उज्ज्वल रावत स्याउ खेतीलाई जीविकोपार्जनको मुख्य आधार बनाउने बाटोमा तल्लिन छन् । बुढीनन्दा नगरपालिका–९ पाण्डुसैनमा रहेको उनको स्याउ बगैँचा अहिले पहिचानसँग जोडिन थालेको छ । समुद्री सतहबाट करिब दुई हजार ४०० मिटरको उचाइमा छ, उहाँको स्याउ बगैँचा ।
कुनै बोटमा राताम्मे स्याउका दाना झुन्डिएका छन्, कुनै बोटका फल पाक्ने पर्खाइमा छन् । यही बगैँचाको बीचमा भेटिन्छन् । बाजुराका स्याउ कृषक उज्ज्वल रावत । एक हातले स्याउको हाँगा समाउँदै र अर्को हातले पाक्दै गरेको फल नियालिरहेका उज्ज्वलका लागि स्याउ केवल फल होइन । वर्षौँको मेहनत, धैर्य र भविष्यसँग जोडिएका सपना हुन् ।
बुवाले रोपेको हाँगाबाट सुरु भएको यात्रा
उज्ज्वलको स्याउखेतीको कथा भने आजभन्दा झन्डै चार दशक पुरानो हो । विसं २०४४–०४५ सालतिर उनका बुवा लालबहादुर रावतले स्याउका हाँगा रोपेर खेती सुरु गरेका थिए । त्यतिबेला स्याउखेतीलाई व्यावसायिक बनाउने सोच भए पनि त्यसले ठूलो आकार लिन सकेको थिएन । पछि बुवाले सुरु गरेको खेतीलाई व्यावसायिक बनाउने जिम्मा उज्ज्वलले सम्हालेका हुन् । खेती सुरु गर्दा उहाँको मनमा ठूला सपना थिएन ।
गाउँमा अधिकांश किसानको मुख्य निर्भरता परम्परागत अन्नबालीमै थियो । जमिनमा मकै, गहुँ, जौ लगायतका बाली लगाउने चलन थियो । तर, उनको परिवारले विस्तारै आफ्नो जमिनको सम्भावना फरक ढङ्गले हेर्न थाले । बाजुराको हावापानी स्याउका लागि अनुकूल हुनुका साथै बजारसम्मको पहुँच विस्तार हुँदै गएकाले स्याउखेतीलाई व्यावसायिक रूपमा अघि बढाउन सकिने निष्कर्षमा पुगे उनका परिवार । २०६० सालतिर एक संस्थाले एक हजार बिरुवा वितरण गरेको थियो ।
‘त्यसबाट ४०० बिरुवा गाउँका सबैलाई बाँडियो । बाँकी ६०० विरुवा रोपेर स्याउखेती सुरु गरियो,’ उज्ज्वललाई बिगत सम्झना छ । जुम्लाका एक कृषकले बिरुवा बिक्री गर्न ल्याएका थिए । बिक्री नभएका एक हजार ८०० बिरुवा सदरमुकाम मार्तडीमै राखिएका थिए । कृषि ज्ञान केन्द्रले उक्त बिरुवा निःशुल्क उपलब्ध गराएपछि आफूहरूले ढुवानी गरेर पाण्डुसैन पुर्याएको उनले बताए । ‘त्यसपछि २०६५ बाट स्याउखेतीलाई व्यावसायिक रूपमा विस्तार गरियो,’ उज्ज्वलले भने ।
विदेश जाने योजना रोकेर गाउँमै सम्भावना देखेका उज्ज्वल
सानै उमेरदेखि स्याउखेतीमा आकर्षित उज्ज्वलले केही वर्षअघि भने गाउँ छाडेर विदेश जाने योजना बनाए । विसं २०७८ मा उनी जापान जाने तयारीमा लागे । गाउँमै बसेर जति काम गरे पनि राम्रो आम्दानी नहुने उनको बुझाइ थियो । त्यसैले वैदेशिक रोजगारीमार्फत आर्थिक अवस्था सुधार्ने सपना देखेका थिए । अकस्मात जापान जाने उनको सोच बदलियो । उनले सोचें, विदेश गए पनि फेरि फर्केर आउने गाउँमै हो ।
‘यहाँ आएपछि यही खेती गर्नुपर्छ भने मैले किन विदेश जाने भन्ने लाग्यो,’ उनी भन्छन् । त्यसपछि विदेश जाने योजना रोकेर गाउँमै सम्भावना देखे स्याउखेतीको । ‘बरु विदेशबाट फर्केर आउँदासम्म यही खेतीलाई व्यावसायिक बनाइसक्छु भन्ने सोच आयो । अहिले सामान्य खर्च जुटे पनि भविष्यमा राम्रै आम्दानी हुन्छ भन्ने दृढ इच्छाशक्तिका साथ लागेँ,’ उज्ज्वलले भने । अहिले उनको त्यो निर्णयको परिणाम विस्तारै देखिन थालेको छ । ‘साहारा कृषि फार्म’ दर्ता गरेर स्याउखेती गरिरहेका उज्ज्वल एक्ला छैनन् ।
