सूचनाको शक्ति - The Power Of Information

        

कैदी फरार भएको विषयमा छानबिन गर्न समिति गठन

आइतबार बिहान ३ बजे जिल्ला कारागार, बर्दियाबाट कैदी अजित बुढाक्षेत्री फरार भएको घटनाको सम्बन्धमा छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

समितिको सदस्यमा जिल्ला प्रहरी कार्यालय, बर्दियाका डीएसपी हिक्मतबहादुर बोहोरा, राष्ट्रिय अनुसन्धानका अधिकृत गोपाल थापा, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत लोकप्रसाद ढकाल र वरिष्ठ सई प्रदीप कार्की रहेको प्रमुख जिल्ला अधिकारी नारायण रिसालले बताए ।

सात दिनभित्र यो टोलीले घटनाको छानबिन गरी प्रतिवेदन बुझाउने भएको छ । कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत, बर्दियाबाट ३० वर्ष कैद सजाय पाएका बुढाक्षेत्रीलाई एक वर्ष कैद भुक्तानी नहुँदै नाइके बनाइएको थियो ।

उनलाई कारागारका प्रमुख सन्तोष विकको निर्देशनमा कारागार ऐन नियमविपरीत नाइके बनाएपछि शंकाको घेरामा परेको प्रहरी प्रशासन स्रोतले बतायो ।

कम्तीमा ५० प्रतिशत कैद भुक्तानी गरेका र चालचलन राम्रो भएकालाई नाइके बनाउने गरिन्छ । तर वर्षदिन नपुग्दै कारागार प्रशासनले उनलाई नाइके बनाइएको प्रहरी उपरीक्षक सुधीरराज शाहीले बताए ।

नौ वर्षअघि ठाकुरबाबा नगरपालिका—८ का जोरासिंह थापाको हत्या अभियोगमा बुढाक्षेत्री पक्राउ परेका थिए । त्यसबेला बयान दिन जाँदा बर्दिया अदालतमा शौच गर्ने बहानामा शौचालयमा रहेको खुला भ्यान्टिलेसनबाट हतकडीसहित फरार भएका थिए । फरार बुढाक्षेत्री लामो सयमसम्म भारतमा बसिरहेका थिए । फरार बुढाक्षेत्री अहिलेसम्म फेला परेका छैनन् ।

गत वर्ष घर आएको समयमा प्रहरीले बुढाथोकीलाई पक्राउ गरेको थियो । उनी करिब १२ मिटर अग्लो पर्खालमाथि रहेको काँढेतार हुँदै हामफालेर बेपत्ता भएका छन् ।

काढेतारसमेत कमसल भएको र उचाई कम भएको भन्दै कारागार प्रशासनलाई त्यहाँ खटिएका सुरक्षाकर्मीले बताएका थिए । एक प्रहरी अधिकारीका अनुसार कारागार प्रशासनले गम्भीर रुपमा नलिएकाले यस्तो घटना भएको ती प्रहरी अधिकारीले बताए ।

फरार कैदीको खोजीका लागि बिहानैदेखि जासुसी कुकुर परिचालन गरिएको थियो । यसका साथै खोजीकार्यका लागि नेपाल प्रहरीका १ सय ३० र सशस्त्र प्रहरी बलका २ सय ३० जना सुरक्षाकर्मी खटिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसैबीच जासुसी कुकुर अचानक बिरामी परी आइतबार दिउँसो मृत्यु भएको प्रहरी उपरीक्षक शाहीले बताए ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार १९:०४

लोकप्रिय