सूचनाको शक्ति - The Power Of Information

        

२३ वर्षअघिको त्यो दर्दनाक घटना !

बारीको छेउमा उत्तिसको रुख पछाडि हात बाँधेर झुण्ड्याइएका हाफ स्वीटर, पाइन्ट लगाएर घुँडा टेकेको निकै कारुणिक तस्वीर सशस्त्र द्वन्द्वकालको चर्चित तस्वीर हो । जुन तस्बिरमाथि वर्षको एक पटक अवश्य चर्चा भइरहेको हुन्छ । हरेक वर्ष माघ ३ मा धेरैले सम्झने तस्बिर हो यो ।

२३ वर्षअघिको यो तस्वीर लमजुङको दुराडाँडाका स्व. मुक्तिनाथ अधिकारीको हो । २०५८ साल माघ ३ गते थियो । लमजुङको दुराडाँडास्थित पाणिनी संस्कृत विद्यालयका प्रधानाध्यापक मुक्तिनाथले कक्षा ९ मा विज्ञान पढाउँदै गरेका थिए । उनलाई दिउँसो १ः१० बजे माओवादी लमजुङ जिल्ला सदस्यसहितको टोली आएर भनेका थिए, ‘सर, दुई मिनेट काम छ ।’

मुक्तिनाथ सरलाई गाउँकै डाँडामा लगेर मकै बारी छेउमा कञ्चटमा गोली हानी मारे । त्यसपछि उत्तिसको बोटको फेदमा उनकै कपडाले बाँधेर ठड्याइदिएका थिए । चन्दा नदिएको आरोपमा लमजुङका शिक्षक एवं अधिकारकर्मी मुक्तिनाथ अधिकारीको निर्ममतापूर्वक हत्या गरिएको आज २३ वर्ष पूरा भएको छ ।

उनलाई कक्षाकोठाबाट माओवादी कार्यकर्ताले अपहरण गरी नजिकैको जंगलमा लगेर रुखमा बाँधी, छुरी प्रहार गरी टाउकोमा गोली प्रहार गरेर हत्या गरिएको अवस्थामा फेला परेका थिए । आज मुक्तिनाथ अधिकारी स्मृति प्रतिष्ठान र एम्नेस्टी इन्टरनेसनलले एक कार्यक्रममार्फत उनलाई श्रद्धाञ्जली दिइएको छ ।

मुक्तिनाथको त्यो तस्वीर २०५८ साल माघ (१६–३०) को हिमालखबर पत्रिकामा छापिएको थियो । त्यो तस्बिर खिच्ने व्यक्तिको नाम गोप्य राख्ने सर्तमा लिएको त्यो तस्बिर कसले खिचेका हुन् भन्ने अझैसम्म खुलेको छैन । १० वर्ष सम्म चलेको सशस्त्र द्वन्द्वमा राज्य पक्ष र विद्रोही पक्षबाट गरी १७ हजार जना मारिएको मौखिक तथ्याङ्क छ ।

तर, राज्यको तर्फबाट हालसम्म यकिन तथ्याङ्क छैन । २०५२ साल फागुन १ देखि तत्कालीन नेकपा माओवादीले थालेको सशस्त्र द्वन्द्व २०६३ सालमा बृहत् शान्ति प्रक्रियामा टुंगिएको थियो । तर, मुक्तिनाथ जस्तै मारिएका थुप्रै द्वन्द्वपीडित परिवारले अहिलेसम्म न्याय पाउन सकेका छैनन् ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार १९:२०

लोकप्रिय