२०८३ मंसिर १३ , आइतबार 29, November 2026, Sunday

दशौं राष्ट्रिय खेलकुदको ट्रफी र ओलम्पिक टर्च रारामा

कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी र ओलम्पिक टर्च नेपालको प्रमुख पर्यटकीय गन्तव्य मुगुको रारा तालमा पुर्‍याइएको छ । दैलेखको शिरस्थानस्थित अखण्ड ज्वालाबाट प्रज्वलन गरी सुरु गरिएको ट्रफी तथा ओलम्पिक टर्च टुर जुम्लाको चन्दननाथ मन्दिर हुँदै आइतबार रारा पुगेको हो ।

म्याराथन धावक हरिबहादुर रोकायको नेतृत्वमा ओलम्पियन तथा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका खेलाडीहरूको टोली रारा पुगेको हो । राराको पर्यटन प्रवर्द्धन गर्नुका साथै मुगुको प्राकृतिक सौन्दर्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले ट्रफी र ओलम्पिक टर्चसहितको टोली रारा पुर्‍याइएको हो ।

टोलीका सदस्य म्याराथन धावक हरिबहादुर रोकाया र ओलम्पियन दीपक विष्टले रारा तालको प्रचारप्रसार गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा यसको पहिचान स्थापित गर्न र कर्णाली प्रदेशको मुगुमा रहेको सुन्दर राराको पर्यटन विकासमा टेवा पुर्‍याउने उद्देश्यले यो अभियान अघि बढाइएको बताए ।

टोलीमा ओलम्पियन दीपक विष्ट, साग खेलकुदका डबल स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, म्याराथन धावक हरिबहादुर रोकाया, ओलम्पियन देबु थापा तथा कराँते खेलाडी मण्डेकाजी श्रेष्ठ लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका खेलाडीहरूको सहभागिता रहेको छ । रारा पुगेको ट्रफी र ओलम्पिक टर्चसहित खेलाडीहरूको टोलीलाई छायानाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्ण्ॉ पौड्यालले स्वागत गरे ।

स्वागत कार्यक्रममा मुगुका प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारी, हनुमान ध्वज गुल्मका गुल्मपति खड्गबहादुर श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलिया, सशस्त्र प्रहरी नायब उपरीक्षक दिनेश श्रेष्ठ, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रमुख श्यामकुमार गौतम लगायत जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८३ मंसिर १३ गते आइतबार