्वका लागि अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरिप्रसाद रिजाल प्रतिस्पर्धामा छन् । कँडेल उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शंकर पोखरेल निकटका हुन् ।

कँडेल एमालेको लुम्बिनी प्रदेशको तदर्थ समितिका निवर्तमान अध्यक्ष हुन् भने रिजाल केन्द्रीय सदस्य हुन् । पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका छन् । पाँच पदाधिकारीमध्ये चार पदमा निर्वाचन भएको छ ।

यसबाहेक भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको छ । उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल र बाँकेका पुजन विश्वकर्मा प्रतिष्पर्धामा छन् ।

उपसचिव खुलामा ४ र महिलामा ३ जना प्रतिष्पर्धामा छन् । रुकुम पूर्वका उपेन्द्रलाल कामी, बाँकेका दुर्गाप्रसाद थारू चौधरी, रोल्पाका पूर्ण बुढामगर उपसचिवमा चुनाव लडेका छन् ।

यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे, गुणनिधि भुसाल र विष्णुराज बीसी गरी ३ जनाबीच प्रतिष्पर्धा छ ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलवार १५:३४

लोकप्रिय