२०८३ कात्तिक २२ , आइतबार 8, November 2026, Sunday

भोटेकोशी बाढीपछि उद्धारमा खटिएको ‘लियो’ बन्यो सर्वोत्कृष्ट

गत भदौमा आएको विनाशकारी भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धारमा महत्त्वपूर्ण योगदान पुर्‍याएको नेपाल प्रहरीको खोजी कुकुर ‘लियो’ सर्वोत्कृष्ट प्रहरी कुकुर घोषित भएको छ ।

नेपालभर परिचालित प्रहरीका विभिन्न केनाइनले गरेका कामको मूल्याङ्कनका आधारमा लियोलाई यस वर्षको सर्वोत्कृष्ट छनोट गरिएको हो । कुकुर तिहारको अवसर पारेर नेपाल प्रहरी केनाइन कार्यालयमा आयोजित विशेष कार्यक्रममा लियोलाई मेडल प्रदान गरी सम्मान गरिएको छ ।

अपराध अनुसन्धान विभागका प्रहरी नायब महानिरीक्षक (डीआइजी) ओम रानाले लियोलाई मेडल प्रदान गरेका हुन् । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि खोज तथा उद्धार कार्यमा परिचालित लियोले करिब एक महिनासम्म उद्धार टोलीलाई सहयोग गरेको थियो ।

बाढीमा बेपत्ता भएका व्यक्तिको खोजी गर्ने क्रममा लियोले केहीको शव फेला पार्न सहयोग गरेको थियो । त्यस्तै, बाढीले बगाएका मानव शरीरका विभिन्न अंग पहिचान गर्न पनि सफल भएको थियो ।

ल्याब्राडोर जातको लियोले २०७८ सालदेखि नेपाल प्रहरीको खोज तथा उद्धार र अपराध अनुसन्धान सम्बन्धी कार्यमा सहयोग गर्दै आएको छ । कठिन भौगोलिक अवस्था र चुनौतीपूर्ण परिस्थितिमा समेत प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै लियोलाई सर्वोत्कृष्ट घोषित गरिएको हो ।

नेपाल प्रहरीले हातहतियार, विस्फोटक पदार्थ तथा लागुऔषध पहिचानका साथै प्राकृतिक विपद्का घटनामा बेपत्ता भएका व्यक्तिको खोजी तथा उद्धारमा तालिमप्राप्त कुकुर परिचालन गर्दै आएको छ । हाल देशभरका १३ स्थानबाट विभिन्न प्रजातिका १०७ वटा प्रहरी कुकुर अपराध अनुसन्धान तथा खोजी कार्यमा खटिँदै आएका छन् ।

प्रकाशित मिति : २०८३ कात्तिक २२ गते आइतबार