सूचनाको शक्ति - The Power Of Information

        

‘बसाइँ’ उपन्यासका लेखक लीलबहादुर क्षेत्रीको निधन

साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको गए राति गुवाहाटीमा निधन भएको हो । क्षेत्री नेपाली भाषी साहित्यकार भएता पनि उनी भारतीय नागरिक हुन् । उनी भारतको आसाम राज्य अन्तरगत गुवाहटीमा जन्मेका र त्यहीँ रहेर नेपाली साहित्यको साधनामा लागेका सर्जक हुन् ।

क्षेत्रीलाई वर्ष २०७८ मा भारत सरकारले नागरिकलाई प्रदान गर्ने चौथो उच्च सम्मान पद्मश्री पुरस्कारद्वारा सम्मानित गरेको थियो । त्यसअघि क्षेत्री भारतीय साहित्यलाई प्रदान गरिने सर्वोच्च पुरस्कार साहित्य अकादमी पुरस्कार र नेपालको मदन पुरस्कार गुठीबाट प्रदान गरिने जगदम्बाश्री पुरस्कार जस्ता पुरस्कारबाट सम्मानित भइसकेका थिए ।

लीलबहादुर क्षेत्रीलाई चर्चित बनाउने विधा उपन्यास हो । उनको ‘बसाइँ’ लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ पछि धेरै पटक प्रकाशित हुने कृतिमा पर्दछ । यो धेरै वर्ष त्रिभुवन विश्वविद्यालय र उच्च माध्यमिक शिक्षा परिषद्को पाठ्यक्रममा रहेको थियो । त्यसैगरी उनको ‘अतृप्त’ उपन्यास पनि चर्चित रहेको छ ।

क्षेत्रीलाई शिक्षा र साहित्य विधामा पद्मश्री पुरस्कार प्रदान गरिएको हो । उनको आजीविकाको क्षेत्र अध्यापन र रुचिको क्षेत्र साहित्य लेखन हो । उनले शिक्षा क्षेत्रमा लामो समय सेवा गरेका छन् । उनलाई प्रसिद्धि दिलाउने काम भने साहित्यले गरेको हो । अहिले उनका कृति अन्य भाषामा समेत अनुवाद भएका छन् ।

उनको ‘बसाइँ’ उपन्यास लन्डन विश्वविद्यालयको प्रोफेसर माइकल हटले अनुवाद गरी कोलम्बिया युनिभर्सिटी प्रेस, न्युयोर्कबाट प्रकाशित गरेका छन् । त्यसका साथै त्यस उपन्यासको अनुवाद असमिया, हिन्दी, चिनियाँ, थारू भाषामा पनि भएको छ । त्यसले क्षेत्रीलाई अन्तर्राष्ट्रिय लेखकका रूपमा उभ्याएको छ । त्यसैले उनले यो पुरस्कार पाउनुमा साहित्य लेखनको नै मुख्य भूमिका रहेको देखिन्छ ।

लीलबहादुर क्षेत्री सन् १९३३ मार्च १ मा भारतको आसामको गुवाहटीमा जन्मेका र त्यहीँ नै रहेर नेपाली साहित्यको साधनामा लागेका व्यक्ति हुन् । घरको वातावरणमा जान्नसुन्न पाएका संस्कृत मूलका साहित्य नै उनको साहित्यतर्फ अभिरुचि जगाउने प्रेरक तत्त्व हो । नेपाली, बङ्गाली, हिन्दी र अङ्ग्रेजी साहित्यको अध्ययन उनले गरेका थिए ।

अर्थशास्त्रमा स्नातकोत्तर र त्यसै विषयका प्राध्यापक भए पनि उनले नेपाली साहित्य सिर्जनामा नै योगदान दिए । आठ कक्षामा पढ्दा सन् १९४९ जनवरी १ मा ‘शिवस्तुति’ शीर्षकको कविता प्रकाशित गरेर साहित्ययात्राको औपचारिक यात्रा आरम्भ गरेका क्षेत्रीले विभिन्न विधामा कलम चलाएका थिए ।

उनका ‘बसाइँ’ (२०१४), ‘अतृप्त’ (२०२६), ‘ब्रह्मपुत्रको छेउछाउ’ (२०४३) र ‘प्रतिध्वनिहरू–विस्मृतिका’ (२०६१ उपन्यास) ‘तीन दशक बीस अभिव्यक्ति’ (सन् १९८३) र ‘लीलबहादुर क्षेत्रीका कथाहरू’ (सन् १९९७) कथासङ्ग्रह ‘दोबाटो’ (सन् १९६७) नाटक तथा विभिन्न पत्रपत्रिकामा एकाङ्की नाटक र निबन्धहरू प्रकाशित भएका थिए ।

‘बसाइँ’ सामाजिक विषयवस्तुमा आधारित उपन्यास हो । यो उपन्यास आफू केही समय आफ्नो बाबुको पुख्र्यौली थलो अर्थात् नेपालमा आएर बस्दा आफूले देखेका, सुनेका र अनुभव गरेका कुरालाई आधार बनाएर लेखेको कुरा क्षेत्रीले उल्लेख गरेका छन् । सामाजिक समस्यालाई उद्घाटन गर्नु यस उपन्यासको मूल विशेषता हो ।

