काभ्रेपलाञ्चोकको मण्डन–देउपुर नगरपालिकामा कटहरका रुख सुक्न थालेपछि किसान चिन्तित भएका छन् । कटहरका लागि परिचित मण्डन क्षेत्रमा कटहरका रुख सुक्न थालेपछि किसानको आम्दानीमा असर परेको छ । चार वर्षदेखि कटहरका बोट सुक्न थालेको यहाँका किसानको भनाइ छ ।
यो अवधिमा करिब १२ सय कटहरका बोट सुकिसकेको स्थानीय ज्ञानमणि नेपालले बताए । कटहर फल्ने मण्डनदेउपुरको ज्वानेटार, जोगीटार, कान्तिटार तथा माथिल्लो भेग श्रीचौर तथा ज्याम्दी लगायतमा रहेका सयौँको सङ्ख्यामा बोट सुकिसकेका छन् । यो भेगमा तरकारी खाद्यान्नसँगै कटहरलाई आम्दानीको गतिलो स्रोत मान्ने गरेका किसान अहिले निराश छन् ।
उनले ‘किन कटहरका रुख सुक्दै, मर्दै गए भन्नेमा किसान त अनभिज्ञ छन् नै, कतैबाट सुक्नुका कारण पत्ता लागेको छैन, याममा एउटै बोटबाट १० हजारदेखि २५ हजार रुपैयाँसम्म आम्दानी हुने गरेकोमा अहिले आम्दानी शून्य जस्तै भएको छ ।’ किसान पशुपति श्रेष्ठका बारी–कान्लामा केही वर्षअघिसम्म एक दर्जनभन्दा बढी कटहरका रुख थिए ।
यसमध्ये अहिले आठ वटा कटहरका रुख सुकिसकेको उनले बताए । बर्सेनी ४० हजार रुपैयाँको कटहर बेच्दै आएका उनी अहिले कटहर बेच्नै नपाउने अवस्थामा पुगेका छन् । ‘अलिअलि फल्दैछन्, ती बाँकी बोट पनि कहिले सुक्ने हुन्, अब त रुख काटेर बाल्नुपर्ने अवस्था आउन थाल्यो,’ किसान श्रेष्ठले भने ।
एउटै बोटमा ३०० देखि ४०० वटासम्म कटहर फल्ने गरेकामा अहिले १५० वटा फल्म पनि मुस्किल हुन थालेको छ । कटहरका रुखमात्र सुक्न थालेपछि किसानहरु यसबारे अध्ययन हुनुपर्नेमा माग गर्दै आएका छन् । यो क्षेत्रमा करिब दुई हजारको हाराहारीमा कटहरका रुख छन् । यो कृषिविज्ञका लागि चुनौतीको विषय बनेको चण्डेनी–मण्डनका सामाजिक अगुवा अध्यक्ष हरिप्रसाद नेपालको बुझाइ छ ।
‘कृषि विज्ञको टोलीले अनुसन्धान गरिरहेका छन्, रुखको जरामा ढुसी परेकाले सुकेको भन्ने प्रारम्भिक प्रतिवेदन आएको सुनिएको छ,’ उनले भने । जिल्ला कृषि विकास कार्यालय धुलिखेलले गरेको अनुसन्धानले रुख कटहरको जरामै ढुसी–किराको प्रकोप देखिएको जनाएको छ । ‘यही रोग हो भनेर अझै प्रमाणित हुन भने सकेको छैन, थप अनुसन्धान हुन जरुरी देखिन्छ’, कृषि अधिकृत रमा कार्कीले भनिन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काभ्रेपलाञ्चोक