सूचनाको शक्ति - The Power Of Information

        

के टिकटक किन्दैछन् एलन मस्क ?

बाइटडान्सका प्रतिनिधिले टिकटकको अमेरिकी सञ्चालन एलन मस्कलाई बेच्ने सम्भावित विकल्पको मूल्याङ्कन गरिरहेको खबर बाहिरिएको छ । बाइटडान्सका लागि अमेरिकामा टिकटकमाथि लाग्न सक्ने प्रतिबन्धलाई जोगाउन शर्ट भिडिओ प्लेटफर्म टिकटकको अमेरिकी स्वामित्व मस्कलाई बिक्री गर्ने विकल्प उपयुक्त हुन सक्ने भनिएको छ ।

यसैकारण मस्कले टिकटकको अमेरिकी स्वामित्व खरिद गर्ने विषयमा चर्चा बढेको हो । बेइजिङमा रहेका बाइटडान्सका पदाधिकारी टिकटकलाई मूल कम्पनी बाइटडान्स लिमिटेडकै स्वामित्वमा राख्न चाहन्छन् । कम्पनीले अमेरिकी सर्वोच्च अदालतमा अपिल गरेर अब हुनसक्ने प्रतिबन्धको विरोध गरिरहेको छ । तर, १० जनवरीमा न्यायाधीशहरूले कानुनलाई समर्थन गर्ने सङ्केत दिएका थिए । वरिष्ठ चिनियाँ अधिकारीले नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनसँग कसरी काम गर्ने भन्ने बारेमा व्यापक छलफल गरिरहेका छन् ।

यसैमा मस्कसँगको सम्झौता पनि एक विकल्पका रूपमा देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । ब्लुमबर्गका अनुसार ट्रम्पका नजिकका सहयोगी (एलन मस्क)सँगको हाई प्रोफाइल सम्झौता चिनियाँ सरकारका लागि आकर्षक हुन सक्ने देखिएको छ । मस्कले ट्रम्पलाई दोस्रो पटक राष्ट्रपतिमा विजयी बनाउन २५ करोड डलरभन्दा बढी खर्च गरेका थिए । र ट्रम्पले पदभार ग्रहण गरेपछि सरकारी दक्षता सुधार गर्न मस्कलाई प्रमुख भूमिकामा राख्ने चर्चा छ ।

अहिले फैलिएको हल्ला अनुसार एलन मस्कको सामाजिक सञ्जाल एक्स (पहिले ट्वीटर) ले टिकटकको अमेरिकी शाखा आफ्नो नियन्त्रणमा लिनेछ र दुवै व्यवसायलाई एकसाथ चलाउने योजना बनाउनेछ । टिकटकसँग अमेरिकामा १७ करोडभन्दा बढी प्रयोगकर्ता छन् जसले एक्सलाई विज्ञापनदातालाई आकर्षित गर्न ठूलो मद्दत गर्ने अपेक्षा गरिएको छ । मस्कले छुट्टै आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एक्सएआई पनि स्थापना गरेका छन् । यसले टिकटकमा अपलोड हुने ठूलो सङ्ख्याका कन्टेन्ट र डेटाबाट थफ लाभ लिन सक्छ ।

चिनियाँ अधिकारीले अझैसम्म सम्झौता कसरी अगाडि बढ्छ भन्ने बारेमा कुनै ठोस सहमतिमा नपुगेका ब्लुमबर्गले उल्लेख गरेको छ । बाइटडान्सलाई चिनियाँ सरकारको छलफलको बारेमा कति थाहा छ वा टिकटक र मस्क यसमा संलग्न छन् कि छैनन् भन्ने पनि स्पष्ट जानकारी बाहिर आएको छैन । मस्क, टिकटक र बाइटडान्सबीच सम्भावित सम्झौताको सर्तबारे कुनै छलफल भए नभएको स्पष्ट छैन । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले मस्क र उनका प्रतिनिधिसँग यस विषयमा कुरा गर्न खोजे पनि उनीहरूबाट कुनै जवाफ आइसकेको छैन ।

मस्कले अप्रिलमा टिकटक अमेरिकामा उपलब्ध हुनुपर्ने बताएका थिए । ‘यस्तो प्रतिबन्धले एक्स प्लेटफर्मलाई फाइदा पुर्याउने भए तापनि मेरो विचारमा टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउनु हुँदैन,’ उनले एक्समा लेखेका थिए, ‘यसो गर्नु अभिव्यक्ति स्वतन्त्रताको विपरीत हुनेछ । यो अमेरिकाको मान्यता होइन ।’ चीनको साइबरस्पेस प्रशासन र चीनको वाणिज्य मन्त्रालयले पनि यस विषमा टिप्पणी दिइसकेका छैनन् । यी सरकारी निकायहरू टिकटकको भविष्यबारे निर्णयमा संलग्न हुन सक्ने बताइएको छ ।

बेइजिङमा भइरहेको वार्ताले टिकटकको भविष्य अब बाइटडान्सको मात्र नियन्त्रणमा नरहेको सङ्केत दिएको छ । चिनियाँ सरकारले बाइटडान्सको सहायक कम्पनीमा ‘गोल्डेन शेयर’ राखेको छ । यसले कम्पनीको रणनीति र सञ्चालनमा ठूलो प्रभाव पार्दै आएको छ । टिकटकले यो नियन्त्रण चीनमा रहेको सहायक कम्पनी डोइन इन्फर्मेसन सर्भिस कम्पनीमा मात्र लागू हुने र चीन बाहिर बाइटडान्सको सञ्चालनमा कुनै असर नपर्ने बताइएको छ । तर, बेइजिङको निर्यात नियमले चिनियाँ कम्पनीलाई टिकटक जस्तो सफ्टवेयर एल्गोरिदम बेच्नबाट रोक्छ ।

