सूचनाको शक्ति - The Power Of Information

        

एसएलसी नै नसकेर सोझै डिग्री ?

‘जो चोर, उसैको ठूलो स्वर’ भन्ने उखान नेपाली समाजको थेगो नै बनिसकेको छ । ठूलो स्वरले कराउनेबित्तिकै गल्ती ढाकिन्छ भन्ने मानसिकता दलका नेताहरूमा पनि देखिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाली कांग्रेसका नेता एवं सांसद डा. सुनिलकुमार शर्मा माथिको भनाइसँग मिल्दोजुल्दो पात्र हुन् ।

द्वैध नागरिकता र राहदानी प्रकरणमा मुछिएका लामिछानेले अनेकन (स्टन्टबाजी) गरेर आफूमाथि लागेको आरोपलाई धुमिल बनाउन भरमग्दुर गरेकै थिए । हाल सांसद् शर्माले पनि त्यही रणनीति अप्नाएका छन् । राष्ट्रिय परीक्षा बोर्डले उनको शैक्षिक प्रमाणपत्रमा कैफियत फेला पारेको छ । सन् १९९६ मा आइएस्सी उत्तीर्ण गरेको भनिएका उनको शैक्षिक प्रमाणपत्र अपुष्टित छ । बोर्डका अनुसार अपुष्टित लेखिएको प्रमाणपत्र नक्कली हो ।

उनी सँगसँगै भुवन थापा क्षेत्री, प्रविन कार्की, राजेश झा, रामबाबु यादव र चिरन बस्नेतको शैक्षिक प्रमाणपत्र पनि नक्कली भेटिएको छ । रोल कोर्ड ६५०४ र रोल नम्बर १०११७ भएका उनले बिहार स्कूल एक्जामिनेशन बोर्ड, बुद्धमार्ग, पटनाबाट विज्ञान अध्ययनको प्रमाणपत्र निकालेका छन् । ७२२ अंक ल्याएर उनले प्रथम श्रेणीमा कक्षा १२ उत्तीर्ण गरेको देखिन्छ ।

अधिकांश चिकित्सकले भारतबाट नक्कली प्रमाणपत्र बनाएर दर्ता परीक्षामा सहभागी भएको भन्दै नेपाल मेडिकल काउन्सिलमा उजुरी परेपछि सिआइबीले छानबिन अगाडि बढाएको थियो । स्रो क्रममा राष्ट्रिय परीक्षा बोर्डले बिहारबाट उनको शैक्षिक प्रमाणपत्र झिकायो । रेकर्डमा उनको विवरण नभेटिएको उताको जवाफ छ ।

यद्यपि, सांसद् शर्माले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा मागेकै कारण आफूलाई पक्राउ गरिएको बताउँदै आएका छन् । संसद बैठकमा उनले सरकार प्रजातान्त्रिक होकि आतंककारी भन्दै प्रश्नसमेत गरेका थिए । साथै, उनले गृहमन्त्रीले राजीनामा नदिए आमरण अनशन बस्ने घोषणा गरेका छन् ।

‘बद्नाम’ मेडिकल व्यवसायीका रूपमा चिनिएका सांसद् शर्मा मेडिकल कलेजको सम्बन्धन, सीट निर्धारण र शिक्षण शुल्क लगायत विषयमा विवादमा आइरहने व्यक्ति हुन् । उनीविरुद्ध नक्कली प्रमाणपत्र सम्बन्धी मुद्दामा पहिले पनि छानबिन भएको थियो । ०७३ सालमा सिआइबीका तत्कालीन प्रमुख नवराज सिलवालको नेतृत्वमा नक्कली प्रमाणपत्रधारी चिकित्सकविरुद्ध (क्वाक अपरेशन) चलाइएको थियो ।

आफू पक्राउ पर्ने सूचना पाएपछि भागेका उनले कीर्ते गरेर आइएस्सीको प्रमाणपत्र लिएको पुष्टि हुन्छ । मोरङ निवासी लेटाङका लोकनाथ न्यौपानेका छोरा उनी एसएलसी फेल हुन् । ‘एसएलसी फेल भएको व्यक्तिले कसरी भारतबाट आइएस्सी पास ग¥यो ? कुन देशमा एसएलसी फेल भएकालाई कक्षा ११ मा भर्ना गर्ने चलन छ ? गलत काम गर्ने अनि ठूलो स्वर पार्ने प्रवृत्ति मौलायो,’ स्रोतले गुनासो गर्यो ।

उनको सटिफिर्केट नौ महिने तालिम नै नगरी सोझै सैनिक प्रहरीमा भर्ना भएझैं भएको भन्दै व्यंग्यसमेत गर्न थालिएको छ । सुन काण्डका नाइकेहरूको राजीनामा माग्दा पक्राउ गरियो लगायत नानाथरी अभिव्यक्ति दिँदै आएका उनले नक्कली सर्टिफिकेटको आधारमा एमबिबीएस अध्ययन गरेका थिए । ‘उनले जागिर खाएनन् होलान्, चिकित्सक जस्तो कैंची चलाएनन् होलान् । तर, कीर्ते त गरेका हुन् । अरुमाथि औंला ठड्याएर आरोप छोपिन्छ र !’ स्रोतले भन्यो ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार ०८:४०

लोकप्रिय