सूचनाको शक्ति - The Power Of Information

        

लोप हुँदै गुन्द्री बुन्ने चलन, हराउँदै पुर्ख्यौली सीप

पहिले–पहिले परालको गुन्द्री नभएको घर नै हुँदैन थियो । पछिल्लो समय गुन्द्री बिरलै देख्न पाइन्छ । कात्तिकमा धान काटेपछि अलि लामो पराल छुट्याएर गुन्द्री बुन्ने चलन गाउँघरमा अझै पनि कहीँकतै छँदैछ । परालको गुन्द्री वर्षभरि ओछ्याउन, बस्न, अन्न सुकाउन, गाईवस्तुलाई गोठमा बार लगाउन र आफन्तलाई उपहार दिन बढी प्रयोग गरिँदै आएको हो ।

न्यानो र स्वस्थकर मानिने यस्ता गुन्द्री प्रयोग भने हिजोआज घट्दै गएको छ । गाउँमा कहीँकतै गुन्द्रीका तान देख्दा नयाँ पुस्तालाई नौलो लाग्न थालेको छ । बाबियो वा जुटको डोरीको तानमा पराल मिलाएर राखेपछि एक–दुई दिनमै तयार हुने गुन्द्री अहिले कमै मात्रामा पाइन्छ । गाउँ–गाउँमा सिमेन्टेड पक्की घर निर्माणको चलनसँगै घरेलु हस्तकलाका सामग्री बुनेर प्रयोग गर्ने चलन पनि फेरिएको छ ।

विकल्पमा बजारमा पाइने प्लास्टिकका गुन्द्री अहिले गाउँघरमा भित्रिएका छन् । विगतका वर्षहरूमा फुर्सदको समय गुन्द्री बुन्ने गरे पनि अहिले गुन्द्री बुन्न छाडेका छन् । पक्की घरमा मात्रै नभएर छरितो र सफाका लागि कच्ची घरमा समेत परालका गुन्द्रीको प्रयोग घटेको छ । आफैँले बुन्ने गुन्द्रीका लागि श्रम र समय लाग्ने भएकाले पनि सजिलो विकल्पका रूपमा प्लाष्टिकको गुन्द्री रोजाइमा पर्न थालेको छ ।

घरमा बुनेको गुन्द्रीमा लागत धेरै लाग्ने भएकाले गुन्द्री बुन्ने चलन घट्दै गएको छ । गुन्द्री बुन्नका लागि समय लाग्ने हुँदा पछिल्लो पुस्ताले यो चलनलाई छाड्दै गएका छन् । समय धेरै लाग्ने र झन्झटिलो मान्ने हुँदा अहिलेका छोरी–बुहारीले यसप्रति चासो दिन छाडेका छन् । गुन्द्री बुन्नका लागि नयाँ पुस्तालाई सिक्ने चासो छैन । यसरी चासो नदिँदा परम्परा नै हराउँदै जान थालेको छ । गाउँको भन्दा सहरिया उत्पादनले बढी ठाउँ ओगट्ने हुन्छ ।

बजारमा पाइने प्लाष्टिकबाट बनेका गुन्द्रीको प्रयोगले पुर्ख्यौली सीप हस्तान्तरणमा पनि कमी आएको छ । नयाँ पुस्ताले चासो नदिनुका साथै परम्परागत सीप हस्तान्तरणको अभावमा गाउँघरमै अहिले गुन्द्री बुन्न जान्नेको सङ्ख्या पनि घट्दै गएको हो । आधुनिकता र बजारीकरणको प्रभावले घरको आँगनमै तान हालेर गुन्द्री बुन्ने परम्परालाई जोगाउन नयाँ पुस्तालाई सीप हस्तान्तरण र पुराना परम्पराको महत्व सिकाउनुपर्ने अवस्था आएको छ ।

पछिल्लो समय स्याङ्जामा गुन्द्री बुन्ने चलन हराउँदै गएको छ । खेतमा धान काटेर दाइँ हाल्ने बेला लामो–लामो परालका छाँटेर राख्ने र फुर्सदका बेला गुन्द्री बुन्ने परम्परा रही आएको छ । खेतबारीमा भएका बालीनाली भित्र्याइसकेपछि विशेषगरी पुस–माघका दिनमा फुर्सदिलो समयमा हाते तानको माध्यमबाट गुन्द्री बुन्ने परम्परा हराउँदै गएको हो । धार्मिक पूजाआजा तथा पितृकार्यमा पनि धानको परालबाट बुनिएका नयाँ गुन्द्री प्रयोग गर्ने चलन थियो ।

बजारमा आउने प्लास्टिकका गुन्द्री तथा म्याटका प्रयोग बढ्दै जाँदा गुन्द्री बुन्नै छाडिएको वालिङ–८ की सीता सुवेदीले बताइन् । ‘बजारमा प्लास्टिकका गुन्द्री र म्याट पाइन्छ, तिनकै प्रयोग गर्न थालियो,’ उनले भनिन्, ‘गुन्द्री बुन्न अब हामीले सकिँदैन नयाँ पुस्ताले गुन्द्री बुन्न दुःख मान्छन् ।’ अझ पछिल्लो समय खेती गर्नै छाडेकाले परालको अभाव हुने र खेती गरिहालेमा पनि हाइब्रिड जातको खेती गर्दा पराल छोटो हुने गरेको उनले बताइन् ।

सहरोन्मुख क्षेत्रमा प्लास्टिकबाट बनेका गुन्द्री र म्याटको प्रयोग बढ्दै गएकाले गुन्द्री बुन्न छाडिएको उनले बताइन् । ग्रामीण भेगमा अझै पनि छिटपुट रूपमा गुन्द्री बुन्ने गरे पनि विस्तारै बजारको प्रभाव ग्रामीण क्षेत्रमा पर्दै गएकाले गुन्द्री बुन्ने पराम्परा हराउँदै गएको वालिङ–८ की रन्नता बगालेले बताइन् । गुन्द्री बुन्न झन्झटिलो भएकाले पनि नयाँ पुस्ता आकर्षित नभएको हुनसक्ने उनी बताउँछिन् ।

नयाँ पुस्ताको विकर्षणसँग्ै पुरानो पुस्ताले जानेको सीप नयाँ पुस्तामा हस्तान्तरण नहुँदा गुन्द्री बुन्ने संस्कृति लोप भएर जान सक्छ । परालको लम्बाइ अनुसार गुन्द्रीको चौडाइ निर्धारण गरी गुन्द्री बुन्ने गरिन्छ । छोटो परालबाट थर्कटी तथा चकटी बुन्न सकिन्छ । स्थानीय स्रोत र साधनको प्रयोग गरी गुन्द्री बुन्ने गरिन्छ । विशेषगरी धानको पराल, जुटको धागो, बाबियोको खर प्रयोग गरी गुन्द्री बुन्न सकिन्छ । हाते तान बनाएर जुट वा बाबियोको खरको डोरीमा बुनिएको पराललाई काठको हतासोले ठोकेर गुन्द्री बनाउने गरेको पाइन्छ ।

प्रकाशित मिति : २३ पुष २०८१, मंगलवार १२:१६

लोकप्रिय