उनका दाजु पुरबहादुर रावतसहित परिवारका सदस्यले उनलाई सहयोग गर्नुभएको छ । कृषिमा भविष्य नदेखेर गाउँका धेरै युवा वैदेशिक रोजगारी वा अन्य अवसर खोज्दै बाहिर गएका बेला उज्ज्वल भने आफ्नै गाउँको माटोमा सम्भावना खोजिरहेका छन् । उनको बगैँचा अहिले निजी फार्म मात्र नभएर गाउँका अन्य किसानका लागि व्यावसायिक कृषिबाट मनग्गै आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्न थालेको छ । उज्ज्वलको सोच स्पष्ट छ—आफ्नै जमिन, आफ्नै श्रम र आफ्नै उत्पादनबाट राम्रो आम्दानी गर्ने ।
६०० बोट, वार्षिक सात–आठ लाख आम्दानी
साहारा कृषि फार्मका व्यवस्थापक उज्ज्वलको बगैँचामा अहिले करिब ६०० स्याउका बोट छन् । तीन हेक्टर क्षेत्रफलमा स्थानीय जातसँगै रोयल डेलिसेस, रेड डेलिसेस, गोल्डेन डेलिसेस, गाला, फुजी लगायत जातका स्याउखेती गरिएको छ । उज्ज्वलले स्याउ बिक्रीबाट खर्च कटाएर वार्षिक रु आठ लाखसम्म आम्दानी गरेका छन् । गत वर्ष उनले १८० क्वीन्टल स्याउ बिक्री गरेका थिए । यस वर्ष उत्पादन बढेको छ । बजारसम्म सबै उत्पादन पुर्याउन सके करिब ३०० क्वीन्टल स्याउ बिक्री हुने उनको अनुमान छ ।
‘उत्पादन बढ्दै गएको छ । अब राम्रो बजार खोज्ने, गुणस्तरीय उत्पादन गर्ने र आफ्नै ब्रान्ड बनाएर बजारमा लैजाने योजना छ,’ उनले भने । पर्याप्त लगानी, नियमित मेहनत र बजार व्यवस्थापन गर्न सके गाउँमै बसेर परिवारको सपना पूरा गर्न विदेशका मरभूमि धाउन नपर्ने उदाहरण हुन्, उज्ज्वल । बगैँचामा फल पाकेका हेर्दा उज्ज्वलको अनुहारमा देखिने खुसीमा वर्षौँको सङ्घर्षको कथा पढ्न सकिन्छ । परम्परागत खेतीबाट हुने आम्दानी सीमित हुने अवस्थामा व्यावसायिक खेतीले परिवारको आयआर्जनमा ठूलो योगदान पुर्याउन सक्ने उनको विश्वास छ ।
अब उज्ज्वलको सपना बगैँचाभन्दा बाहिर
कुनै समय विदेश जाने तयारीमा रहेका उज्ज्वल अहिले आफ्नै बगैँचामा भविष्य खोजिरहेका छन् । जापान जाने सपना रोकिएपछि उनले बाजुराको माटोमै सम्भावना देखे । त्यही सम्भावनालाई मेहनत, लगानी र धैर्यले विस्तार गर्दै लगेँ । आज उनका हजारौँ स्याउका बोटमा फल लाग्दा त्यो एउटा किसानको उत्पादन मात्र रहेन ।
मेहनतले सम्भावनालाई परिणाममा बदल्न सक्छ ! भन्ने उदाहरण पनि बनेको छ । उज्ज्वलको सपना अब आफ्नै बगैँचामा सीमित छैन । उहाँ चाहानुहुन्छ बाजुराको स्याउले देशका ठूला बजारमा पहिचान बनाओस्, किसानले आफ्नो उत्पादनको उचित मूल्य पाऊन् र गाउँमै बसेर भविष्य देख्न सकून् ।
उत्पादन बढ्यो, तर बजारसम्म पुर्याउने बाटो छैन
उज्ज्वलको बगैँचामा उत्पादन बढ्दै गएको छ । तर उत्पादन बढेसँगै उनको चिन्ता पनि थपिएको छ । कसरी बजारसम्म स्याउ पुर्याउने ? पाण्डुसैनमा उत्पादित स्याउको मुख्य बजार सदरमुकाम मार्तडीसँगै धनगढी, नेपालगन्ज, काठमाडौँ लगायतका सहर हुन् । तर बजारसम्म स्याउ पुर्याउन हरेक वर्ष यातायातको समस्या बाधक बन्छ । पाण्डुसैनबाट सदरमुकाम मार्तडी जोड्ने मार्तडी–कोल्टी सडक वर्षायाममा अवरुद्ध हुने गर्छ ।
