सूचनाको शक्ति - The Power Of Information

        

कसरी चल्छ विश्वकै ठूलो पार्टी भाजपा ?

१० करोडभन्दा धेरै सदस्य रहेको भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले हालै सदस्य संख्या १५ करोड पुर्याउने लक्ष्यका साथ सदस्यता अभियान घोषणा गरेको छ । सदस्य संख्याको आधारमा विश्वको सबैभन्दा ठूलो मानिने भाजपाका अध्यक्ष जेपी नड्डाको कार्यकाल गत वर्ष एक सालका लागि लम्ब्याइएको थियो । आम चुनावको वर्ष पार्टी नेतृत्वमा स्थायित्वका लागि उनको कार्यकाल थपिएको हो । त्यसैले यो पार्टीले नयाँ नेतृत्व चयनको तयारी गरिरहेको छ ।

अहिले भाजपाले पार्टीको राज्य कमिटीहरूमा चुनाव गरिरहेको छ । त्यसपछि परम्परा अनुसार पार्टीभित्र सर्वसम्मति र राष्ट्रिय स्वयंसेवक संघको समर्थन लिएर नयाँ नेतृत्व छनोट गर्ने गर्छ । स्थापनाकालदेखि नै भाजपाले आरएसएसँग बैठक गरेर पार्टी र संघ दुवैतिर बहुमतको समर्थन प्राप्त गर्ने उम्मेदवारलाई अध्यक्ष छान्ने परम्परा छ । तर, गत लोकसभा चुनावको क्रममा नड्डाले भाजपा आफैँ चल्न सक्ने अभिव्यक्ति दिएपछि आरएसएससँग मनमुटावको स्थिति सिर्जना भएको थियो । जसका कारण चुनावी अभियानमा आरएसएसको नेतृत्व तह सहभागी भएन ।

तर, चुनावको नतिजाले भाजपालाई केन्द्रमा सरकार निर्माणका लागि गठबन्धन र राज्यका चुनावमा पुन आरएसएसको सहयोग लिन बाध्य बनायो । अगस्ट २०२४ मा रक्षामन्त्री राजनाथ सिंहको घरमा पाँच घण्टा लामो बैठक भएको थियो, जसमा नड्डा, गृहमन्त्री अमित शाह, आरएसएसको दोस्रो वरीयताका नेता दत्तात्रय होसबेले र महासचिव अरुण कुमार सहभागी थिए । आरएसएसले बलियो संगठनात्मक क्षमता भएको व्यक्तिलाई भाजपा अध्यक्षमा प्राथमिकता दिनेछ । जबकि भाजपाको प्राथमिकतामा त्यस्ता नेता पर्छन्, जसले पार्टीको उच्च नेतृत्व र अध्यक्षको कार्यालयबीच सहज समन्वय गर्न सक्छन् ।

भाजपाको संगठनात्मक चुनाव यसरी हुने गर्छ

मण्डल र जिल्ला तह

सदस्यता वितरणका क्रममा भाजपाले ‘सक्रिय’ सदस्य छनोट गर्छ । जसलाई एक बुथ अथवा एक विधान सभा सिटमा ५० जनालाई सदस्य बनाएर ल्याउने जिम्मा दिइन्छ । पार्टीको सक्रिय कार्यकर्ताले मण्डल कमिटी र त्यसमाथिका जिल्ला, क्षेत्र, राज्य र केन्द्रीय कमिटीजस्ता संगठनात्मक चुनावहरूमा भाग लिन पाउँछन् । यी हरेक कमिटीको कार्यकाल तीन वर्षको हुन्छ ।

भाजपाको सबैभन्दा तल्लो तह भनेको स्थानीय कमिटी हो । जसमा ३०० सम्म सदस्य हुन सक्छन् । एक वर्ष भाजपाको सदस्य भइसकेको व्यक्ति स्थानीय कमिटीको अध्यक्ष बन्न सक्छ । यस्ता कयौँ स्थानीय कमिटी मिलाएर एउटा मण्डल बनाइन्छ । स्थानीय कमिटीका अध्यक्षहरूले मण्डल कमिटीका सदस्य चुन्छन् । मण्डल कमिटी तीन प्रकारका हुन्छन् । जसको वर्गीकरण सो राज्यमा लोकसभा सिट संख्या कति छ भन्ने आधारमा गरिएको हुन्छ ।

