चलचित्र विकास बोर्डले हालै वर्ष २०७९ मा प्रदर्शनमा आएका नेपाली र विदेशी फिल्मको तथ्याङ्क सार्वजनिक गरेको छ । बोर्डका अनुसार २०७९ सालमा नेपाली ५२ र विदेशी ८३ गरी १३५ फिल्म प्रदर्शन भए । यद्यपि, बोर्डले १३२ वटा फिल्मको कमाइ सार्वजनिक गरेको छ ।
बोर्डको विवरण अनुसार स्वदेशीतर्फ फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’ को ७ लाख ६६ हजार ७०० टिकट बिक्री हुँदा फिल्मले २१ करोड ३८ लाख १३ हजार ४६२ ग्रस व्यापार गरेको छ । विदेशीतर्फ कन्नड फिल्म ‘केजिएफ च्याप्टर २’ले छ लाख ७७ हजार ६९९ टिकेट बिक्री भएबापत रु १९ करोड २९ लाख १३ हजार ७५८ ग्रस कमाएको छ ।
नेपाली र विदेशीतर्फ सर्वाधिक कमाई गर्ने यी दुई फिल्म हुन् । बोर्डले सार्वजनिक गरेको तथ्याङ्कमा सामान्य फरक भने पर्न सक्ने बक्सअफिस अधिकृत प्रवीण पाण्डेले जानकारी दिए । ‘सबै फिल्म भवनमा बक्सअफिस प्रविधि जडान भए पनि अनुगमनको अभावमा केही हेरफेर हुनसक्छ । तर बोर्डले यसमा अनुमगन बढाएको छ,’ अधिकृत पाण्डेले भने ।
सर्वाधिक व्यापार गर्ने विदेशी पाँच फिल्म
केजीएफ : च्याप्टर २
वर्षकै पहिलो दिन नेपालमा प्रदर्शन भएको कन्नड फिल्म ‘केजीएफ : च्याप्टर २’ नेपालमा सर्वाधिक ग्रस कमाई गर्ने विदेशी फिल्मको शीर्ष स्थानमा छ । बोर्डले सार्वजनिक गरेको विवरण अनुसार ६ लाख ७७ हजार ६९९ टिकट बिक्री हुँदा १९ करोड २९ लाख १३ हजार ७५८ ग्रस कमाएको छ ।
बोर्डको विवरण अनुसार यो फिल्म १ करोड १० लाख भारूमा नेपाल ल्याइएको थियो । प्रशान्त निलको निर्देशन रहेको फिल्ममा यश, श्रीनिधि शेट्टी, सञ्जय दत्त, रविना टन्डन, प्रकाश राज लगायतको अभिनय छ ।
पठान
नेपालमा सर्वाधिक कमाई गर्ने विदेशी फिल्मको सूचीमा दोस्रो स्थानमा ’पठान’ छ । अभिनेता शाहरुख खानको कमब्याक फिल्म ‘पठान’मा दीपिका पादुकोण, जोन अब्राहमसँगै विशेष भूमिकामा सलमान खानको अभिनय छ ।
अभिनेताद्वय खानलाई एकसाथ देखाइएपछि यसले भारतमा १ हजार करोडको व्यापार गरेको सूचना निर्माण कम्पनीले जनाएको छ । फिल्मले नेपालमा ४ लाख ३७ हजार २४५ टिकट बिक्री भएबापत १३ करोड २७ लाख ९१ हजार ३६० रुपैयाँको ग्रस कमाई गरेको छ । सिद्धार्थ आनन्दको निर्देशनमा तयार भएको फिल्म यशराज फिल्म्सले निर्माण गरेको हो ।
अवतार : द वे अफ वाटर
विश्वमै सबैभन्दा धेरै कमाई गर्ने हलिउड फिल्म ‘अवतार’को दोस्रो शृङ्खलाको रूपमा तयार भएको ‘अवतार : द वे अफ वाटर’ निर्माणदेखि नै चर्चामा थियो । विश्वभर झैं नेपालमा समेत प्रतिक्षित मानिएको फिल्मको २ लाख ६८ हजार ६७४ टिकट बिक्री भएबापत ८ करोड ३० लाख ६७ हजार ८८६ रुपैयाँको ग्रस कमाई गरेको छ ।
निर्देशक जेम्स क्यामरूनले यसलाई १३ वर्ष समय दिएर तयार पारेका हुन् । पानीमुनि खिचिएको फिल्ममा अलौकिक दुनियाँ र त्यसभित्रको संघर्षको कथा प्रस्तुत गरिएको छ । सुलि परिवारका जेक, नियतिरी र उनीहरुका सन्तानको संघर्ष र जीवनका लागि लडाईंलाई प्रस्तुत गरिएको फिल्ममा सोइ साल्डना, सेम वरिङटन, सिगौरने विभर, स्टेफेन ल्याङ, क्लिफ कर्टिस लगायतले अभिनय गरेका छन् ।
ब्रह्मास्त्र : पार्ट वान शिवा
भारतमा सन् २०२२ मा निकै चर्चामा रहेको फिल्म हो,‘ब्रह्मास्त्र : पार्ट वान शिवा’ । करण जोहरको निर्माण तथा अयान मुखर्जीको निर्देशनमा तयार भएको फिल्ममा रणवीर कपूर, आलिया भट्ट, अमिताभ बच्चन, अक्किनेनी नागार्जुन रावसहित शाहरुख खान विशेष भूमिकामा छन् । फिल्मको एक लाख ५० हजार १४३ टिकेट बिक्री भएबापत चार करोड ४७ लाख पाँच हजार ८८३ रुपैयाँको ग्रस कमाई गरेको छ ।
डक्टर स्ट्रेञ्ज इन द मल्टिभर्स अफ म्याडनेस
नेपालमा सर्वाधिक कमाई गर्ने विदेशी फिल्मको सूचीमा पाँचौँ स्थानमा ‘डक्टर स्ट्रेञ्ज इन द मल्टिभर्स अफ म्याडनेस’ रहेको छ । डक्टर स्ट्रेञ्जको दोस्रो शृङ्खला रहेको फिल्मको कमाई १ लाख २४ हजार १५९ टिकेट बिक्री भएबापत ३ करोड ८१ लाख ६ हजार ५११ रुपैयाँ भएको थियो । निर्देशक सामुएल मार्शल राइमीको निर्देशनमा तयार भएको फिल्ममा बेनेडिक्ट कुम्बरब्याच, एलिजाबेथ ओल्सेन, चिवेटोल इजोफोर, बेनेडिक्ट वङको अभिनय रहेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं