बाँके । चरम आर्थिक अनियमितता भइरहेको कोहलपुर नगरपालिकामा शैक्षिक घोटाला पनि राम्रैसँग फस्टाएको छ । कोहलपुर नगरपालिका–३ मा रहेको जनता माध्यमिक विद्यालयमा भवन निर्माणका क्रममा चरम आर्थिक घोटाला भएको छ । उक्त घोटाला प्रकरणमा नगरपालिकाका केही जनप्रतिनिधिको पनि संलग्नता रहेको आशंका गरिएको छ ।
विद्यालयको दुई कोठे भवन निर्माणका क्रममा कोहलपुर नगरपालिकाका केही जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा चरम आर्थिक घोटाला भएको भन्दै पीडित अभिभावकले उजुरीसमेत दिएको नगरपालिका स्रोतले जनाएको छ । अभिभावकको उजुरीपछि छानविन समिति गठन भयो । तर उक्त छानविन समितिले तयार गरेको प्रतिवेदन नगरपालिकाले लुकाएर राखेको छ ।
पीडित अभिभावकले गत पुसमा विद्यालय व्यवस्थापन समितिले विद्यालयको रकम अनियमितता गरेको भन्दै कोहलपुर नगर शिक्षा शाखामा उजुरी दिए । उजुरीमा भवन निर्माण, पुस्तकालय व्यवस्थापन, फर्निचर, कम्प्यूटर खरिद, शिक्षकको तलब कटौती, समुदायले चन्दा दिएको रकममा अनियमितता भएको भन्दै विद्यालय व्यवस्थापन समितिले उजुरी दिएको थियो ।
पीडित अभिभावकहरुले जिल्ला समन्वय समितिको कार्यालयमा दिएको उजुरी अनुसार जनता माध्यमिक विद्यालयको आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ मा दुई कोठे भवन निर्माण, आव. २०७६/०७७ आइसिटी कम्प्यूटर खरिद, आव. २०७५/०७६ मा विज्ञापन नै नगरेर शिक्षकको नियुक्तिका जस्ता विषयमा उजुरी परेको छ ।
आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ मा दुई कोठे भवन निर्माणमा विद्यालयकै पुराना इँट्टा, सरिया, ढङ्गा, झ्याल, ढोका प्रयोग गरी नयाँ खरिद विल पेश गरेको, खरिद समिति, उपभोक्ता समितिलाई थाहै नदिई (किर्ते गरी) मिलोमतो ठेक्का र खरिद गरेको र भवन अपुरै रहेको जस्ता कुराहरु उजुरीमा उल्लेख गरिएको छ ।
यस्तै आव. २०७६/०७७ आइसिटी कम्प्युटर खरिदमा आफूखुसी विद्यालयका सामान खरिद गरेको र खरिद भएका सामग्रीको नक्कली बिल पेश गरेर विद्यालयको खाताबाट रकम निकालेको भए पनि सम्बन्धीत पक्षलाई रकम भुक्तानी दिन बाँकी रहेको जस्ता कुराहरु उजुरीमा उल्लेख गरिएको छ ।
यो पनि पढ्नुहोस् :
कोहलपुर नगरपालिकाद्वारा कृषि अनुदानको खुलेआम दुरूपयोग
कोहलपुरमा बेतिथि : प्रसुति गृहको रकममै लुटतन्त्र
कोहलपुरमा मेयर लुटबहादुरको ब्रह्मलुट, ‘जनताको ढाड भाँचिने गरी बजेट दुरुपयोग’
कोहलपुरका मेयर लुटबहादुरको अर्को बदमासी, ‘नेकपा नहुँदा सरकारी सेवाबाट बञ्चित’
स्वास्थ्य संस्था एम्बुलेन्सबिहीन, मेयर लुटबहादुरलाई विलासी कार
कोहलपुरमा वडाध्यक्षदेखि मेयरसम्मको ब्रम्हलुट, अर्थहीन योजनामा बजेट खर्च
पीडित अभिभावकको उजुरीपछि जिल्ला समन्वय कार्यालयले फागुन १७ गते के–कसो भएको हो बुझेर नियमानुसार आवश्यक कारवाही हुन आदेश दिएको छ । तर छानविन समितिले प्रतेवेदन तयार गरेर हस्तान्तरण गरिसक्दा समेत गरेर जनप्रतिनिधि नै फस्ने आशंकाका कारण उक्त प्रतिवेदन अझै पनि सार्वजनिक गरिएको छैन ।