क) तीन र सोभन्दा कम लोकसभा सिट भएको
ख) चारदेखि २० लोकसभा सिट भएको
ग) २० भन्दा बढी लोकसभा सिट भएको

यी कमिटीहरूमा निर्वाचित अध्यक्ष हुन्छन् । जसका सदस्य ६० जनासम्म हुन सक्छन् । सो संख्या निर्धारण पार्टीको राज्य तहले गर्छ । मण्डल अध्यक्षसँग चार उपाध्यक्ष, दुई महासचिव, एक कोषध्यक्ष र पाँच सचिव मनोनयन गर्ने अधिकार हुन्छ । मण्डल कमिटीमा महिला, सूचीकृत जाति र आदिवासीका लागि आरक्षण पनि हुन्छ ।

मण्डलजस्तै जिल्ला कमिटी पनि राज्यको वर्गीकरण अनुरूपको हुने गर्छ । र, जिल्ला कमिटीका अध्यक्ष मण्डल कमिटीका अध्यक्षहरूले चुन्छन् । एकतिहाइ निर्वाचित मण्डलहरूले अनुमोदन गरे पार्टीको एउटा सक्रिय सदस्य जिल्ला अध्यक्ष मनोनीत हुन सक्छ । जिल्ला अध्यक्ष बन्नका लागि कम्तीमा ६ वर्ष पार्टीको सदस्य हुनैपर्छ । तर, अध्यक्षले एउटा महासचिव कमिटीभन्दा बाहिरबाट मनोनीत गर्न सक्छ ।

राज्य तह

भाजपाको राज्य तहमा दुई निकाय छन्, राज्य कार्यकारिणी र राज्य परिषद् । मण्डल कमिटी सदस्यहरूले विधान सभा सदस्य संख्याकै अनुपातमा राज्य परिषद् सदस्य चुन्न सक्छन् । परिषद्का अन्य सदस्यहरूमा विधायक, सांसद, राज्य कमिटीका पूर्वअध्यक्ष, राज्य कार्यकारिणी सदस्य, राज्य अध्यक्षद्वारा मनोनीत सदस्यहरू अनि सहयोगी मोर्चा तथा सेलका प्रमुख, जिल्ला कमिटी अध्यक्ष र महासचिवहरू हुन्छन् ।

राज्य कार्यकारिणीलाई पनि राज्यको श्रेणीअनुसार वर्गीकृत गरिएको हुन्छ । जसको अध्यक्षको चुनाव जिल्लाहरूबाट निर्वाचित राज्य परिषद् सदस्य, सांसद र विधायकहरूले गर्छन् । जुनसुकै सक्रिय सदस्य निर्वाचित जिल्ला कमिटीको एक तिहाइको अनुमोदन प्राप्त गरेर अध्यक्षमा मनोनीत हुन सक्छ । अध्यक्षले उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष नियुक्त गर्न सक्छ ।

राष्ट्रिय तह

राष्ट्रिय तहमा भाजपाको राष्ट्रिय परिषद्, राष्ट्रिय कार्यकारिणी र अधिवेशन हुन्छन् । राष्ट्रिय परिषदका सदस्य राज्य परिषदका सदस्यहरूबाट राज्यको लोक सभा सिटको अनुपातमा चुनिन्छन् । त्यस्तै, पूर्व राष्ट्रिय अध्यक्ष, विधान सभा, परिषद्, लोक सभा र राज्य सभामा पार्टी नेताहरू, सांसदमध्ये १० प्रतिशत, मनोनीत, राष्ट्रिय कार्यकारिणीका सबै सदस्य र मोर्चा तथा सेलका प्रमुख पनि सदस्यमा समेटिन्छन् ।