चिनियाँ सरकारले टिकटकको महत्त्वपूर्ण रिकमेन्डेसन इन्जिन समावेश भएको बिक्रीलाई अनुमोदन गर्नुपर्ने भएकाले यसको कुनै पनि सम्भावित सम्झौतामा महत्त्वपूर्ण भूमिका रहन्छ । ब्लूमबर्ग इन्टेलिजेन्सका विश्लेषक मन्दीप सिंह र डेमियन रिमट्र्जले गत वर्ष टिकटकको अमेरिकी सञ्चालनको मूल्य लगभग ४० देखि ५० अर्ब डलर हुनसक्ने अनुमान गरेका थिए । यो रकम विश्वकै धनी व्यक्ति एलन मस्कका लागि पनि ठूलो हो । मस्कले यस्तो कारोबार कसरी पूरा गर्नेछन् भन्ने विषयमा पनि चर्चा हुन थालेको छ ।

त्यसका लागि मस्कले अन्य होल्डिङ बेच्नुपर्ने हो कि होइन वा अमेरिकी सरकारले अनुमोदन गर्ने हो कि होइन भन्ने स्पष्ट छैन । मस्कले सन् २०२२ मा ट्विटरको लागि ४४ अर्ब डलर तिरेका थिए । र अझै पनि मस्कले ऋण तिरिसकेका छैनन् । चीनमा रहेका बाइटडान्सका धेरै कर्मचारीमाझ मस्कको सकारात्मक प्रतिष्ठा रहेको छ । उनी एक सफल उद्यमीका रूपमा देखिएका छन् । मस्कले आफ्नो टेस्ला इङ्क व्यवसायमार्फत चिनियाँ सरकारसँग संलग्न हुने अनुभव बटुलेका छन् ।

यता बाइटडान्सका पदाधिकारीले बारम्बार बेइजिङमा रहेको कम्पनीले राष्ट्रिय सुरक्षाको चिन्ताका कारण अमेरिकी सञ्चालन बेच्न वा बन्द गर्नुपर्ने अमेरिकी कानुनको विरोध गर्नु आफ्नो प्राथमिकता भएको बताउँदै आएका छन् । टिकटकका वकिलले उक्त कानुनले संविधानको पहिलो संशोधन अन्तर्गत अभिव्यक्ति स्वतन्त्रताको कानुनको उल्लङ्घन गरेको तर्क गरेका छन् । अमेरिकी सर्वोच्च अदालतका अधिकांश न्यायाधीशले अभिव्यक्ति स्वतन्त्रताको सट्टा सुरक्षा चिन्तालाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन् ।

तर उनीले औपचारिक निर्णय दिन बाँकी नै छ । नवनिर्वाचित राष्ट्रपति ट्रम्पले २० जनवरीमा पदभार ग्रहण गर्नेछन् । उनले वार्ता गर्नका लागि टिकटक प्रतिबन्ध १९ जनवरीदेखि लागू हुने कुरामा ढिलाइ गर्न खोजेका छन् । ट्रम्पले एपलाई ‘बचाउन’ चाहेको बताएका छन् र प्रतिबन्धलाई हटाउनका लागि अन्तिम समयमा कदम चाल्न सक्ने अनुमान गरिएको छ । टिकटकको अमेरिकी व्यवसायलाई अलग गर्नु निकै जटिल हुने देखिन्छ । यसले चीन र अमेरिका दुवैका शेयरधनीलाई असर गर्नेछ । टिकटकका वकिलले सर्वोच्च अदालतमा उत्पादनको अमेरिकी भागलाई अलग गर्नु ‘अत्यन्तै गाह्रो’ हुने तर्क दिंदै आएका छन् ।

अमेरिकी टिकटकलाई प्रतिस्पर्धात्मक प्रक्रियामा बिक्री गरिने हो वा सरकारले बिक्रीको व्यवस्था गर्ने हो भन्ने स्पष्ट भइसकेको छैन । मस्क विश्वका दुई ठूला अर्थतन्त्रमा फैलिएका व्यवसायहरू भएका विश्वका सबैभन्दा धनी व्यक्ति भएकाले चीन–अमेरिका सम्बन्धलाई प्रभाव पार्ने अवस्थामा छन् । मस्क प्रमुख कार्यकारी अधिकृत रहेको टेस्लाले सन् २०१९ मा सांघाईमा एउटा ठूलो कारखाना बनाएको थियो । र त्यसयता उक्त कारखानाबाट कम्पनीले सबैभन्दा बढी विद्युतीय सवारी उत्पादन गर्दै आएको छ । यस प्रयासले टेस्लालाई चीनमा कडा स्थानीय प्रतिस्पर्धाका बाबजुद बजार हिस्सा विस्तार गर्न र सरकारी अधिकारीसँग सद्भाव निर्माण गर्न मद्दत गरेको थियो ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १ माघ २०८१, मंगलवार ११:०७

लोकप्रिय