२०८३ कात्तिक १६ , आइतबार 1, November 2026, Sunday

अर्नब चक्रवातको प्रभाव कमजोर, मौसममा क्रमिक सुधार

अर्नब चक्रवातको अवशेषस्वरूप पश्चिम नेपाल नजिक सक्रिय रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर बन्दै गएको छ । यससँगै देशभरको मौसममा क्रमिक सुधार हुँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल माथिल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव मात्र रहेको छ । अहिले लुम्बिनी प्रदेशसहित देशका हिमाली भूभागमा साधारणतया बदली रहेको छ भने अन्य क्षेत्रमा आंशिक बदली छ ।

बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिक बदली रहने अनुमान गरिएको छ । हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै, आज राति पनि देशका अधिकांश भूभागमा आंशिक बदली रहनेछ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई क्षेत्र, उपत्यका तथा नदीका खोँचहरूमा बिहानको समयमा हुस्सु लाग्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुपर्नेछ ।

प्रकाशित मिति : २०८३ कात्तिक १६ गते आइतबार