राष्ट्रिय कार्यकारिणीको नेतृत्व पार्टी अध्यक्षले गर्छन्, जसमा १२० भन्दा धेरै सदस्य हुँदैनन् । जसमध्ये ४० महिला र १२ सूचीकृत समुदायका हुनुपर्छ । तिनको मनोनयन पार्टी अध्यक्षले गर्छन् । एक महासचिव (संगठन), एक कोषाध्यक्ष, नौ महासचिव, १५ सचिव र १३ उपाध्यक्ष पार्टी अध्यक्षले नियुक्त गर्छन् । कम्तीमा तीन कार्यकाल सक्रिय रहेको सदस्य मात्र कार्यकारिणीमा नियुक्त हुन सक्छ । यो मापदण्डमा १५ जनालाई भने पार्टी अध्यक्षले अपवादका रूपमा नियुक्त गर्न सक्छन् ।

कसरी हुन्छ पार्टी अध्यक्षको चुनाव ?

राष्ट्रिय अध्यक्षको चुनाव एउटा इलेक्टोरल कलेजले गर्छ । जसमा (क) सांसद अथवा राज्य परिषद् सदस्य समेत रहेका राष्ट्रिय परिषद् सदस्य, (ख) जिल्ला सदस्य, पार्टी विधायक वा पार्टीका सांसद समेत रहेका राज्य परिषद् सदस्य हुन्छन् । इलेक्टोरल कलेजका जुनसुकै २० सदस्यले कम्तीमा १५ वर्षदेखि पार्टी सदस्य रहेका व्यक्तिलाई राष्ट्रिय अध्यक्ष पदमा प्रस्तावित गर्न सक्छन् । यस्तो प्रस्ताव राष्ट्रिय परिषद् चुनाव भइसकेका कम्तीमा पाँच राज्यबाट आउनु पर्छ । पार्टी अध्यक्षको कार्यकाल तीन वर्षको हुन्छ र ऊ लगातार दुई कार्यकाल सो पदमा रहन सक्छ ।

जो भाजपाका अध्यक्ष भए

भाजपाका प्रथम अध्यक्ष अटल बिहारी बाजपेयी थिए । १९८० को आम चुनावमा पार्टीले राम्रो गर्न सकेन । मात्र दुई सिट जित्यो । पार्टी सञ्चालन प्रणालीको आलोचनात्मक मूल्यांकनपछि १९८५ मा राष्ट्रिय कार्यकारिणीले भाजपालाई कार्यकर्ता आधारित पार्टी बनाउने निर्णय लियो । जसको जिम्मेवारी लालकृष्ण आडवाणीलाई दिइयो । उनी बाजपेयीका उपाध्यक्ष थिए । आडवाणीले राम जन्मभूमि आन्दोलन सुरु गरे र १९८९ मा राम मन्दिर निर्माणलाई पार्टीको संकल्प बनाए ।

आडवाणी लगातार दुई कार्यकाल पार्टी अध्यक्ष रहे । त्यसपछि अधिकांश पार्टी अध्यक्ष सर्वसम्मतिले चुनिए । र, ती एक कार्यकाल र त्यसभन्दा कम मात्र पदमा रहे । आडवाणीपछि अध्यक्ष बनेका मुरली मनोहर जोसी, जना कृष्णमूर्ति, वेंकया नायडु, बांगरु लक्ष्मण र कुशाभाउ ठाकरे सबै आरएसएसका नेता थिए । जो भाजपामा तल्लो तहदेखि माथि उक्लिएका थिए । यीमध्ये जोसी र ठाकरेले मात्र कार्यकाल पूरा गरे । २००३ मा भाजपाले विधान संशोधन गर्यो ।

