बाँके । ‘भ्रष्टाचारको अड्डा’का रुपमा परिचत बनेको बाँकेको कोहलपुर नगरपालिकाले आफ्नो अनियमितता लुकाउन ‘भ्रामक विज्ञप्ती’लाई सहारा बनाएको छ । नगरपालिकालाई कमाउधन्दा बनाएका केही जनप्रतिनिधि र कर्मचारीहरुले आफ्नो बचाउ गर्दै पालिकाभित्रका अनियमितता लुकाउन ‘भ्रामक विज्ञप्ती’लाई सहारा बनाएका छन् ।
सत्यपाटी डटकमका प्रकाशक तथा सम्पादक काशीराम शर्माले पटक पटक सूचना माग गर्दा बेवास्ता गर्दै आएका नगरपालिका केही जनप्रतिनिधि र कर्मचारीले सत्यपाटी डटकमले कोहलपुर नगरपालिकाभित्रका बेतिथि र अनियमितताका बारेमा निरन्तर समाचार ‘फ्लोअप’ गरेपछि अत्तालिएका केही जनप्रतिनिधि र कर्मचारीहरुले ‘भ्रामक विज्ञप्ती’लाई सहारा आफ्नो बचाउ गरेका छन् ।
कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत र प्रमूख प्रशासकीय अधिकृत छविलाल नेपालीद्वारा संयुक्तरुपमा हस्ताक्षर गरिएको ‘भ्रामक विज्ञप्ती’ जारी गर्दै केही जनप्रतिनिधि र कर्मचारीहरुको बचाउ गरेका छन् । वास्तविकता लुकाएर जारी गरिएको ‘भ्रामक विज्ञप्ती’ले कोहलपुरबासीलाई थप भ्रमित पारेको छ ।
नेपाली काँग्रेस कोहलपुरका नगर सचिव भुम भण्डारीले आफूहरु चोखो बन्नका लागि विज्ञप्तीको सहारा लिएर कोहलपुरबासीमा नगरपालिकाका मेयर र प्रमूख प्रशासकीय अधिकृतले थप भ्रम फैलाएको बताएका छन् । उनले अनियमितता लुकाउन आफूसहित केही पत्रकारका विरुद्धमा मुद्दा हाल्ने तयारी गरिएको जानकारीसमेत आएको पनि बताए ।
थप समाचारहरु पनि पढ्नुहोस् :
सत्यपाटी डटकमका अध्यक्ष एवं सम्पादकसमेत रहेका शर्माले सूचना माग गर्दै इमेलमार्फत निवेदन दिएको झण्डै १० महिना बितिसक्दा पनि कोहलपुर नगरपालिकाले अझैसम्म सूचना मागकर्तालाई सूचना उपलब्ध गराएको छैन । २०७७ साउन १३ गते शर्माले यस नगरपालिकासँग विभिन्न चार वटा विषयसँग सम्बन्धीत सूचना माग गरेका थिए ।
सूचना दिए अनियमितता खुल्ने डरले पत्रकारलाई धम्क्याउँदै आएका केही जनप्रतिनिधि र कर्मचारीहरु अहिले विज्ञप्तीलाई सहारा बनाएर अनियमितता लुकाउन लागिपरेको बताउँदै नगर सचिव भण्डारीले भने, ‘आफ्नो अनुकूल नहुने सूचना पाउन निकै कठिन छ ।’ उनले सूचनाको हकअनुसार सञ्चारकर्मीलाई मात्रै होइन आमनागरिकलाई सूचनाबाट बञ्चित गरिएको बताए ।
उनले केही दिनअघि मात्रै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कोहलपुर नगरपालिकाले जनताको छाना कार्यक्रम रोकेर सुविधा सम्पन्न सवारी साधन, कार्यालयमा बगैचा निर्माण र कर्मचारीका लागि चार क्वाटर व्यवस्थापन गरेको छ ।’ यसले पनि कोहलपुर नगरपालिकाभित्रको बेथितिलाई प्रष्ट्याएको छ ।
त्यस्तै नगरपालिकामै कार्यरत सव–इन्जिनियर महादेव जोशीले पनि नगरपालिकाले कर्मचारीको मनोवल घटाउने कार्य गरेको इङ्गित गर्दै सामाजिक सञ्जाल फेसबुकमा प्रश्न गर्दै लेखेका छन्, ‘विकास र समृद्धिको मिसनमा हिँडेको नगरपालिकामा वडाका प्राविधिक कर्मचरीहरुलाई एक बर्षसम्म कम्प्युटर, बस्ने कुर्सीसम्म नदिएको अवस्था । कसरी हुन्छ उच्च मनोवल ?’
यसरी नगरपालिकाभित्रैका कर्मचारीलाई काम गर्ने वातावरण बनाउन नसकेको नगरपालिकाका मेयर र प्रमूख प्रशासकीय अधिकृतले सत्यपाटीमा प्रकाशित भएका समाचारलाई भ्रमित भन्दै नगरपालिकाभित्रको अनियमितता लुकाउन ‘भ्रामक विज्ञप्ती’को सहारा लिएर आम कोहलपुरबासीमाझ झुटको खेती गरिरहेको सरोकारवालाहरु बताउँछन् ।
।