सूचनाको शक्ति - The Power Of Information

        

समाचार

कोहलपुर मेयरलाई ‘क्रेटा कार’ उपहार !

बाँके । अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतलाई खेलौना कार (क्रेटा कार)उपहार दिएको छ । कोरोना महामारीको समयमा कोहलपुर नगरपालिकाले महंगो मूल्यमा कार खरिद गरेको विषयलाई विरोध जनाउँदै अखिल (क्रान्तिकारी)ले आइतबार नगरप्रमुख रावतको कार्यकक्षमै गएर सांकेतिक विरोधस्वरुप ‘क्रेटा कार’ उपहार दिएको हो ।

त्यसक्रममा अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) कोहलपुर नगर कमिटीका संयोजक लक्ष्मण मानवले प्रमुख रावतलाई ध्यानाकर्षण पत्र समेत बुझाएका थिए । संयोजक मानवद्धारा हस्ताक्षरित विज्ञप्तिमा स्थानीय सरकार सञ्चालन ऐन नियम, कानुन तथा जनभावना विपरित नगरपालिकाले लाखौं मूल्य बराबरको ‘क्रेटा कार’ खरिद गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

कोहलपुर नगरपालिकामा आवश्यकताभन्दा चार पाङ्गे र दुुई पाङ्गे सवारी साधन खरिद गर्न थालेपछि अहिले चर्को आलोचनासमेत भइरहेको छ । कोहलपुर नगरपालिकामा विलासी सवारी खरिद गर्ने होडबाजी छ । खरिद गरिएका सवारी साधनहरुको दुरुपयोग पनि उत्तिकै बढ्दै गएको छ । सरकारी सवारी साधन दुरुपयोग गर्ने नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी पहिलो प्राथमिकतामा पर्न थालेका छन् ।

केही दिनदेखि कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत चढ्नका लागि खरीद गरिएको विलासी भे १ झ ३२९ नम्बरको ‘क्रेटा कार’ सामाजिक सञ्जालहरुमा भाइरल बनिरहेको छ । कोहलपुर नगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरु एम्वुलेन्सबिहीन रहेका बेला मेयरको विलासिताका लागि ५० लाख बढी मुल्य पर्ने हुण्डाईको क्रेटा कार खरीदपछि अहिले चौतर्फी चर्को आलोचना भइरहेको छ ।

कारभन्दा एम्बुलेन्स आवश्यक भएको भए पनि विलासिताका लागि महङ्गो कार खरीद गरेर राज्यको ढुकुटीमा ब्रह्मालुट मच्चाएको भन्दै सामाजिक सञ्जालमा मेयर रावतको चर्को आलोचना भइरहेको छ । आवासको सेवा लिने कर्मचारीलाई समेत सुविधाका लागि भन्दै गाडी खरिद गरिएको भन्दै सबैतिरबाट बिरोध भइरहेको छ । नगरपालिकाले बर्सेनी नयाँ गाडी खरिद गरेर सरकारी सम्पत्ति फजुल दोहन गरिरहँदा एउटा एम्बुलेन्स खरीद गर्न सकेको छैन ।

नगरपालिकाले विलासिताका लागि सवारी साधन खरिद गरेर फजुल खर्च गरिएको स्थानीयहरु बताउँछन् । ‘बर्थिङ सेन्टरबाट बिरामीलाई सुविधा सम्पन्न अस्पतालमा रिफर गरिएको अवस्थामा सधैँ एम्बुलेन्सको अभाव खट्किन्छ ।’ स्वास्थ्य शाखामा कार्यरत एक जना कर्मचारीले भने । अहिले कोरोना महामारीमा कोहलपुरका कुनै पनि स्वास्थ्य संस्थामा एम्बुलेन्स नहुनुको पीडा कोहलपुरको सहरीभन्दा ग्रामीण क्षेत्रका नागरिकलाई बढी छ ।

‘कोहलपुरका लागि कम्तीमा एउटा एम्बुलेन्स आवश्यक ठानेर बारम्बार बजेट विनियोजन भएको छ,’ एक जना कार्यपालिका सदस्यले भने, ‘कार्यपालिकाले गरेको निर्णयअनुसार एम्बुलेन्स खरिद हुन सकेको छैन । केही साथीहरुको व्यक्तिगत स्वार्थका लागि बजेट खर्च भइरहेको छ ।’ मेयर र उनी निकटका आसेपासे जनप्रतिनिधिका कारण नगरपालिकाको विकास निर्माण शुन्यजस्तै अवस्थामा देखिएको कोहलपुरबासीहरु बताउँछन् ।

थप समाचारहरु पनि पढ्नुहोस् :

भाइरल बन्यो विलासी ‘क्रेटा ३२९’, के भन्छिन् कोहलपुरकी उपमेयर सञ्जु ?

‘भ्रष्टाचारको अड्डा’ कोहलपुर नगरपालिका, ‘अनियमितता लुकाउन भ्रामक विज्ञप्ती’

‘भ्रष्टाचारको अड्डा’ कोहलपुर नगरपालिकाभित्रका तीन पात्र, ‘छवि, दिल र अग्नी’

भ्रष्टाचारको दलदलमा कोहलपुर, जनप्रतिनिधिको ‘कालो झोलामा’ नगरपालिका

बदनाम कोहलपुर नगरपालिका : ‘जनप्रतिनिधि र कर्मचारीको कमाउधन्दा चलाउने अड्डा’

कोहलपुरमा वडाध्यक्षदेखि मेयरसम्मको ब्रम्हलुट, अर्थहीन योजनामा बजेट खर्च

कोहलपुरमा चरम आर्थिक घोटाला, किन लुकाइयो छानविन समितिका प्रतिवेदन ?

कोहलपुर नगरपालिकाद्वारा कृषि अनुदानको खुलेआम दुरूपयोग

कोहलपुरमा बेतिथि : प्रसुति गृहको रकममै लुटतन्त्र

कोहलपुरमा मेयर लुटबहादुरको ब्रह्मलुट, ‘जनताको ढाड भाँचिने गरी बजेट दुरुपयोग’

कोहलपुरका मेयर लुटबहादुरको अर्को बदमासी, ‘नेकपा नहुँदा सरकारी सेवाबाट बञ्चित’

स्वास्थ्य संस्था एम्बुलेन्सबिहीन, मेयर लुटबहादुरलाई विलासी कार

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतवार १८:४०