सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा मृत्यु भएपछि रिक्त बझाङ प्रदेशसभा क क्षेत्रको उम्मेदवार हुन एमाले र कांग्रेसमा मारामार हुने देखिएको छ । जसले जिते पनि अहिलेको सत्ता समीकरणमा खासै फरक नपर्ने सो क्षेत्रमा कांग्रेसको तुलनामा एमाले उम्मेदवार मारमार हुने सम्भावना छ ।
सो क्षेत्रमा दशैतिहारपछि चुनाव हुने सम्भावना छ । एमालेबाट जिल्ला अध्यक्ष दमन भण्डारी, जयपृथ्वी नगरपालिकाका पूर्व मेयर वीरेन्द्र खड्का, स्व. सिंहसित पराजित भएका अफिलाल उखेडाबीच टिकट पाउन मारामार छ । धेरैलाई उचालेर आफ्नो नाममा सहमत गराउने खेल केन्द्रीय सदस्य ऐनबहादुर महरले गरेको चर्चा पनि छ ।
उनी प्रतिनिधि सभामा नेकपा (एकीकृत समाजवादी)का नेता भानुभक्त जोशीसँग एक हजार एक मतले पराजीत भएका थिए । उनलाई कांग्रेस र माओवादीको देखावटी सहयोग रहेको थियो । रोचक त के भने सो चुनावमा धेरै एमालेले समाजवादीका जोशीलाई र कांग्रेसले एमालेका महरलाई भोट हालेका थिए । महरले चुनावमा धेरै खर्च गरेका थिए भने केही बुथ कव्जा पनि गर्न भ्याए ।
अर्को रमाइलो, महर चुनावको एक साताअघिसम्म चन्दा उठाउन काठमाडौँमै थिए । कांग्रेसमा भने अहिलेसम्म अवसर नपाएका जगतप्रसाद जोशीलाई उठाउनुपर्छ भन्ने चर्चा छ । कोइराला समूहका जोशीलाई सभापति शेरबहादुर देउवाका विश्वासपात्र अर्जुनबहादुर सिंहले बोकेका छन् । जोशी र सिंह विरोधी पक्षले स्व.पृथ्वीबहादुर सिंहका छोरा अविशेक सिंहको पक्षमा धारणा राख्दै आएका छन् ।
गत चुनावमा स्व. सिंहले एमालेका उखेडालाई करिब चार हजार मतको फरकले हराएका थिए । बझाङको एउटा सिटले तत्कालको गठबन्धनमा खासै फरक पर्ने देखिन्न । अहिले कांग्रेस नेतृत्वको माओवादी, समाजवादी र नागरिक उन्मुक्तिको सरकारसंग ३९ मत छ । ५३ सदस्यीय प्रदेश सरकार बनाउन २७ मत आवश्यक हुन्छ । तर, केही गरेर वामपन्थी एक हुने अवस्था आउँदा भने बझाङको एक सिट पनि अर्थपूर्ण हुनसक्छ ।
अहिले एमालेका १०, माओवादीका ११, समाजवादीका चार प्रदेश सभा सदस्य गरेर २५ मत छ । त्यसैमा वाम पृष्ठभूमिका डा.ताराप्रसाद जोशी स्वतन्त्र प्रदेशसभा सदस्य छन् । बझाङ एमालेले जित्यो भने सो संख्या सरकार बनाउन आवश्यक संख्या पुग्छ । माओवादीका सभामुखले भोट हाल्न नपाउने अवस्थामा राप्रपाको एक वा उन्मुक्तिको सात सिटको सहारा लिनुपर्ने हुन्छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बझाङ