बर्दियाको बढैयातालमा अहिले साइबेरियादेखि आएका आन्तुक चरा रमाइरहेका छन् । कोही पानीमा डुबुल्की मारिरहेका देखिन्छन् भने कोही घाँस र बुट्यानमा बसेर पारिलो घाम तापिरहेका भेटिन्छन् । बढैयाताल गाउँपालिका–५ मा रहेको बढैयातालमा अहिले आगन्तुक र रैथाने चराको उपस्थिति बाक्लो छ ।
तालक्षेत्रमा चरा हेर्नका लागि आउने मानिसको पनि घुइँचो लाग्न थालेको छ । आगन्तुक चरा असोजदेखि बढैयातालमा आउन सुरु गर्छन् र वैशाख महिनामा फर्कन्छन् । चराहरू यो समयमा पानीमा रमाउने, आहारा खोज्ने गर्छन् । उत्तरी धु्रवतिर हिउँ पर्ने हुनाले चिसो छल्न र आहाराको खोजी गर्दै चराहरू बढैयातालसम्म आइपुग्छन् ।
कतिपय चरा बच्चा हुर्काएर फर्कने गरेको चराविद्हरू बताउँछन् । चराविद् रामबहादुर शाहीका अनुसार पानीमा रमाउने हाँस प्रजातिका खोया हाँस, कल हाँस, चखेवा, सुनजुरे, कालोटाउके, मालक, कालीजुरे, श्वेताखिभौँ, बेल्चाठुँडे, खड्खडे, फुर्के, सिन्दुरे, नादुन, सुइरो पुछ्रे हाँस, हरियोटाउके हाँस र बिजुला गौरी हाँस लगायत चरा विभिन्न भेगबाट यहाँ आउने गर्छन् ।
सारस, हरि, डुबुल्के लगायतका चरा उनीहरूसँगै मिलेर रमाउने गरेको शाहीले बताए । तालमा गतवर्ष एक बच्चासहित तीन वटा सारससमेत फेला परेको थियो । सारसलाई विश्वमा संवेदनशील चराको सूचीमा राखिएको छ भने नेपालमा पनि सङ्कटापन्न चराको सूचीमा रहेको छ । गत वर्ष गरिएको चरा गणनामा ६४ प्रकारका तीन हजारभन्दा बढी चरा फेला परेको शाहीले बताए ।
उनका अनुसार जति चिसो बढ्यो, त्यति नै धेरै चराका प्रजाति यो तालवरिपरि विचरण गर्न आउने गरेका छन् । पछिल्लो समय चरा अवलोकन गर्न रुचाउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । निकुञ्ज घुम्न आउने पर्यटक बढैयातालमा चरा अवलोकन गर्न पुग्न थालेका छन् ।
बढैयाताल गाउँपालिका–५ का वडाध्यक्ष तुलाराम थारूले तालक्षेत्रमा नयाँ नयाँ रङ भएका चराहरू आइरहेका बताए । उनले चरा हेर्न पर्यटक आउन थालेकाले तालमा चहलपहल बढेको जानकारी दिए । बढैयाताल १०९ बिघा क्षेत्रफलमा फैलिएको छ । तालको गहिराइ तीनदेखि सात फिटसम्म रहेको स्थानीयवासी बताउँछन् ।
केही वर्षअघिसम्म ठेक्कामार्फत माछापालन गरिएको तालमा हाल संरक्षण र पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिएका छन् । बढैयाताल गाउँपालिकाको पहलमा विभिन्न निकायले ताल सुधारका लागि लगानी गरिरहेका छन् । चरा बस्नका लागि तालको बिचमा टाकुरा निर्माण, तालको गहिराइका लागि माटो निकाल्ने, अवलोकनका लागि मचान निर्माण लगायतका काम गरेको बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले बताए ।
