२०८३ मंसिर १३ , आइतबार 29, November 2026, Sunday

अस्ट्रेलियामा नेपालीको संख्या १० वर्षमै पाँच गुणाले वृद्धि

अस्ट्रेलियामा नेपाली समुदायको विस्तार तीव्र गतिमा भइरहेको छ । पछिल्लो अध्ययनले एक दशकको अवधिमा नेपालमा जन्मिएर अस्ट्रेलियामा बसोबास गर्ने नेपालीको संख्या झन्डै पाँच गुणाले वृद्धि भएको देखाएको छ । इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस)को सन् २०२६ मा सार्वजनिक अध्ययनअनुसार सन् २०२५ जुनसम्म अस्ट्रेलियामा नेपालमा जन्मिएका दुई लाख १३ हजार ५८० जना बसोबास गरिरहेका छन् ।

अध्ययनले सन् २०१४ मा यस्तो जनसंख्या ४२ हजार ९०० रहेको देखाएको छ । यसअनुसार करिब १० वर्षमै नेपालमा जन्मिएका अस्ट्रेलियावासीको संख्या उल्लेखनीय रूपमा बढेको हो । सन् २०२१ को अस्ट्रेलियाली जनगणनामा भने नेपालमा जन्मिएका एक लाख २२ हजार ५०६ जना अभिलेख भएका थिए । अस्ट्रेलियास्थित नेपाली दूतावासको सहकार्यमा तयार पारिएको यस अध्ययनले नेपाली समुदायको जनसंख्या वृद्धिसँगै उनीहरूको शिक्षा, रोजगारी, आम्दानी, लगानी र नेपालसँगको सम्बन्धलाई समेत समेटेको छ ।

अध्ययनका क्रममा एक हजार ८९ जना नेपालीसँग सर्वेक्षण गरिएको थियो। यसबाहेक विभिन्न क्षेत्रका सरोकारवालासँग १८ वटा अन्तर्वार्ता तथा दुईवटा समूहगत छलफलमार्फत थप जानकारी संकलन गरिएको थियो । सर्वेक्षणमा सहभागीमध्ये ६१.१६ प्रतिशत नेपाली उच्च शिक्षा हासिल गर्ने उद्देश्यले अस्ट्रेलिया आएको पाइएको छ । त्यस्तै, करिब २३ प्रतिशतले परिवारसँग पुनर्मिलन हुनुलाई अस्ट्रेलिया आउनुको मुख्य कारण बताएका छन् ।

अस्ट्रेलियामा नेपाली समुदायको भूमिका विद्यार्थी र श्रमिकको उपस्थितिमा मात्र सीमित नरहेको अध्ययनले देखाएको छ । व्यवसाय, उद्यमशीलता, व्यावसायिक सेवा, लगानी र सामाजिक गतिविधिमा पनि नेपालीको सहभागिता विस्तार भइरहेको छ । आर्थिक अवस्थासम्बन्धी विवरणमा सर्वेक्षणमा सहभागी ४५.२७ प्रतिशतको वार्षिक आम्दानी ६५ हजारदेखि एक लाख २० हजार अस्ट्रेलियन डलर रहेको उल्लेख छ। त्यस्तै, करिब ३५ प्रतिशत सहभागीले अस्ट्रेलियामा औपचारिक लगानी गरेको बताएका छन् ।

अध्ययनले विदेशमा रहेका नेपालीको योगदानलाई रेमिट्यान्स पठाउने कार्यमा मात्र सीमित नगरी उनीहरूले आर्जन गरेको ज्ञान, सीप, पुँजी र व्यावसायिक अनुभवलाई नेपालको विकाससँग जोड्नुपर्ने विषयमा जोड दिएको छ । आईआईडीएसका कार्यकारी अध्यक्ष डा.विश्वास गौचनले डायस्पोरासँग रहेको आर्थिक तथा बौद्धिक क्षमतालाई नेपालको विकासमा उपयोग गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । अध्ययन प्रस्तुत गर्ने स्नेहा घिमिरेले पनि नेपाली डायस्पोराको योगदान रेमिट्यान्सभन्दा फराकिलो हुँदै गएको बताएकी छन् ।

अस्ट्रेलियाका लागि नेपाली राजदूत साइमन अर्नेस्टले अस्ट्रेलियामा रहेको नेपाली समुदायलाई नेपाल र अस्ट्रेलियाबीच आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध विस्तार गर्ने महत्त्वपूर्ण माध्यमका रूपमा व्याख्या गरेका छन् । आईआईडीएस र अस्ट्रेलियास्थित नेपाली दूतावासको संयुक्त आयोजनामा अध्ययन प्रतिवेदन सन् २०२६ मे १८ मा काठमाडौँमा सार्वजनिक गरिएको थियो । अध्ययनमा उल्लेखित २ लाख १३ हजार ५८० को तथ्यांक नेपालमा जन्मिएका व्यक्तिहरूको हो । अस्ट्रेलियामा जन्मिएका नेपाली मूलका दोस्रो तथा पछिल्ला पुस्तालाई समेत समेट्दा नेपाली मूलको जनसंख्या अझ बढी हुन सक्ने देखिन्छ ।

प्रकाशित मिति : २०८३ मंसिर १३ गते आइतबार