त्यसपछि अध्यक्षको पद दुई कार्यकाल लिन पाइने तर लगातार नपाइने व्यवस्था गरियो । लगत्तै २००४ मा भाजपा नेतृत्वको गठबन्धनले चुनाव हार्यो र सत्ताबाट बाहिरियो । नायडुले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिए । आडवाणी फेरि अध्यक्ष भए । आडवाणीले चुनाव हार्नुमा आफ्नै सरकारको असफलतालाई दोष दिए । पार्टीको वैचारिक र संगठनात्मक क्षेत्रमा ध्यान नदिइएको उनको आरोप थियो । त्यसपछि भाजपाले आफ्नो मूल विचारधारामा ध्यान केन्द्रित गर्ने कोसिस गर्यो ।

तर, व्यक्तिगत भ्रमणमा कराची पुगेका आडवाणीले पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्नालाई ‘धर्मनिरपेक्ष’ भन्दै प्रशंसा गरेपछि २००५ मा उनलाई भाजपा अध्यक्षबाट हट्न भनियो । त्यसपछि आरएसएससँग उनको सम्बन्ध तनावपूर्ण रह्यो । आडवाणीको बाँकी कार्यकाल राजनाथ सिंहले पूरा गरे र २००६ मा फेरि ३ वर्षका लागि नियुक्त भए । उनीपछि नितिन गडकरी अध्यक्ष भए । २०१२ मा आरएसएले पुनः भाजपाको विधान संशोधन गरेर दुई कार्यकाल लगातार अध्यक्ष बन्न पाइने व्यवस्था गर्न दबाब दियो ।

सोहीअनुसार संशोधन भयो । किनभने २००९ को चुनावमा खराब प्रदर्शन गरेको पार्टीको सम्भावना गडकरीले बढाएका थिए । त्यसैले भाजपालाई आमूल परिवर्तन गर्न उनलाई दुई कार्यकाल चाहिने आवश्यकता आरएसएसले महसुस गर्यो । तर, त्यसो भएन । आडवाणीले गडकरीको कार्यशैलीको आलोचना जारी राखे । पार्टी भित्रैबाट विरोध र उनीसँग सम्बन्धित कम्पनीहरूमा आयकर विभागले छापा मारेपछि गडकरीले दोस्रो कार्यकालमा अध्यक्ष बन्ने विचार त्यागिदिए । र, जनवरी २०१३ मा राजनाथ सिंह अध्यक्ष भए ।

मे २०१४ को आम चुनावमा सानदार जितपछि नरेन्द्र मोदी प्रधानमन्त्री बने । सोही वर्षको जुलाईमा भाजपाको संसदीय बोर्डले मोदीका विश्वासपात्र अमित शाहलाई अध्यक्ष बनाउने प्रस्ताव अनुमोदन गर्यो । र, सिंहको कार्यकाल कटौती भयो । शाहको संगठनात्मक सीपका कारण भाजपाले पार्टी विस्तार र पार्टी र केन्द्रबीचको समन्वयमा ध्यान केन्द्रित गर्यो । २०१७ मा उनी पुनः भाजपा अध्यक्ष चुनिए र २०२० मा कार्यकाल पूरा गरे ।

पार्टी नेतृत्वलाई निरन्तरता दिन भाजपाले जेपी नड्डालाई बढुवा गरेर २०१९ मा कामचलाउ अध्यक्ष बनायो । जो गडकरीकै समकक्षी र मोदी क्याबिनेटका मन्त्री पनि थिए । शाहको कार्यकाल अन्त्यसँगै उनी निर्विरोध पार्टी अध्यक्ष भए । एक वर्ष कार्यकाल थपिए पनि नड्डालाई अब आरएसएका वफादार र मोदी–शाहसँग पनि राम्रो सम्बन्ध भएका नेताले विस्थापित गर्ने सम्भावना अधिक छ । जसको प्रमुख दाबेदारमा केन्द्रीय मन्त्री शिवराज चौहान, धर्मेन्द्र प्रधान र भूपेन्द्र यादव छन् ।

स्रोत : द हिन्दुबाट
प्रकाशित मिति : १ माघ २०८१, मंगलवार ११:१३

लोकप्रिय