२०८२ फागुन ५ , मंगलबार 17, February 2026, Tuesday
विकासमा खोक्रा दावी

पूर्वमन्त्री मोहम्मद ईश्तियाक राईको आकासे पुल ‘स्टन्ट’ शिलान्यासमै अलपत्र

२०७९ भदौ ४ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले शिलान्यास गरेको आकाशे पुल निर्माणको काम चार वर्षसम्म अलपत्र हुँदा नेपालगन्जबासीको सपना धूलिसात् भएको छ । राँझा चोकमा सिमेन्टको एउटा खम्बा मात्रै ठडिएको छ ।
सत्यपाटीसत्यपाटी । बाँके । २०८२ फागुन ५ गते मंगलबार

२०७९ भदौ ४ गते नेपालगन्जस्थित राँझामा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद ईश्तियाक राईले आकासे पुलको शिलान्यास गरे । तयारी बिनै चर्चामा आउनकै लागि राईले शिलान्यास गरेको आकासे पुल अलपत्र परेको छ । ‘पुल शिलान्यासमै सिमित छ,’ राझाँका एक जना व्यवसायीले भने, ‘विकासे नारा दिएर अहिले फेरि राई चुनाव लड्दैछन् । अब जनताले उधारो गफ पत्याउनेवाला छैनन् ।’

तयारी बिनै शिलान्यस गरिएको आयोजना कसरी अघि बढ्छ ? उनले प्रश्न गरे । आफूले आयोजना बनाउन लागेको देखाउनका लागि जबरजस्त अध्ययन विनै शिलान्यास गर्न हतार गर्दा आयोजना शिलान्यासमै हराएको छ । तयारी बिनै विकासप्रेमी बन्न राईले गरेको ‘स्टन्ट’ शिलान्यासमै अलपत्र परेको स्थानीयहरु बताउँछन् । आयोजनाको विस्तृत अध्ययन नै नगरी ‘स्टन्ट’ र ‘सनक’का भरमा आयोजना छनोट गर्दा आकासे पुलको आयोजना अलपत्र परेको हो ।

‘राजनीतिक लाभ लिन आकासे पुलको शिलान्यास गरेका पूर्वमन्त्री राईले आफूलाई विकासप्रेमी नेता बन्न ‘स्टन्ट’ मात्रै गरेकाले आयोजना अलपत्र परेको हो,’ नेपालगन्ज–२० का एक जना जनप्रतिनिधिले भने, ‘त्यतिबेला सबै ‘स्टन्ट’ मात्रै थियो, अहिले पनि पूर्वमन्त्री राईले चुनावी प्रचारमा फेरि विकासकै एजेण्डा बनाउँदा राँझा चोकमा आकासे पुलको शिलान्यास गरिएको स्तम्भले उनैलाई नै गिज्याइरहेको छ ।’

पूर्वमन्त्री राईले अहिले पनि आफ्नो जितको आधार विकास नै रहेको दावी गर्छन् । यद्यपी उनले ‘स्टन्ट’का लागि शिलान्यास गरेका धेरै आयोजनाहरु अलपत्र अवस्थामा छन् । आकासे पुलको शिलान्यासका क्रममा पूर्वमन्त्री राईले नेपालगन्जको गणेशमान चोक, धम्बोझी चोक, कारकाँदो चोक तथा कोहलपुरको न्यूरोड चोक र त्रिभुवन नमुना उच्च माविको अगाडि आकासे पुल निर्माण गरिने बताएका थिए । तर ती सबै राँझाचोककै शिलान्यास सिमित भए ।