आफू जन्मेहुर्केको ठाउँ छोडेर मुग्लानतर्फ बसाइँ सर्नुपर्ने समस्यालाई यस उपन्यासमा देखाइएको छ । नेपाली समाजमा व्याप्त समस्याको मूल जड शोषण हो र त्यो दुई प्रकारको छ, आर्थिक शोषण र सामाजिक शोषण । आर्थिक शोषणका कारण धने, मैना जस्ता सोझा र निमुखा व्यक्ति आफ्नो थातथलो छोडेर अनिश्चित दिशातर्फ हिँड्नुपरेको र सामाजिक वा यौन शोषणका कारण झुमा र मोटे कार्की जस्ता व्यक्ति आफ्नो गाउँठाउँ छोडेर भाग्नुपरेको कुरालाई देखाइएको छ ।

गाउँका सामन्ती वर्गको अत्याचारलाई यस उपन्यासमा यथार्थवादी ढङ्गमा देखाइएको छ । छरितो र गतिशील आख्यानरचना, ग्रामीण जीवनबाट टिपिएका पात्र, नेपाली समाजको यथार्थ प्रस्तुति, सरल र सरस भाषाशैली एवं कारुणिकता यस उपन्यासका मुख्य प्रवृत्ति हुन् । ‘बसाइँ’ उपन्यासमा प्रस्तुत घटनाको निष्कर्ष नेपालीहरू आफ्नो थातथलो छोडेर अन्त कतै हिँड्नुपरेको बाध्यता हो ।

साहुले ऋणको साँवा र ब्याज भनेर सबै सम्पत्ति हत्याएर उठीबास भएका र अर्काले दोजिया बनाएर छोडेको नारीको प्राणरक्षा गर्न र नियमकानुनबाट बच्न गाउँ छोडेर हिँड्नुपरेको घटनालाई यस उपन्यासमा प्रस्तुत गरिएको छ । उपन्यासका पात्रहरूको गन्तव्य अनिश्चित छ, त्यो पलायन हो, बसाइँ होइन । बसाइँ सर्नु भनेको एक ठाउँबाट अर्को ठाउँमा सर्नु हो, त्यसको निश्चितता हुन्छ ।

वर्तमान परिस्थितिमा नेपाली समाजमा विशेषगरी युवावर्गमा विदेशतर्फको रुचि एकदमै बढी छ । धेरैजसो गरिबी, ऋण, बेरोजगारी जस्ता समस्याले विदेश जाने गरेका भए पनि कतिपय अवसरको खोजी, अध्ययन, सुविधाजनक जीवनयापन आदिका लागि विदेशतिर लाग्नेहरू छन् । तिनीहरू पलायन भएर नफर्किने गरी गएका पनि होइनन् । निश्चय नै त्यसको बाटो ‘बसाइँ’ उपन्यासले देखाएको छ तर परिस्थिति र लक्ष्य भिन्न छ ।

लीलबहादुर क्षेत्रीका उपन्यास मूलतः सामाजिक विषयवस्तुमा आधारित छन् । ‘अतृप्त’ भने मनोवैज्ञानिक विषयवस्तु भएको उपन्यास हो । ‘बसाइँ’मा नेपालका नेपालीले भोग्नुपरेको समस्या र ‘ब्रह्मपुत्रको छेउछाउ’ र ‘प्रतिध्वनिहरू–विस्मृतिका’मा काम र मामको खोजीमा भारतका आसाम र त्यसका आसपास पुगेका नेपालीहरूले भोग्नुपरेको समस्यालाई प्रस्तुत गरिएको छ । जति काममा घोटिए पनि राम्ररी खानलाउन नपुग्ने व्यथा नेपालीहरूका लागि जहाँ पनि उस्तै हो ।

शोषण नेपालमा मात्र होइन, मुग्लानमा पनि छ । ‘ब्रह्मपुत्रको छेउछाउ’ उपन्यासले आफ्नो मुलुक छोडेर आसामको ब्रह्मपुत्र नदीको छेउछाउमा खेती र पशुपालन गर्न पुगे पनि तिनले भोग्नुपरेको प्राकृतिक विपत्ति, सङ्घर्ष र उत्पीडन उस्तै छ । ‘प्रतिध्वनिहरू–विस्मृतिका’ मा पनि काम र मामको खोजीमा आसाम पुगेका नेपालीको कथा छ । यो क्षेत्रीका बुबाले गरेको जीवनसङ्घर्षको कथामा आधारित छ अर्थात् यो जीवनीमा आधारित उपन्यास हो ।

यसले आसाम राज्यको भौगोलिक, सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक परिचय दिन्छ । ‘अतृप्त’ मानवीय मनको यथार्थको खोजी हो । सानोमा आमाको सान्निध्यमा हुर्कन नपाएको र दाजुसँग फौजी परिवेशको घेरामा रहेर हुर्किनु परेकाले पात्रमा नारीप्रतिको जुन अतृप्ति छ, त्यसको तृप्ति कुनै किसिमले पनि हुन नसकेको कुरालाई देखाइएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार ०८:५३

लोकप्रिय