सूचनाको शक्ति - The Power Of Information

        

‘पठान’ को कमाइ हजार करोड नाघ्यो

शाहरूख खान र दीपिका पादुकोणको मुख्य भूमिका रहेको हिन्दी फिल्म ‘पठान’ ले हजार करोडभन्दा बढीको व्यापार गरेको छ । बुधबारसम्म फिल्मले एक हजार २२ करोड कलेक्सन गरिसकेको इन्डियन एक्सप्रेसले जनाएको छ ।

‘पठान’ ले भारतभित्र मात्रै भारतीय रुपैयाँ ५ सय २६ करोडभन्दा बढी ग्रस कलेक्सन गरेको छ । हिन्दी भर्सनसहित तमिल र तेलगु भाषामा गरी फिल्मले बक्सअफिसमा ५ सय २६ करोड ५८ लाख कलेक्सन गरेको जनाइएको छ ।

त्यसमध्ये हिन्दीको कलेक्सन मात्रै ५ सय ८ करोड छ । हिन्दी कलेक्सनमा फिल्मले ‘बाहुबली–२’ लाई जित्ने देखिएको छ । प्रभाव अभिनीत ‘बाहुबली–२’ को हिन्दी कलेक्सन ५ सय ११ करोड थियो ।

रिलिज भएको ३ दिनमै फिल्मले विश्वभरबाट ३ सय करोड भारतीय रुपैयाँभन्दा बढीको व्यापार गरेको थियो । त्यो सबैभन्दा छोटो समयमा ३ सय करोडभन्दा बढीको व्यापार गर्ने हिन्दी फिल्मको रेकर्ड पनि हो ।

तीन दिनमा फिल्मले घरेलु बजारमा २ सय १ करोड र भारतबाहिर १ सय १२ करोड कलेक्सन गरेको थियो । ‘पठान’ ले विश्वभरबाट पहिलो दिन १ सय ६ करोड र दोस्रो दिन १ सय १३ करोड रुपैयाँको व्यापार गरेको थियो ।

‘पठान’ एक दिनमा ७० करोड कमाउने पहिलो हिन्दी चलचित्र बनेको छ । यशराज ब्यानरमा बनेको फिल्ममध्ये बक्स अफिस कलेक्सनमा ५० करोड नघाउने तेस्रो फिल्म हो । यसअघि ‘वार’ ले ५३ करोड र ‘ठग्स अफ हिन्दोस्तान’ ले ५२ करोड कमाएका थिए ।

‘पठान’ जनवरी २५ मा हिन्दीका साथै तमिल र तेलुगु भाषामा रिलिज भएको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार ०८:१२