नेपालगन्जको राँझा चोकमा आकाशे पुल बनाउन गरिएको शिलान्यास ।

एक ठाउँमा शिलान्यास हुनेबाहेक अरु प्रगति शून्य छ । नेपालगन्जवासीको आकासे पुल सपना अधुरै रहने निश्चित देखिन्छ । हतारमा शिलान्यास गरेपछि माटो परीक्षणको कामसमेत भयो । तर त्यसयता निमार्णको कुनै काम अघि बढ्न सकेको छैन । जनता सवाजवादी पार्टीको कारबाहीमा परेर नेकपा एमालेको चुनाव चिन्ह ‘सूर्य’ लिएर बाँके–२ मा ‘भाडावाल’ उम्मेदवारका रुपमा चर्चित पूर्वमन्त्री राईले आफूलाई विकासप्रेमी उम्मेदवारका रुपमा निर्वाचन जित्ने दावी गरिरहेका छन् ।

त्यसो त पूर्वमन्त्री राईले २०७९ मंसीरमा हुने निर्वाचनलाई प्रभावित गर्ने उद्देश्यले कुनै परिपक्व डिजाइनबिनै राँझा चोकमा आकासे पुलको शिलान्यास गरेका थिए । शिलान्यास भएपछि तत्कालीन अवस्थाको डिजाइनलाई सच्याउन सडक डिभिजन कार्यालय नेपालगन्जले सडक विभागमा पत्र लेखेको छ । ‘रिभ्यु’का लागि पठाएको पत्र स्वीकृत वा अस्वीकृत भयो भन्ने एकिन नहुँदासम्म काम सुरु नहुने निश्चित प्रायः छ ।

आकासे पुलको तत्कालीन डिजाइन रिभ्यु गर्नुपर्ने अवस्था आउनु भनेकै शिलान्यास हतारका भरमा गरिएको थियो भन्ने पुष्टि हुन्छ । डायनामिक कन्सट्रक्सन निर्माण कम्पनीसँग २०७९ कात्तिक २८ सम्झौता भएपश्चात कम्पनीले सबैभन्दा पहिले राँझा चोकमै आकासे पुल निर्माणका लागि काम सुरु गरेको थियो । जबकी शिलान्यास भदौ ४ गते नै गरिएको थियो । आकासे पुल निर्माण गर्नका लागि खनिएको खाल्डो राँझा चोकमा अहिले धरापमा परिणत भएको छ ।

सडक छेउमै खनिएको खाल्डोमा न काम सुरु भयो, नत पुर्ने काम भएको छ । त्यसले सवारी दुर्घटनाको जोखिम बढाएको छ । राँझामा हालकै अवस्थामा पुल बनाउँदा पूर्वछेउमा सिक्टा सिँचाइको डुडुवा नालामा पर्छ । उक्त नालाको उचाइ र लम्बाइ बढाउनुपर्ने आवश्यकता छ । तर सबै अध्ययन नगरेर निर्माण कम्पनीसँग पाँच वटा आकासे पुल १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी कात्तिक २८ गते सम्झौता गरिएको थियो । पुलहरु निर्माण गर्नका लागि करसहित आठ करोड २१ लाख ४५ हजार रुपैयाँमा लागतको सम्झौता भएको थियो ।

आकासे पुल निर्माणका लागि राँझा चोकमा खनिएको खाडल ।

नेपालगन्जमा २०७५ सालदेखि नै आकासे पुल निर्माणको चर्चा चलेको थियो । आकासे पुल बनेपछि पैदलयात्रीलाई धेरै सहज हुने र दुर्घटनामा कमी आउने विश्वास गरिएको थियो । नेपालगन्जमा पाँच स्थानमा आकाशे पुल बनाउन करिब चार वर्षअघि शिलान्यास गरिए पनि पर्याप्त अध्ययन नगरिँदा र प्राविधिक त्रुटिका कारण योजना अलपत्र परेको छ । तीन वर्षअघि नेपालगन्ज र कोहलपुरका पाँच स्थानमा आकाशे पुल निर्माण गर्ने योजनासहित ठूलै तामझामका साथ पूर्वमन्त्री राईले राँझा चोकमा शिलान्यास गरेका थिए ।

