२०८३ कात्तिक ३ , सोमबार 19, October 2026, Monday

‘दसैँ गाउँमा नै रमाइलो’

यात्रा महँगो छ, टिकट पाउन सकस छ र घर पुग्ने बाटो पनि सहज छैन, तर परिवार र आफन्तसँग दसैँ मनाउने उत्साहले घर फर्कनेहरू यात्राको दु:ख बिर्सिरहेका छन् । बडादसैँका लागि देशविदेशबाट घर फर्कनेहरूको घुइँचो बढेसँगै हवाई तथा स्थलमार्गमा यात्रुको चाप छ ।

टिकट पाएर पनि सहज यात्रा गर्न नपाएका यात्रुहरू परिवार, आफन्त र इष्टमित्रसँग भेट हुने आशामा गन्तव्यतर्फ अघि बढिरहेका छन् । कर्णाली प्रदेशका हिमाली जिल्लाका दुर्गम गाउँसम्म पुग्नेहरूको यात्रा अझ जटिल र पट्यारलाग्दो हुने गरे पनि घर पुग्ने व्यग्र चाहनाले उनीहरूलाई हौसला दिएको छ ।

खाडी मुलुक तथा कालापहाड अर्थात् भारतबाट फर्कने परदेशीहरू खर्चिलो यात्रा र बाटोको सास्ती सहँदै दिनहुँ गाउँ पुगिरहेका छन् । वर्षौँदेखि भेट्न नपाएका परिवारका सदस्य, आफन्त र सङ्गीसङ्गिनीसँगको मिलनले दसैँ–तिहारलाई आपसी सद्भाव, सामाजिक एकता र आत्मीयता साट्ने अवसर बनाएको छ ।

भारतको बैङ्गलोरबाट दसैँ मनाउन घर फर्किएका जुम्लाको तिला गाउँपालिका–४ का नमराज शाहीले सहरको कोलाहल छाडेर गाउँ पुग्दा शान्तिको अनुभूति भएको बताए । ‘गाउँमा घरहरू छुट्टाछुट्टै छन्, तर सोच, मन र मानवीय भावना निकै नजिक छन्,’ उनले भने । सहरमा घरहरू जोडिए पनि मानिसबीचको आत्मीयता र आपसी सद्भाव कमजोर देखिने उनको अनुभव छ ।

शाहीका अनुसार यतिबेला गाउँमा दसैँको रमाइलोसँगै अन्नबाली भित्र्याउने चटारो छ । सिमी, मकै, कोदो, चिनो, कागुनो, मार्से, गहत र मास लगायतका अन्नबाली भित्र्याउने, नयाँ बाली न्वागीका रूपमा खाने तथा आफ्ना उत्पादन छिमेकीसँग साटासाट गर्ने क्रम चलिरहेको उनले बताए ।

पिङ खेल्ने, आफन्तसँग भेटघाट गर्ने र दु:खसुख बाँड्ने अवसरले गाउँको वातावरण थप रमाइलो बनेको उनको भनाइ छ । कर्णाली राजमार्ग र कर्णाली करिडोर हुँदै दैलेख, कालीकोट, बाजुरा, हुम्ला, जुम्ला र मुगुतर्फ जाने यात्रुहरूले बाटोमा सास्ती खेप्नुपरेको छ । भेरी करिडोर लगायतका मार्ग हुँदै सल्यान, रुकुमपश्चिम, जाजरकोट र डोल्पातर्फ जानेहरूको यात्रा पनि सहज छैन ।

तैपनि काम तथा रोजगारीका लागि घर छाडेर देशविदेश पुगेकाहरूको गाउँ फर्कने चटारो कायमै छ । सुर्खेत, दैलेख र कालीकोटबाट कर्णाली करिडोर हुँदै बाजुरा भएर हुम्ला पुगेका अदानचुली गाउँपालिकाका मनरुप परियारले दुई दिन लगाएर घर पुगेको बताए । ‘दुई दिनको यात्रामा गाडी चढ्नुका साथै पैदल हिँड्नु पनि पर्‍यो,’ उनले भने ।

बिहान घर पुगेपछि भने यात्राभरको थकान बिर्सिएको परियारले सुनाए । ‘सहर छाडेर घर पुग्दा बेग्लै आनन्दको अनुभूति भएको छ,’ उनले भने, ‘मातृभूमिको स्पर्शले कष्टकर यात्राको थकानमा मलम लगाएको छ ।’ दसैँ–तिहार मनाउन मानिसहरू गाउँ फर्किएसँगै सहरको चहलपहल घट्न थालेको छ भने विमानस्थल र बसपार्कमा घर जानेहरूको भीड छ ।

सर्लाहीको ईश्वरपुर नगरपालिका–३ बाट जुम्ला जाँदै गरेकी बिन्दुकुमारी सिंहले यात्राको दु:खभन्दा आफ्नो जन्मथलो भेट्ने रहर ठूलो भएको बताइन् । ‘रोजगारी र अवसरका लागि घर छाडेर देशविदेशका सहर पस्नु हाम्रो रहर होइन, बाध्यता हो,’ उनले भनिन् ।

आपसी सहयोग, आत्मीयता र सद्भावका दृष्टिले गाउँ सम्पन्न रहेको उनको बुझाइ छ । सहरको कोलाहलभन्दा गाउँको झुपडीमै शान्ति मिल्ने अनुभूति हुने बताउँदै सिंहले यतिबेला गाउँहरू आफन्तसँगको मिलन, आशा, एकता र दसैँको उमङ्गले रङ्गीन बन्दै गएको सुनाइन् ।

प्रकाशित मिति : २०८३ कात्तिक ३ गते सोमबार