पश्चिम नेपालका हजारौँ बिरामीको आशा र भरोसाको केन्द्र मानिने नेपालगन्जस्थित भेरी अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा थपिने क्रम बढ्दै गएको छ । सोही क्रममा अस्पतालले विशेषज्ञ स्वास्थ्य सेवालाई थप विस्तार गर्दै न्यूरो सर्जरी तथा प्लास्टिक सर्जरी सेवा पनि औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ ।
यस सेवाको सुरुवातसँगै पश्चिम नेपालका तीन प्रदेशका बिरामीहरूले अब न्यूरो तथा प्लास्टिक सर्जरी सम्बन्धी विशेषज्ञ स्वास्थ्य सेवा भेरी अस्पतालमै सहज रूपमा प्राप्त गर्न सक्ने भएका छन् । लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका विपन्न र मध्यम वर्गमा नागरिकको प्रमुख उपचार केन्द्र रहेको यो अस्पतालमा न्यूरो सर्जरी तथा प्लास्टिक सर्जरी सेवा सुरु भएकोले यसबाट हजारौँ विपन्न तथा मध्यम वर्गका बिरामीले लाभ पाउने छन् ।
भेरी अस्पताल विकास समितिका अध्यक्ष डा.लक्ष्मण सिग्देलका अनुसार अस्पतालको ६ नं. ओपीडी (बहिरङ्ग सेवा)बाट प्रत्येक हप्ताको मंगलबार र बिहीबार न्यूरो सर्जरी तथा प्लास्टिक सर्जरी सम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराइएको छ । यसले सम्बन्धित समस्याबाट प्रभावित बिरामीहरूलाई समयमै विशेषज्ञ चिकित्सकीय परामर्श, रोग पहिचान तथा उपचारको पहुँचमा सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.नवीन दर्नालले यस सेवाका लागि भेरी अस्पतालमा न्यूरो सर्जन डा.आलोक चन्द ठाकुर तथा प्लास्टिक सर्जन डा. नोबेल पोखरेलको आगमनपछि यो विशेषज्ञ सेवा उपलब्ध भएको बताए । दुवै विशेषज्ञ चिकित्सकको विशेषज्ञता, ज्ञान, सीप र अनुभवबाट यस क्षेत्रका नागरिकले गुणस्तरीय तथा विशिष्टीकृत स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास समेत डा.दर्नालले व्यक्त गरे ।
यसअघि एक कार्यक्रमबीच अस्पताल विकास समितिका सदस्य डा.डक्टप्रसाद धिताल, प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.नवीन दर्नाल, सर्जरी विभागका विभागीय प्रमुख डा.सुरेशकुमार नाग, अस्पताल नर्सिङ प्रमुख पद्मादेवी देवकोटा, मेडिसिन विभागका विभागीय प्रमुख डा.राजन पाण्डे, रेडियोलोजी विभागका विभागीय प्रमुख डा.विश्वनाथ शर्मालगायतको टोलीले संयुक्त रूपमा ती दुवै बिशेषज्ञ सेवाको शुभारम्भ गरेका थिए ।
अस्पताल विकास समितिका सदस्य डा.डक्टप्रसाद धिताका अनुसार भेरी अस्पतालमा यसअघि देखि नै सीटी स्क्यान तथा एमआरआई सेवा निरन्तर सञ्चालनमा रहेकाले जटिल रोगहरूको पहिचान तथा उपचार प्रक्रियामा आवश्यक सहयोग पुग्दै आएको छ । उनले अब न्यूरो तथा प्लास्टिक सर्जरीसम्बन्धी विशेषज्ञ सेवा समेत थपिएसँगै आधुनिक निदानात्मक प्रविधि र विशेषज्ञ चिकित्सकीय सेवालाई एकीकृत गरी बिरामीलाई थप सहज, सुलभ र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालको प्रयासले नयाँ सफलता प्राप्त गरेको बताए ।