२०७९ भदौ ४ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले पुलको शिलान्यास गरेका थिए । शिलान्यासको दिन वक्ताहरूले आकाशे पुल बनेपछि पैदल यात्रुलाई सहज हुने, शहरको रूप फेरिने र संघीय राजधानी काठमाडौं जस्तै पूर्वाधारयुक्त हुने भन्दै भाषण गरेका थिए । जसबाट नेपालगन्जवासी उत्साहित देखिएका थिए । चार वर्ष बितिसक्दा पनि आकाशे पुल निर्माणको काम अलपत्र हुँदा त्यो उत्साह धूलिसात् भएको छ । राँझा चोकमा सिमेन्टको एउटा खम्बा मात्रै ठडिएको छ ।

पूर्व अध्ययनको कमी, प्राविधिक त्रुटि र विकासप्रेमी नेता बन्नका लागि पूर्वमन्त्री राईको ‘स्टन्ट’का कारण योजनाको यो हविगत भएको हो । यसभन्दा पहिला डा.धवलशमशेर राणा नेपालगन्जको मेयर हुँदा २०७५ मा पनि धम्बोझीमा आकासे पुल बनाउने भनिएको थियो । जसका लागि नगरले एक करोड रुपैयाँसमेत विनियोजन गरेको थियो । आकाशे पुल निर्माण गर्न २०७९ कात्तिक २८ मा सडक डिभिजन नेपालगन्ज र डायनामिक कन्स्ट्रक्शन कम्पनीसँग सम्झौता भयो । १५ महीनामा काम सम्पन्न गर्नेगरी रु.आठ करोड २१ लाख ४५ हजारमा ठेक्का लागेको थियो ।

सोही वर्ष संघीय सरकारले नेपालगन्जमा आकाशे पुल निर्माण र ट्राफिक लाइट जडानका लागि रु. तीन करोड ९५ लाख विनियोजन गरेको थियो । तर त्यस वर्ष आकाशे पुल निर्माणको काम अघि नबढेरै बजेट ‘फ्रिज’ भयो । आर्थिक वर्ष २०८०–०८१ मा आकाशे पुलका लागि बजेट छुट्याइएन । आव २०८१–०८२ मा रु. तीन करोड ३२ लाख ५७ हजार विनियोजन भयो । ट्राफिक लाइटको काम सम्पन्न भए पनि आकाशे पुलको काम अलपत्र हुनु तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद ईश्तियाक राई नै दोषी रहेको स्थानीयहरु बताउँछन् । एक जना स्थानीयले भने, ‘पर्याप्त अध्ययन गरेर शिलान्यास गरेको भए आयोजना अलपत्र नै हुने थिएन ।’

नेपालगन्जको राँझा चोकमा आकाशे पुल बनाउन गरिएको शिलान्यास ।

नेपालगन्ज नगरमा सुरक्षित पैदलयात्रासँगै ट्राफिक व्यवस्थापनका लागि पनि आकाशे पुल आवश्यक छन् । आयोजना अघि बढाएर कार्यान्वयनमा लैजाने गम्भीरताभन्दा पनि पूर्वमन्त्री राईको विकासप्रेमी नेता बन्ने ‘सनक’ले आयोजना अलपत्र परेको देखिन्छ । नेपालगन्जको गणेशमान चोक, धम्बोझी चोक, कारकाँदो चोक, कोहलपुरको न्यूरोड चोक र त्रिभुवन नमूना उच्च माविको अगाडि गरी पाँच ठाउँमा आकाशे पुल निर्माण गर्ने योजना थियो ।

सबै ठाउँमा एउटै ढाँचाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरियो । जबकि पाँच स्थानको भौगोलिक बनावट, सडकको चौडाइ र सवारी चाप फरक फरक थिए । यी विविधतामा ध्यान नदिइँदा योजना व्यावहारिक बन्न सकेन । कतिपय ठाउँमा आकाशे पुलको सिंढी ( र्‍याम्प) बनाउन चाहिने जग्गा नै थिएन । सडक डिभिजन कार्यालय, नेपालगन्जका अनुसार पर्याप्त अध्ययन नगरेरै र ठेक्का सम्झौता नै नभई हतारमा आकाशे पुलको शिलान्यास गरिएको थियो ।

