२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

मनसुनमा जाग्ने ढोरपाटन, ‘अफसिजन’मा पदयात्रा

राम थापाराम थापा । बागलुङ । २०८३ असार १४ गते आइतबार
नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने ढोरपाटन उपत्यका र बिच भागबाट बगेको उत्तरगङ्गा नदी । बर्खा सुरु भएपछि ढोरपाटन उपत्यका निकै रमणीय देखिएको छ । तस्वीर : डम्मर बुढामगर । रासस

वर्षायामलाई पर्यटनको ‘अफसिजन’ मान्ने धारणा पर्यटन व्यवसायीहरुमा छ । मनसुन सुरु भएसँगै देशका अधिकांश पर्यटकीय गन्तव्यको चहलपहल घट्न थाल्छ । तर, बागलुङको ढोरपाटनमा भने यही मौसम पर्यटकीय गतिविधिको अर्को याम प्रारम्भ हुन्छ । हरियालीले ढाकिएका विशाल पाटन । कुहिरोले छोपिएका बुकी, रङ्गीचङ्गी भुइँफूल र गोठसम्म पुग्ने पदमार्गले । मनसुनमा पदयात्राको छुट्टै आकर्षण सिर्जना हुन्छ ।

अन्य गन्तव्यमा पर्यटकको चहलपहल घटिरहेका बेला ढोरपाटनमा भने प्रकृतिसँग रमाउन आउने पदयात्रीको आगमन बढ्न थालेको छ । ढोरपाटनको चर्चा अहिले मनसुनी पदयात्रामा मात्र सीमित छैन । दशकौँदेखि सिकार पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा परिचित यो हिमाली उपत्यकालाई अब प्रकृति, पदयात्रा, जैविक विविधता, संस्कृति र स्थानीय समुदायमा आधारित दिगो पर्यटनको गन्तव्यका रूपमा विकास गर्नुपर्ने बहस बलियो बन्दै गएको छ ।

यही बहसलाई केन्द्रमा राखेर हालै आयोजित ‘ढोरपाटन समिट’मा नीति निर्माता, पर्यटन व्यवसायी, संरक्षणकर्मी र स्थानीय समुदायका प्रतिनिधिले ढोरपाटनको पर्यटनको भावी दिशाबारे गम्भीर छलफल गरे । ढोरपाटनको भविष्य केवल सिकार पर्यटनमा सीमित रहनु हुँदैन । यसको मौलिक प्राकृतिक सम्पदा, सांस्कृतिक विशेषता र समुदायमा आधारित पर्यटनलाई केन्द्रमा राखेर दीर्घकालीन विकासको मार्ग तय गर्नुपर्ने बहसको साझा निष्कर्ष पनि थियो आवश्यकता सबै वक्ताले औँल्याए ।

ट्रेकिङ एजेन्टस् एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले ढोरपाटन नेपालको सबैभन्दा सम्भावनायुक्त तर अपेक्षाकृत उपेक्षित पर्यटन गन्तव्यमध्ये एक भएको दुखेसो गरे ‘राज्यको ध्यान नपुग्दा यहाँका मनोरमस्थल ओझेलमा परेका छ ।’ अन्नपूर्ण चक्रीय पदमार्ग लगायत कतिपय स्थापित पदमार्ग सडक विस्तारसँगै छोटिँदै र प्रभावित हुँदै छन् । त्यसको विकल्पका रूपमा ढोरपाटनलाई विकास गर्न सकिने उनले बताए ।

विश्वको आठौँ अग्लो हिमाल धवलागिरिको नजिकका म्याग्दीको मुना, गुर्जा, जलजला, ढोरपाटन डोल्पासम्म जोडिने व्यवस्थित पदमार्ग निर्माण गर्न सके देश–विदेशका पदयात्री आकर्षित गर्न सकिने उनको ठम्याइ छ । ‘ढोरपाटनजस्ता पर्याप्त प्रचार नपाएका गन्तव्यको पहिचान र विकासमा सबै पक्षको ध्यान जान जरुरी छ,’ उनले भने, ‘गुणस्तरीय पर्यटनका लागि पूर्वाधार, सेवासुविधा, सुरक्षा र आतिथि संस्कारको समानान्तर विकास अपरिहार्य छ ।’ स्थानीयले पर्यटनबाट प्रत्यक्ष आम्दानी र रोजगारीको अवसर प्राप्त नगरेसम्म पर्यटन दीर्घकालीन रूपमा टिकाउ हुँदैन ।

