२०८३ कात्तिक २१ , शनिबार 7, November 2026, Saturday

सुर्खेत-दैलेख विद्युत् प्रशारण लाइन निर्माणमा कानुनी झमेला

कर्णाली प्रदेशमा गुणस्तरीय बिजुली पुर्‍याउन थालिएको सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन वन सम्बन्धी कानुनी झन्झटमा अल्झिएको छ । कोहलपुर–सुर्खेत–दैलेख आयोजना अन्तर्गतको यो खण्ड २०८० मा सम्झौता भई २०८२ मै सकिनुपर्ने थियो ।

तर रुख कटान र जग्गा भोगाधिकारको गोलचक्करमा परेर ७० प्रतिशत भौतिक प्रगतिमै अल्झिएको छ । म्याद थप गर्दासमेत ३० प्रतिशत काम बाँकी छ । सुर्खेतको वीरेन्द्रनगरस्थित सुब्बाकुना सबस्टेसनबाट सुरु भई दैलेखको चुप्रामा टुंगिने यो आयोजनाको कुल लागत ८० करोड रुपैयाँ छ ।

निर्माणको जिम्मा सिग्मा काठमाडौंले लिएको छ । ३२ किलोमिटर लामो यस खण्डमा १०१ वटा एंगल टावर बनाउनुपर्नेछ । तर हालसम्म ४१ वटा मात्र बनेका छन् । ४० टावरका फाउन्डेसन तयार भएका छन् भने वनको कानुनी अल्झनले २० टावरका फाउन्डेसन खन्नसमेत सकिएको छैन ।

मन्त्रिपरिषद्को निर्णय कुर्दै १९ हजार रुख

प्रसारण लाइन निर्माण क्षेत्रमा पर्ने रुख कटानका लागि मन्त्रिपरिषद्बाट अनिवार्य स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था छ । तर लामो समयदेखि औपचारिक निर्णय हुन नसक्दा २० वटा टावरको काम सुरु हुन सकेको छैन । आयोजनाका अनुसार साना तथा ठूला गरी झण्डै १९ हजारभन्दा बढी रुख कटान गर्नुपर्नेछ ।

वातावरणीय प्रभाव मूल्याङ्कन, नापजाँच र वन मन्त्रालय अन्तर्गतका सबै प्रशासनिक प्रक्रिया पूरा गरेर स्वीकृतिका लागि फाइल मन्त्रालयमा पेस गरिसकिएको आयोजना प्रमुख रविकुमार चौधरीले बताए । ‘मन्त्रिपरिषद्बाट अनुमति पाउनासाथ निर्माणले गति लिन्छ,’ उनले भने । रुख कटानको अड्चनले टावर निर्माण रोकिए पनि दैलेखको डुंगेश्वर गाउँपालिका–१ चुप्रामा निर्माणाधीन १३२ केभी सबस्टेसनको ६० प्रतिशत काम सकिएको छ ।

कोहलपुर–सुर्खेतको पुनरावृत्ति

यो समस्या नयाँ होइन । २०७६ असार २२ मा नेपाल विद्युत प्राधिकरण र भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टबीच करिब ७० करोड रुपैयाँमा सम्झौता भएको कोहलपुर–सुर्खेत १३२ केभी खण्ड दुई वर्षमा सक्नुपर्ने थियो ।

बाँके र बर्दिया राष्ट्रिय निकुञ्जले १६१ वटा टावरका लागि जग्गा र रुख कटानको अनुमति दिन ढिलाइ गर्दा त्यो आयोजना साढे चार वर्ष ढिलो गरी २०८२ माघ १८ मा मात्र सञ्चालनमा आयो । यो ढिलाइको मूल्य सर्वसाधारणले चुकाइरहेका छन् । सुर्खेतमा पहिलो पटक ३३ केभीए प्रसारण लाइन विस्तार भएको २०४५ सालमा हो, अर्थात् करिब ३८ वर्षअघि । त्यति पुरानो पूर्वाधारका कारण प्रदेश राजधानीसहित धेरै जिल्लाका नागरिक लो भोल्टेज र अघोषित लोडसेडिङ खेप्न बाध्य छन् ।

ऊर्जा सुरक्षाको मेरुदण्ड

सुर्खेत–दैलेख प्रसारण लाइन एक जिल्लाको विद्युतीकरणसँग मात्र जोडिएको आयोजना होइन, यो समग्र कर्णाली प्रदेशको ऊर्जा सुरक्षाको मेरुदण्ड हो । सरकारको दीर्घकालीन योजनाअनुसार यो लाइनलाई कालीकोट हुँदै जुम्लासम्म पुर्‍याउने लक्ष्य छ । तर दोस्रो चरणको कालीकोट–जुम्ला प्रसारण रुटमा सरकारले हालसम्म कुनै ठोस नीतिगत तथा बजेटमा योजना अघि बढाएको छैन ।

विस्तृत अध्ययन प्रतिवेदन अनुसार यो खण्ड कुल ८२.१४ किलोमिटर लामो हुनेछ । यसलाई डबल सर्किटसहितको १३२ केभी प्रसारण लाइनका रूपमा बनाउने प्रस्ताव छ । यस खण्डमा मात्र २७९ वटा टावर बनाउनुपर्नेछ । विद्युत् विकास विभागका अनुसार यो खण्डका लागि कुल १५०.३३ हेक्टर जमिन आवश्यक पर्छ ।

जसमध्ये टावरको स्थायी संरचनाका लागि करिब १२.४ हेक्टर अधिग्रहण गर्नुपर्नेछ भने राइट अफ वेअन्तर्गत १३२.६९ हेक्टर जमिन आयोजनाको उपयोगमा आउनेछ । विद्युत् नियमावली, २०५० अनुसार प्रसारण लाइनको क्षेत्राधिकार मध्यबिन्दुबाट दायाँबायाँ नौ–नौ मिटर गरी न्यूनतम १८ मिटर कायम गरिन्छ ।

प्रकाशित मिति : २०८३ कात्तिक २१ गते शनिबार