२०८३ कात्तिक १५ , शनिबार 31, October 2026, Saturday

नेपालगन्ज अन्तर्राष्ट्रिय पौडी च्याम्पियनसिपको तयारी अन्तिम चरणमा

आज शनिबारदेखि नेपालगन्जमा आयोजना हुने तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपको तयारी पूरा भएको आयोजक नेपालगन्ज स्वीमिङ क्लबले जनाएको छ । दुई दिनसम्म चल्ने प्रतियोगितामा करिब २०० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल स्वीमिङ एसोसिएसनसँगको सहकार्यमा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको र यस पटक पहिलो पटक भारतको लखनउ, दिल्ली र पञ्जाबबाट समेत खेलाडी सहभागी हुने क्लबका अध्यक्ष केशव न्यौपानेले बताए ।

उनले यसअघिका दुई प्रतियोगितामा नेपाली खेलाडीको मात्रै सहभागिता रहेकोमा यस पटक भारतबाट करिब ५० जना खेलाडी सहभागी हुने भएकाले प्रतियोगिता अन्तर्राष्ट्रिय बनेको बताए । अध्यक्ष न्यौपानेका अनुसार यस पटक भारतका ५० र नेपालगन्जसहित देशका विभिन्न स्थानबाट १५० गरी करिब २०० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

आयोजक नेपालगन्ज स्वीमिङ क्लबका अनुसार प्रतियोगितामा आठ वर्षमुनिदेखि १७ वर्षसम्मका विभिन्न उमेर समूहका खेलाडी तथा १७ वर्षभन्दा माथिका खुला समूहका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । खेलाडीले फ्रिस्टाइल, ब्याकस्ट्रोक, ब्रेस्टस्ट्रोक, बटरफ्लाई, रिले र व्यक्तिगत मेडले विधामा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा विभिन्न विधाका ८० वटा इभेन्ट सञ्चालन गरिने क्लबका उपाध्यक्ष एवं इभेन्ट म्यानेजर सूर्यमणि अधिकारीले जानकारी दिए । उनका अनुसार नेपालगन्जका खेलाडीलाई प्रतियोगिताका लागि तयार पार्न पौडी प्रशिक्षकद्वय चन्दुमान चौधरी र दीपक परियारले होटल सिद्धार्थको पौडी पोखरीमा नियमित प्रशिक्षण दिँदै आएका छन् ।

प्रतियोगितामा सहभागी खेलाडीलाई आयोजकले नेपालगन्जका पौडी पोखरी भएका चारतारे स्तरका होटलमा नि:शुल्क बसोबास तथा खानाको व्यवस्था गर्ने जनाएको छ । प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

क्लबले स्थापनाकालदेखि नै नियमित रूपमा राष्ट्रियस्तरका पौडी प्रतियोगिता आयोजना गर्दै आएको छ । पहिलो र दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न भएपछि तेस्रो संस्करणका रूपमा यो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रकाशित मिति : २०८३ कात्तिक १५ गते शनिबार