सूचनाको शक्ति - The Power Of Information

        

चीनमा राँगाभैँसीको मासु निर्यात, के छ तयारी ?

सरकारले मासु निर्यात गर्न नीतिगत पहल गरिरहेको छ । जसअनुसार मासु प्रमाणीकरणका लागि मासु निर्यात गर्न चाहने व्यवसायीसँग छलफल भइरहेको पशुसेवा विभागले जनाएको छ । विभागका उपमहानिर्देशक डा.लेखराज दाहालले भारतमा मासु निर्यातका लागि प्रमाणीकरणको पहल भइरहेको बताएका छन् ।

‘चिनियाँ कम्पनीसँग नेपाली कम्पनीले सम्झौता गरेका छन्, उनीहरूले प्रशोधन उद्योग सञ्चालन गर्न खोजिरहेका छन्,’ उनले भने । उनका अनुसार तीनदेखि चार वटा कम्पनी मासु निर्यातका लागि आइसकेका छन् । प्रशोधन उद्योगहरू खोल्न खोज्दै छन् । बागमती प्रदेशको सिन्धुली जिल्लाको मरिन गाउँपालिकामा ५० बिगाहा जमिन पशु बाधशाला बनाउने प्रक्रियामा रहेको दाहालले बताए ।

‘अर्को कम्पनी बारामा दुई बिगाहा जमिनमा, काभ्रेको पाँचखालामा मासु प्रशोधन केन्द्र बनाइरहेका छन्,’ उनले भने, ‘नेपालबाट मासु निर्यातका लागि बर्दिया जिल्लाबाट अर्को कम्पनी आएको छ । यसरी चार वटा कम्पनी पाइपलाइनमा छन् ।’ आफूले मासु निर्यातका लागि कानुनी रूपमा सहज बनाइदिने कार्य गरिरहेको उनले बताएका छन् । नेपाल खोरेत रोगमुक्त भएपछि मात्रै चीनले मासु आयात गर्ने भएको छ ।

चीनले नेपालबाट सङ्क्रमणमुक्त मासु चाहन्छ, तर नेपालले तत्कालै चीनमा रोगरहित मासु दिनसक्ने अवस्थामा भने छैन । नेपालबाट मासु निर्यात गर्न खोरेत रोगमुक्त हुनुपर्छ । तर हालसम्म यो रोगमुक्त हुन सकेको अवस्था भने छैन । नेपालबाट मासु निर्यातका लागि राज्यले सीमित क्षेत्र निर्धारण गरी खोरेत रोगमुक्त घोषणा गर्ने योजना बनाएको छ । यसका लागि कहाँ र कसरी पकेट क्षेत्र निर्धारण गर्ने भनेर पहल भइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

नेपालबाट भैँसी र राँगाको मासु अहिले पनि निर्यात भइरहेको सरकारी तथ्याङ्कले देखाउँछ । भन्सार विभागका अनुसार हङकङ, भियतनाम, अमेरिकामा नेपालबाट भैँसी र राँगाको मासु निर्यात हुँदै आएको छ । गत वर्ष १ करोड ५८ लाख ८० हजार रुपैयाँ बराबर १ लाख ४४ हजार किलो राँगा र भैँसीको मासु निर्यात भएको तथ्याङ्कमा उल्लेख छ । सो वर्ष हङकङमा ८४ हजार किलो र भियतनाममा ६० हजार किलो मासु निर्यात भएको विभागले जनाएको छ ।

यस्तै २०७८–०७९ मा १ करोड ३२ लाख ९ हजार रुपैयाँ बराबरको १ लाख ९५ हजार किलो मासु भियतनाममा निर्यात भएको छ । नेपालबाट भियतनाम लगायत मुलुकमा पुगेको मासु अन्य विभिन्न मुलुकको बजारमा बिक्री हुने सम्बद्ध अधिकारीले बताएका छन् । नेपालमा वार्षिक रूपमा औसतमा १ लाख ९० हजार मेट्रिक टन राँगा र भैँसीको मासु उत्पादन हुँदै आएको छ ।

मन्त्रालयको तथ्याङ्क अनुसार सन् २०१९–०२० मा १ लाख ८९ हजार मेट्रिक टन मासु उत्पादन भएको थियो । सन् २०२०–०२१ मा १ लाख ८८ हजार मेट्रिक टन, सन् २०२१–०२२ मा १ लाख ९४ हजार मेट्रिक टन राँगा र भैँसीको मासु उत्पादन भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार १०:०३

लोकप्रिय