‘पर्यटक आउनुमात्रै पर्याप्त हुँदैन । पर्यटनबाट स्थानीयको जीवनस्तरमा सकारात्मक परिवर्तन हुनुपर्छ । स्थानीय समुदाय लाभान्वित भए मात्र पर्यटन दिगो बन्छ ।’ ढोरपाटनको पहिचान लामो समयदेखि सिकार पर्यटनसँग जोडिएको छ । विदेशी पेशेवर सिकारीले नाउर र झारलको वैधानिक सिकार खेल्ने एकमात्र गन्तव्य हो । यसले अन्तरराष्ट्रिय परिचय बनाएको छ । पर्यटन क्षेत्रका जानकारहरू अब यही परिचयमा सीमित रहन नहुने धारणा राख्छन् । उनीहरू ढोरपाटनको सबैभन्दा ठूलो शक्ति यसको अनुपम प्राकृतिक सौन्दर्य, जैविक विविधता, पदयात्रा, मौलिक संस्कृति र स्थानीय जीवनशैलीमा निहित छ ।

पत्रकार अमृत भादगाउँले ढोरपाटनको पर्यटन विकासलाई सिकार गतिविधिभन्दा धेरै फराकिलो दृष्टिकोणबाट हेर्नुपर्ने बताउँछन् । उनका अनुसार विश्वव्यापी रूपमा पशु कल्याण र जैविक विविधताको संरक्षणप्रति चासो बढिरहेका बेला ढोरपाटनले पनि आफ्नो दीर्घकालीन पर्यटन रणनीतिबारे पुनर्विचार गर्न आवश्यक छ । विश्वका विभिन्न देशमा पशु कल्याणको बहस बढिरहेको छ । वन्यजन्तुमाथि हुने हिंसाप्रति संवेदनशीलता पनि विस्तार हुँदै गएको छ । ढोरपाटनमा वैधानिक सिकार अहिले भइरहे पनि भविष्यमा यही पर्यटनको मुख्य आधार रहिरहन्छ भन्ने निश्चित हुँदैन ।

त्यसैले पर्यटकलाई वन्यजन्तु सिकार गर्न होइन, तिनलाई प्राकृतिक वासस्थानमै अवलोकन गर्न आकर्षित गर्नुपर्छ । प्रकृति, संस्कृति, पर्यावरण र जैविक विविधताको समन्वय नै ढोरपाटनको वास्तविक पर्यटन सम्पत्ति हो । प्राकृतिक स्रोतको संरक्षण गर्दै पर्यटन विकास गर्ने रणनीतिले मात्र यस क्षेत्रलाई दीर्घकालीन रूपमा लाभ पुग्छ । पर्यटकको बसाइ अवधि लम्ब्याउने कार्यक्रम, नयाँ पदमार्ग, प्रकृतिमा आधारित गतिविधि र स्थानीय संस्कृतिसँग जोडिएका अनुभव विकास गर्न सके ढोरपाटनको आर्थिक लाभसमेत उल्लेखनीय रूपमा बढ्न सक्ने पत्रकार भादगाउँले थपे ।

एकल पदयात्री सिर्जना सिज्जुले पनि ढोरपाटनको मौलिकता नै यसको सबैभन्दा ठूलो शक्ति भएको बताइन् । नेपालको अन्य कुनै पनि गन्तव्यसँग तुलना गर्न नसकिने भू–बनोट, खुला पाटन र प्राकृतिक परिदृश्यले ढोरपाटनलाई विशिष्ट बनाएको छ । ‘ढोरपाटनजस्तो भू–बनोट नेपालमा अन्त कतै भेटिँदैन,’ उनले भने, ‘त्यसैले यहाँ विकास र संरक्षणबीचको सन्तुलन कायम राख्नु सबैभन्दा ठूलो चुनौती हो ।’ ढोरपाटनलाई योग, ध्यान, प्रकृतिमा आधारित विश्राम (नेचर रिट्रिट) तथा आध्यात्मिक पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न सकिन्छ ।

बढ्दो भीडभन्दा गुणस्तरीय र वातावरणमैत्री पर्यटनमा जोड दिनुपर्नेछ । ढोरपाटन उपत्यकामा प्रस्तावित उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाप्रति पनि पत्रकार सिज्जुले चासो व्यक्त गरिन् । आयोजना निर्माण गर्दा यस क्षेत्रको प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनामाथि पर्ने प्रभावलाई गम्भीर रूपमा मूल्याङ्कन गर्नुपर्ने उनको भनाइ थियो । उनले भनिन्, ‘मानव निर्मित संरचनाले केही समय आकर्षित गर्न सक्छ । तर प्रकृति, संस्कृति र स्थानीय आतिथ्यले पर्यटकलाई पटक–पटक फर्काएर ल्याउँछ ।’

