सूचनाको शक्ति - The Power Of Information

        

‘आरआरआर’ हजार करोड क्लबमा प्रवेश गर्ने तेस्रो फिल्म

राम चरण र जुनियर एनटीआर स्टारर दक्षिण भारतीय फिल्म ‘आरआरआर’ले १ हजार करोड भारतीय रूपैयाँको क्लबमा शामिल भएको छ।

एसएस राजामौलीको निर्देशनमा बनेको फिल्म ‘आरआरआर’ बक्स अफिसमा वर्ल्ड वाइड एक हजार करोड भारतीय रूपैयाँको आँकडा पार गर्ने तेस्रो फिल्म बनेको हो।

ठूलो लगानीमा बनेको यो फिल्मले रिलिज अगावै कमाईको कीर्तिमान राख्ने अपेक्षा गरिएको थियो। फिल्मले आफ्नो रिलीजको १६ औं दिनमा हजार करोड भारतीय रूपैयाँको आँकडा पार गरेको हो।

यसअघि मात्र दुई वटा फिल्मले १ हजार करोडभन्दा बढी कमाइ गरेका थिए।

यी हुन् १ हजार करोडभन्दा बढी कमाई गर्ने फिल्म

‘दंगल’
आमिर खानको फिल्म ‘दंगल’ सन् २०१६ मा रिलिज भएको थियो। यो फिल्मले वर्ल्ड वाइड २ हजार २४ करोड भारतीय रूपैयाँको कारोबार गरेको थियो। ५१२ करोड भारतमा कमाएको फिल्मले विश्वबजारमा १५२५ करोडको कारोबार गरेको थियो।

नितेश तिवारीको निर्देशनमा बनेको यो फिल्ममा आमिर खानबाहेक साक्षी तन्वर, सान्या मल्होत्रा, फातिमा सना शेख, जायरा वसीम र अपारशक्ति खुरानाको प्रमुख भूमिका रहेको थियो।

हेर्नुहोस् ट्रेलर

‘बाहुबली २’
एसएस राजामौलीकै फिल्म ‘बाहुबली-२ ले वर्ल्ड वाइड १८१० करोड भारतीय रूपैयाँको कारोबार गरेको थियो। सन् २०१७ बनेको यो फिल्मले भारतमा १४२९ करोड र भारत बाहिर ३८० करोडको ब्यापार गरेको थियो।

दक्षिण भारतीय फिल्म बाहुबलीको सिक्वेलमाप्रभासले मुख्य भूमिका निभाएका थिए। प्रभासबाहेक राणा दग्गुबाती, अनुष्का शेट्टी, तमन्ना भाटिया र राम्या कृष्णनलगायतले अभिनय गरेका छन्।

हेर्नुहोस् ट्रेलर

‘आरआरआर’
राम चरण र जुनियर एनटीआर स्टारर ‘आरआरआर’ मार्च २५, २०२२ मा रिलिज भएको थियो। फिल्मले शुरूआतदेखिनै शानदार कमाई गर्दै आएको छ।

निर्माण पक्षका अनुसार हालसम्म फिल्मले कुल १००३.३५ करोड भारतीय रूपैयाँ अर्थात १६०२.७४ करोड नेपाली रूपैयाँ बराबर कमाइ गरेको छ। फिल्मले भारतमा ८१७ करोड र भारत बाहिर १८६ करोड भारतीय रूपैयाँको कारोबार गरेको छ।

फिल्ममा आलिया भट्ट र अजय देवगनले अतिथि कलाकारको भूमिका निभाएका छन्।

हेर्नुहोस् ट्रेलर

‘दंगल’, ‘बाहुबली २’ र ‘आरआरआर’ बाहेक कुनै पनि फिल्मले भारतीय बक्स अफिसमा १ हजार करोडको आँकडा पार गर्न सकेका छैनन्।

सलमान खानको ‘बजरंगी भाईजान’ले ९६९.०६ करोड कमाएर हजार करोड क्लब नजिक पुग्यो।  यस्तै आमिर खानको अर्को फिल्म ‘सीक्रेट सुपरस्टार’ले ९६६.८६ करोड भारतीय रूपैयाँ कमाएर हजार करोड आसपास पुगेको थियो।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार ०९:३५