दुर्भाग्यवश, यही समय स्याउ पाक्ने मुख्य सिजन पनि हो । सडक अवरुद्ध हुँदा कतिपय ठाउँमा गाडीबाट र कतिपय ठाउँमा पिठ्युँमै बोकेर दाना सदरमुकामसम्म पुर्याउनुपर्ने बाध्यता छ । ‘स्याउको बजार राम्रै छ । तर अहिले वर्षाका कारण सडक अवरुद्ध छ । सडक खुल्ने भनेको असोज मसान्ततिर मात्रै हो । त्यति बेलासम्म आधाभन्दा बढी दाना झरेर चरा र अरिङ्गालले खाइसकेका हुन्छन्,’ उज्ज्वल भन्छन् ।
उनका अनुसार बजारसम्म करिब ४० प्रतिशत मात्रै दाना पुर्याउन सकिएको छ । ‘करिब ६० प्रतिशत दाना बारीमै खेर जान्छ,’ उनले भने । उत्पादन बढ्दै गए पनि भण्डारणको सुविधा नहुँदा किसान थप समस्यामा छन् । सडक बन्द भएका बेला स्याउ सुरक्षित राख्न सके मर्का पर्दैन । बाजुरावासीका लागि पाण्डुसैनमा चिस्यानयुक्त भण्डारण अर्थात कोल्ड स्टोरको निर्माण हुन सके बरदान हुने थियो ।
‘अहिले बाटो सुचारु नभए पनि एउटा कोल्ड स्टोर भएको भए स्याउ त्यहीँ राख्न सकिन्थ्यो । त्यो पनि छैन । त्यसैले दाना बारीमै झरेर कुहिने अवस्था आउँछ,’ उज्ज्वलले भने । बाजुरामा स्याउ उत्पादन बढ्दै गएसँगै उचित मूल्य, भण्डारण, प्याकेजिङ र ढुवानीको व्यवस्था किसानका लागि प्रमुख चुनौती बन्दै गएको छ ।
‘बाजुराको स्याउले सिङ्गो सुदूरपश्चिम धान्न सक्छ’
बाजुराको स्याउमा रहेको सम्भावनालाई प्रदेशस्तरमै ठूलो सम्भावनाका रूपमा हेरिएको छ । सुदूरपश्चिम प्रदेशसभा सदस्य नरेश शाहीले बाजुराको स्याउले सिङ्गो सुदूरपश्चिमको माग धान्न सक्ने बताएका छन् । पाण्डुसैनस्थित साहारा स्याउ बगैँचाको अवलोकन गर्दै उनले बाजुराको स्याउलाई व्यवस्थित बजार र प्रवर्द्धन गर्न सके ठूलो आर्थिक सम्भावना रहेको बताए ।
‘सुदूरपश्चिमका लागि बाजुराको स्याउले धान्ने खालको देखियो । प्रदेशको कृषि मन्त्रालयको रिपोर्टले स्वामीकार्तिक खापर गाउँपालिका र बुढीनन्दा नगरपालिकाको स्याउले सिङ्गो सुदूरपश्चिम धान्न सक्छ भनेको छ । त्यसलाई बजार व्यवस्था र प्रवद्र्धन गर्न सक्नुपर्छ,’ शाहीले भने । उनका अनुसार स्वामीकार्तिक खापर र बुढीनन्दासँगै जगन्नाथ, हिमाली लगायतका पालिकाका लेकाली क्षेत्रमा पनि स्याउको प्रचुर सम्भावना छ ।
‘अहिले मुख्य चुनौती यातायातको हो । यसको दीर्घकालीन समाधानका लागि हामी लागिरहेका छौँ,’ उनले भने । बाजुरामा स्याउको ‘हब’ बनाउन सकिने सम्भावना रहेको शाहीको भनाइ छ । ‘हामीले नयाँ कुनै अनुसन्धान गर्नुपर्ने वा नयाँ सम्भावना खोज्नुपर्ने अवस्था छैन । सम्भावना यहीँ देखिएको छ,’ उनले भने । प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले पनि बाजुरामा स्याउखेतीको ठूलो सम्भावना रहेको बताए ।
उनका अनुसार उत्पादन बढ्दै गए पनि सडक पूर्वाधारको अभावले किसानले समस्या भोगिरहेका छन् । मार्तडी–कोल्टी सडकअन्तर्गत बाउली र रजातोली खोलामा पुल नहुँदा वर्षायाममा सडक अवरुद्ध हुने गरेको उनले बताए । कृषि ज्ञान केन्द्र बाजुराका अनुसार बुढीनन्दा नगरपालिका, जगन्नाथ, स्वामीकार्तिक खापर र हिमाली गाउँपालिकाका विभिन्न स्थानका करिब ३७५ हेक्टर क्षेत्रफलमा स्याउखेती हँुदै आएको छ ।
जिल्लामा गत वर्ष एक हजार २२ मेट्रिकटन स्याउ उत्पादन भएको थियो । यस वर्ष स्याउ ढुवानीका लागि अनुदान कार्यक्रम राखिएको भए पनि स्याउ पाक्दासम्म प्रदेश सरकारको बजेट पारित नहुँदा समस्या भएको कृषि ज्ञान केन्द्रका प्रमुख हरिशबहादुर विष्टले जानकारी दिए ।