उनका अनुसार विद्युत् उत्पादनका विकल्प खोज्न सकिएला, तर ढोरपाटनजस्तो प्राकृतिक उपत्यका एकपटक बिग्रिएपछि फेरि निर्माण गर्न सकिँदैन । ढोरपाटन उपत्यकालाई आधार शिविर (बेस क्याम्प)का रूपमा विकास गरी आसपासका पदमार्गसँग जोड्नुपर्ने देखिन्छ । मनसुनमा फक्रिने भुइँफूल र विशाल हरिया पाटनका कारण ढोरपाटनलाई ‘फूलहरूको उपत्यका’का रूपमा समेत अन्तरराष्ट्रिय बजारमा प्रवर्द्धन गर्न सकिन्छ । पर्यटन विकासको यो सम्भावना उपयोग गर्न स्थानीय समुदायमा पर्यटन सम्बन्धी सचेतना, दक्ष जनशक्ति र आवश्यक पूर्वाधारको विकास अपरिहार्य छ ।

बहससँगै विकास पनि : सडक पहुँचमा सुधार, होटल तथा घरबास

ढोरपाटनको पर्यटन सम्भावनाबारे बहस चलिरहँदा यस क्षेत्रको वर्तमान अवस्था पनि उत्साहजनक देखिन थालेको छ । पछिल्ला वर्षमा विशेष गरी आन्तरिक पर्यटकको आगमन उल्लेखनीय रूपमा बढेको छ । सडक पहुँचमा सुधार, होटल तथा घरबास (होमस्टे)को विस्तार र मनसुन पदयात्राप्रतिको बढ्दो आकर्षणले ढोरपाटनको पर्यटन गतिविधिलाई नयाँ गति दिएको छ । ढोरपाटन सिकार आरक्षका रेञ्जर सागर सुवेदीका अनुसार सिकार आरक्षले नै ढोरपाटनलाई अन्तरराष्ट्रिय स्तरमा परिचित गराएको हो ।

विदेशी सिकारीलाई आकर्षित गर्ने नेपालको एकमात्र वैधानिक सिकार क्षेत्र भएकाले यसले राज्यलाई राजस्व आर्जनमा समेत योगदान पुर्याउँदै आएको उनले बताए । सिकार पर्यटनबाट राज्यले आर्थिक लाभ लिएको छ । यसले ढोरपाटनलाई अन्तरराष्ट्रिय जगत्मा परिचित गराउन पनि महत्त्वपूर्ण भूमिका खेलेको छ । तर पछिल्ला वर्षमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या पनि उल्लेखनीय रूपमा बढ्दै गएको छ । गत वर्ष २५ हजार पर्यटकले ढोरपाटन क्षेत्रको भ्रमण गरेका थिए । तीमध्ये अधिकांश आन्तरिक पर्यटक थिए ।

पछिल्ला वर्षमा मनसुनी पदयात्राका लागि आउने विदेशी पदयात्रीको सङ्ख्या पनि क्रमशः बढ्दैछ । पर्यटकको बढ्दो आगमनसँगै स्थानीय पर्यटन पूर्वाधार पनि विस्तार भइरहेको छ । ढोरपाटन उपत्यकामा अहिले ३९ वटा होटल र घरबास सञ्चालनमा छन् । ती होटल तथा घरबासमा एक हजार ५०० पाहुनालाई आवासको प्रबन्ध गर्न सकिन्छ । आरक्ष कार्यालयले स्थानीय समुदायसँगको सहकार्यलाई संरक्षण व्यवस्थापनको आधार बनाएको छ । वन्यजन्तु र प्राकृतिक सम्पदाको संरक्षणसँगै पर्यटन गतिविधिलाई अघि बढाउने नीति अवलम्बन गरिएको छ ।

पछिल्ला वर्षमा ढोरपाटन पुग्ने सडक क्रमशः स्तरोन्नति हुँदै जाँदा यात्रा सहज बनेको छ । त्यससँगै सुविधायुक्त होटल, रेष्टुराँ र पर्यटकमैत्री सेवाको विस्तारले पनि पर्यटकको बसाइ अवधि बढाउन सहयोग पुगेको स्थानीय पर्यटन व्यवसायीहरू बताउँछन । हाल ढोरपाटनको पर्यटन सङ्क्रमणकालबाट गुज्रिरहेको छ । एकातिर सिकार पर्यटनले दिएको अन्तरराष्ट्रिय पहिचान छ भने अर्कोतिर प्रकृति, पदयात्रा र समुदायमा आधारित नयाँ पर्यटन सम्भावना विस्तार हुँदै गएको छ । यही परिवर्तनलाई कसरी व्यवस्थापन गर्ने भन्ने प्रश्न नै ढोरपाटनको भविष्यसँग जोडिएको छ ।

प्रकाशित मिति : २०८३ असार १४ गते आइतबार