उक्त विषयमा छानविन गर्न नगर शिक्षा शाखा अधिकृत रविलाल मिजारको संयोजकत्वमा लेखापाल हेमन्त पौडेल र प्राविधिक सहायक बलबहादुर नेपाली सदस्य रहेको छानविन समिति बनाइएको थियो । सो समितिबाट आएको निष्कर्षका आधारमा दोषीलाई कारवाहीको दायरामा ल्याउने भनिएको थियो ।
समितिले बुझाएको उक्त प्रतिवेदन हालसम्म पनि सार्वजनीक गरिएको छैन । जनता माध्यमिक विद्यालयमा आर्थिक अनियमितता गरेको भन्दै उजुरी गरेपछि बनेको छानविन समितिका संयोजक रविलाल मिजारले प्रतिवेदन तयार गरेर कोहलपुर नगरपालिकामा बुझाएको बताए । ‘अहिलेसम्म किन सार्वजनिक भएन, मलाई थाहा छैन, सार्वजनिक गर्नुपर्ने हो,’ उनले भने ।
कोहलपुर नगरपालिका मेयर लुटबहादुर रावतले यस विषयमा छानविन गर्न बनेका छानविन समितिले तयार गरेका प्रतिवेदन हेर्न नभ्याएको बताउँदै पन्छिएका छन् । छानविन समिति गठनपछि उक्त समितिबाट आएको निष्कर्षका आधारमा दोषीलाई कारवाहीको दायरामा ल्याउने भनिए पनि जनप्रतिनिधि पनि फस्ने आशंकाका कारण हालसम्म प्रतिवेदन लुकाइएको छ ।
यस्तै गत वर्षको फागुन महिनामा आधारभुत तह २०७६ को परिक्षामा त्रुटी देखिएको थियो । परीक्षामा तीन वटा विषयमा निकै त्रुटी देखिएको थियो । नेपाली, गणित र विज्ञान विषयमा त्रुटी देखिएको थियो । नेपाली विषयमा ५ वटा, गणितमा १० वटा र विज्ञानमा ४० वटा त्रुटीहरु फेला परेपछि छानविनका लागि पनि नगरपालिकाले छानविन समिति बनाएको थियो ।
परीक्षामा देखिएको त्रुटीको छानविन गर्न सर्वपक्षिय बैठकले ऋषिराज शर्माको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । समितिमा नमूना विद्या सदनका संस्थापक शिव डाँगी र जनता मावि मैटहवाका शिक्षक बद्रि ढकाल सदस्य रहेका थिए । उक्त समितिले गठन भएको पाँच दिनमै प्रतिवेदन बुझाएको जनाएको छ ।
छानविन समितिका संयोजक शर्मा भने, ‘समिति गठन भएको पाँच दिनमै हामीले प्रतिवेदन तयार गरेर कोहलपुरका नगर प्रमुख रावतलाई हस्तान्तरण गरेका हौं । अहिलेसम्म किन सार्वजनिक भएन मलाई थाहा छैन ?’ कोहलपुर नगरपालिकाका सामुदायिक र संस्थागत गरी ४३ वटा विद्यालयका २ हजार ३५५ जना विद्यार्थीहरु परीक्षामा सहभागी थिए ।
मेयर रावतका अनुसार गत वर्ष भएको कक्षा ८ को परिक्षामा भएको कमजोरीमाथि छानविन भएको छ, तर सबै कुराहरु सार्वजनिक नहुने बताए । ‘केही कुराहरु आन्तरिक हुन्छन्, सबै कुरा मिडियामा आउनुर्दछ भन्ने हुँदैन,’ उनले गैरजिम्मेवार जवाफ दिँदै भने, ‘शिक्षकहरुलाई स्पष्टिकरण समेत सोधेका थियौं, फेरी यस्तो गल्ती नगर्नेसमेत चेतावनी दिएका छौँ ।’
उनका अनुसार जनता माध्यमिक विद्यालयमा भएको छानविन समितिले बनाएको प्रतिवेदन पास नभएको बताए । ‘दोषीलाई के कारवाही गर्ने भन्ने नै थाहा छैन, कुन खाले कारवाही गर्ने भन्ने थाहा छैन,’ उनले भने । कोहलपुर नगरपालिका नगर शिक्षा शाखा प्रमुख अनन्तकुमार पौड्यालले दुवै प्रतिवेदनको बारेमा आफुलाई जानकारी नभएको बताए ।
उनका अनुसार छानविन समिति बनाउँदा पनि जानकारी भएन र प्रतिवेदन बनाउँदा पनि आफूलाई जानकारी नभएको भन्दै आफुले केही बोल्न नमिल्ने बताए । दुवै प्रतिवेदनका अनुसार आर्थिक अनियमिततामा जनप्रतिनिधिको पनि मिलेमतो देखिएकाले कोहलपुर नगरपालिकाले समितिका प्रतिवेदन गोप्यरुपमा थन्क्याइसकेको नगरपालिका स्रोतले बताउँछ ।
।