२०८३ मंसिर १३ , आइतबार 29, November 2026, Sunday

नेपालमा हुण्डीको जालो, १६७२ कारोबार शंकाको घेरामा

नेपालमा अवैध हुण्डी कारोबारको सञ्जाल विस्तार हुँदै गएको र यसमार्फत ठूलो परिमाणमा शंकास्पद आर्थिक गतिविधि भइरहेको तथ्य सार्वजनिक भएको छ । वित्तीय सूचना एकाइ (एफआईयू) नेपालको प्रतिवेदनले नेपालको वित्तीय प्रणालीभित्र हुण्डी कारोबारले गम्भीर चुनौती सिर्जना गरिरहेको संकेत गरेको छ ।

प्रतिवेदनले अवैध रकम ओसारपसार, स्रोत नखुलेको सम्पत्तिको कारोबार, सम्पत्ति शुद्धीकरण र वित्तीय अपराधसँग जोडिएका गतिविधिप्रति गम्भीर प्रश्न उठाएको छ । यो विषय केवल आर्थिक अनियमिततामा सीमित छैन, यसले मुलुकको वित्तीय सुशासन र राष्ट्रिय अर्थतन्त्रको पारदर्शितामाथि समेत चुनौती खडा गरेको छ ।

वित्तीय सूचना एकाइ नेपालको सार्वजनिक गरिएको हुण्डीसम्बन्धी रणनीतिक विश्लेषण प्रतिवेदनअनुसार २ जनवरी २०२५ देखि १६ जुलाई २०२६ सम्मको अवधिमा हुण्डीसँग सम्बन्धित एक हजार ६७२ वटा शंकास्पद कारोबारसम्बन्धी प्रतिवेदन प्राप्त भएका छन् । यो तथ्यले नेपालमा अवैध आर्थिक कारोबारको जालो कति गहिरोसम्म फैलिएको हुन सक्छ भन्ने गम्भीर प्रश्न खडा गरेको छ ।

प्रतिवेदनको सबैभन्दा चासोको पक्ष के छ भने हुण्डीसँग सम्बन्धित शंकास्पद कारोबारको सूचना दिने संस्थामध्ये करिब ९० प्रतिशत हिस्सा वाणिज्य बैंकको रहेको छ । विकास बैंकको हिस्सा सात प्रतिशत, वित्त कम्पनीको दुई प्रतिशत र रेमिट्यान्स कम्पनीको एक प्रतिशत देखिएको छ । भुक्तानी सेवा प्रदायक संस्थाको हिस्सा नगण्य छ ।

यसले एउटा विरोधाभासपूर्ण अवस्था उजागर गर्छ । अवैध आर्थिक कारोबार नियन्त्रण गर्न स्थापित औपचारिक बैंकिङ प्रणाली नै हुण्डी कारोबारसँग सम्बन्धित शंकास्पद गतिविधि पहिचान गर्ने प्रमुख माध्यम बनिरहेको छ । यसको अर्थ सबै बैंकिङ कारोबार हुण्डी हुन् भन्ने होइन, तर बैंकिङ प्रणालीमार्फत हुने शंकास्पद रकमको आवागमनमाथि थप प्रभावकारी निगरानी आवश्यक छ ।

रेमिट्यान्सको आवरणमा अवैध कारोबार ?

नेपालको अर्थतन्त्रको एउटा महत्वपूर्ण आधार वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्स हो । लाखौँ नेपाली विदेशमा पसिना बगाएर पठाएको रकमले परिवारको जीवनयापनदेखि राष्ट्रिय अर्थतन्त्रसम्म ठूलो योगदान पुर्‍याइरहेको छ । तर यही रेमिट्यान्सको आवरणमा अनौपचारिक माध्यमबाट रकम पठाउने र प्राप्त गर्ने गतिविधि हुनु गम्भीर चुनौती हो ।

हुण्डी कारोबारले औपचारिक बैंकिङ प्रणालीलाई छल्ने मात्र होइन, रकमको वास्तविक स्रोत, गन्तव्य र कारोबारमा संलग्न व्यक्तिको पहिचानसमेत कठिन बनाउँछ । यसबाट विदेशी मुद्रा सञ्चिति, राजस्व संकलन, वित्तीय पारदर्शिता र राष्ट्रिय अर्थतन्त्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष असर पर्न सक्छ । हुण्डी कारोबारलाई सामान्य आर्थिक अनियमितताका रूपमा मात्र बुझ्नु पर्याप्त हुँदैन ।