शिलान्यास गरेपछि बल्ल माटो परीक्षण शुरू भएको थियो । राजनीतिक रूपमा जस लिने हतारोका कारण पर्याप्त अध्ययन र पूर्व तयारी नगरी योजना सार्वजनिक र शिलान्यास गरिएको स्थानीयहरु बताउँछन् । पर्याप्त अध्ययन नगरी आयोजना अघि बढाइएकाले आकाशे पुल निर्माणमा समस्या देखिएको हो । राँझाका एक जना व्यवसायी भन्छन्, ‘आकाशे पुलको विषयमा अध्ययन र विज्ञहरूसँग परामर्श नगरी योजना अघि बढाइँदा यो अलपत्र परेको हो ।’

पूर्व अध्ययन, विज्ञको सुझाव र जनसरोकारमा आधारित नभई योजना अघि बढाइँदा नेपालगन्जका पूर्वाधार विकासमा समस्या आउने गरेको छ । पूर्वाधार निर्माणमा योजना, अध्ययन र समन्वयको अभावले गर्दा हामीले आकाशे पुल मात्र होइन, चक्रपथ लगायत महत्त्वपूर्ण पूर्वाधार पनि गुमाइरहेको छ । आकाशे पुलकै शुरूको डिजाइनमा त्रुटि देखिएको थियो । डिजाइन सुधार्न सडक डिभिजन कार्यालय, नेपालगन्जले सडक विभागलाई पत्र लेख्नुपर्ने अवस्था आएको थियो ।

यी विविध समस्याका कारण ठेकेदार कम्पनीसँग २०८२ वैशाख ११ गते ठेक्का रद्द गरिएको थियो । ‘फेरि विकास गरेको भन्दै भोट माग्दा कसले पत्याउँछ ?’ नेपालगन्ज–२ का उमेश बन्जाराले बताए । उनले भने, ‘पूर्वाधार आयोजना केवल राजनीतिक लडह र निर्णयले होइन, प्राविधिक अध्ययनले निर्देशित हुनुपर्छ । आकासे पुल राजनीति लडह र पूर्वमन्त्रीको ‘स्टन्ट’ मात्रै भएकाले आयोजना अघि बढ्न सकेन । आयोजना छनोटलाई राजनीतिक ‘स्टन्ट’ नबनाएको भए सायद पुल बन्ने थिए होला । आफूलाई विकासप्रेमी भन्दै अहिले फेरि भोट माग्नु लज्जा मात्रै हो ।’

आयोजना अघि नबढ्नुमा पूर्वमन्त्री राई मुख्य दोषी रहेको नेपालगन्जबासीहरु बताउँछन् । आयोजना निर्माण प्रस्तावको प्रक्रिया राजनीतिक तहबाट तय गर्ने चलन छ, जबकि कुन ठाउँमा कस्तो पूर्वाधार उपयुक्त हुन्छ भन्ने निर्धारण त विज्ञ र प्राविधिक टोलीले गर्नुपर्ने पूर्वमन्त्रीको सनक र स्टन्टले आकासे पुलको सपना ‘आकासको फल आँखा तरी मर’ भनेजस्तै भयो । पूर्वाधार निर्माणअघि गहिरो वैज्ञानिक अध्ययन गरिनुपर्नेमा पूर्व मूल्यांकन र स्थलगत अध्ययन विना बनाइने डीपीआर कागजमा सीमित हुने र त्यसले गर्दा करोडौं लगानी सहितको आयोजना शिलान्यासमै तुहिएको छ ।

प्रकाशित मिति : २०८२ फागुन ५ गते मंगलबार