यसको सम्बन्ध अवैध आम्दानी लुकाउने, स्रोत नखुलेको सम्पत्ति व्यवस्थापन गर्ने, कर छली गर्ने तथा संगठित आर्थिक अपराधसँग जोडिन सक्छ । प्रतिवेदनले हुण्डी कारोबारलाई पूर्वअपराध (प्रेडिकेट अफेन्स) को सम्भावित माध्यमका रूपमा विश्लेषण गरेको छ । यसको अर्थ हुण्डीसम्बन्धी प्रत्येक शंकास्पद कारोबार अपराध प्रमाणित भएको भन्ने होइन । तर यस्ता कारोबारको समयमै अनुसन्धान र निगरानी हुन नसके आर्थिक अपराधको जालो विस्तार हुन सक्ने जोखिम रहन्छ ।

नेपालमा राष्ट्र बैंक, वित्तीय सूचना एकाइ, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र सुरक्षा निकायहरू छन् । वित्तीय कारोबारलाई पारदर्शी बनाउन कानुनी व्यवस्था पनि छ । तर यति धेरै निकाय र संयन्त्र हुँदाहुँदै हुण्डी कारोबारको जोखिम बढिरहेको देखिनु आफैँमा गम्भीर प्रश्न हो ।

अवैध कारोबारमा संलग्न व्यक्तिहरूले प्रविधि, विभिन्न बैंक खाता, व्यावसायिक आवरण र सीमापार सम्पर्कको प्रयोग गर्न सक्छन् । त्यसैले परम्परागत अनुसन्धान पद्धतिले मात्रै यस्तो सञ्जाल नियन्त्रण गर्न कठिन हुन्छ । विशेषगरी भारतसँगको खुला सीमा, सीमावर्ती क्षेत्रमा हुने अनौपचारिक आर्थिक गतिविधि र व्यक्तिगत सम्पर्कका आधारमा हुने रकमको लेनदेनलाई प्रभावकारी निगरानीमा ल्याउनु आवश्यक छ ।

हुण्डी नियन्त्रणका नाममा वैदेशिक रोजगारीमा रहेका नेपाली र उनीहरूका परिवारले वैधानिक रूपमा पठाउने रेमिट्यान्सलाई अनावश्यक झन्झटमा पार्नु हुँदैन । बरु अवैध कारोबारको सञ्जाल पहिचान गरी त्यसका सञ्चालक, आर्थिक लाभ लिने व्यक्ति र सहयोगी संरचनामाथि अनुसन्धान केन्द्रित हुनुपर्छ ।

त्यसका लागि वित्तीय सूचना एकाइ र अनुसन्धान गर्ने निकायबीच सूचना आदानप्रदान प्रभावकारी बनाउनुपर्छ । बैंक तथा वित्तीय संस्थाको शंकास्पद कारोबार पहिचान गर्ने क्षमता बढाउनुपर्छ । सीमावर्ती क्षेत्रमा वित्तीय निगरानी बलियो बनाउनुपर्छ । अनुसन्धानमा राजनीतिक पहुँच, प्रशासनिक संरक्षण र आर्थिक प्रभावले हस्तक्षेप गर्न नपाउने वातावरण बनाउनुपर्छ ।

सबैभन्दा महत्वपूर्ण कुरा, शंकास्पद कारोबारको प्रतिवेदन प्राप्त हुनु र अपराध प्रमाणित हुनु फरक विषय हुन् । त्यसैले प्रतिवेदनका आधारमा अनुसन्धान, अभियोजन र दोषीमाथि कानुनी कारबाहीको वास्तविक प्रगति पनि सार्वजनिक हुनुपर्छ । एक हजार ६७२ वटा शंकास्पद कारोबारसम्बन्धी प्रतिवेदन केवल एउटा तथ्यांक होइन, नेपालको वित्तीय सुशासनमाथि उठेको गम्भीर चेतावनी हो ।

अर्थतन्त्रलाई औपचारिक, पारदर्शी र उत्तरदायी बनाउने हो भने हुण्डीको सञ्जाल भत्काउनैपर्छ । अन्यथा वैदेशिक रोजगारीबाट नेपालीले कमाएको पसिनाको कमाइसमेत अवैध आर्थिक कारोबारको जोखिममा पर्नेछ । सरकारले यो बिषयमा गम्भीर कदम चाल्न पर्ने देखिन्छ ।

प्रकाशित मिति : २०८३ मंसिर १३ गते आइतबार