सूचनाको शक्ति - The Power Of Information

        

चिसोको कहर

बाँके र बर्दियासहित पश्चिम तराईमा शीतलहर, ‘कष्टकर बन्दै दैनिकी’

बाँके र बर्दियासहित पश्चिम तराईका विभिन्न जिल्लामा केही दिनदेखि चिसो बढेसँगै शीतहलर चल्न थालेपछि सर्वसाधारणलाई असहज हुँदै गएको छ ।

बाक्लो हुस्सु, कुहिरोसँगै शीतलहरले पश्चिम नेपालका बाँके र बर्दियासहित तराईका जिल्लामा जनजीवन कष्टकर बनेको छ । तीव्र रुपमा चलेको चिसो हावा र शीतलहरले सर्वसाधारणलाई घरबाहिर निस्कन र काममा जान मुस्किल हुन थालेको छ । चिसोबाट बच्न नेपालगन्जबासीले सहरका ठाउँठाउँमा आगो बालेर ताप्न थालेका छन् ।

शीतलहरका कारण विद्यालय जाने बालबालिकाको संख्यामा पनि कमी आएको छ । चिसोका कारण बालबालिकामा रुघाखोकीको समस्या देखिन थालेको छ । चिसोबाट बालबालिकालाई बचाउन न्यानो कपडाका साथै टोपी, पन्जा लगाइदिने, चिसोमा धेरै खेल्न दिन नहुने, तातो र झोलिलो खाने कुरा खुवाउनुपर्ने चिकित्सकहरु बताउँछन् ।

भेरी अस्पताल नेपालगन्जका सूचना अधिकारी एवम् इमर्जेन्सी विभाग प्रमुख वरिष्ठ फिजिसियन डा.सङ्केत रिसालले भने, चिसोका कारण धेरैजसो बालबालिका र वृद्धवृद्धामा जोखिम हुने बताउँदै डा.रिसालले भने, ‘चिसोले गर्दा प्रायः गरेर बालबालिका र वृद्धवृद्धामा जोखिम रहन्छ, बढीजसो बालबालिका र वृद्धवृद्धाहरू समस्या लिएर उपचारका लागि अस्पताल आउनुभएको छ ।’

डा.रिसालका अनुसार बालबालिका तथा वृद्धवृद्धाहरूमा निमोनिया, दम, छातिको समस्या, फोक्सो र श्वासप्रश्वासका समस्या लिएर उपचार गर्नका लागि अस्पताल आउने गरेका छन् । डा.रिसालले भने, ‘प्रायः गरेर बालबालिका र वृद्धवृद्धामा चिसोका कारण धेरै समस्या देखिएपनि अन्य उमेर समुहका नागरिकहरू पनि सचेत हुनुपर्छ, सबैलाई चिसोले असर गर्छ ।’

चिसो बढेसँगै शीतहलर चल्न थालेपछि अत्यन्तै जरुरी काम परे मात्र घरबाहिर निस्कने, शरिर पुरै छोप्ने गरी न्यानो कपडा लगाउने, घरमा बस्दा पनि तातो पानी तथा झोलिलो पदार्थहरू अत्यधिक पिउने तथा शीतलहर तथा अत्यन्तै चिसोमा वनभोज, पिकनिक तथा भ्रमण जस्ता कार्य नगर्दा उचित हुने भेरी अस्पतालका सूचना अधिकारी डा.रिसालले बताए ।

केही दिनदेखि शीतलहरसमेत पर्न थालेपछि यहाँको जनजीवन झनै कष्टकर बन्दै गएको छ भने शीतलहरले गर्दा बढेको चिसोले बजारको चहलपहल पनि घटेको छ । बाँके र बर्दियासहित पश्चिम तराईका विभिन्न जिल्लामा मध्य पुसदेखि सुरु भएको चिसो बढ्दै गएको छ । केही दिनदेखि चिसो बढेसँगै शीतहलर चल्न थालेपछि सर्वसाधारणलाई असहज हुँदै गएको छ ।

चिसो तथा शीतलहरबाट प्रायः गरेर दैनिक रूपमा ज्यालादारी गरेर हातमुख जोड्ने मजदुर, ठेला तथा रिक्सा चलाएर दैनिकी जीवन गुजारा गर्ने वर्ग, बालबालिका, वृद्धवृद्धा तथा विद्यार्थी बढी प्रभावित भएका छन् । चिसो सिरेटो र शीतलहरसँगै बाक्लो हुस्सु लागेका कारण सवारी साधनहरूलाई आवतजावत गर्न समेत समस्या भएको छ ।

शीतलहरले नेपालगन्जका सडकहरू पानी परेजस्तै गरी भिजेका छन् । चिसोबाट बच्नका लागि नागरिकहरूले ठाउँठाउँमा आगो बालेर ताप्दै गरेको देख्न सकिन्छ । शीतलहरसँगै बाक्लो हुस्सु लागेकाले सवारीसाधनलाई आवतजावत गर्न समस्या भएको छ । नागरिकलाई शीतलहरबाट बचाउन जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर विभिन्न निर्णयसमेत गरेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार शीतलहर तथा चिसोबाट नागरिकलाई जोगाउन जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर विभिन्न निर्णय गरेको जानकारी दिँदै भने, ‘डिभिजन वन कार्यालयलाई न्यूनतम दररेटमा दाउरा उपलब्ध गराउन अनुरोध गरेका छौं । जिल्लाका सबै स्थानीय तहलाई दाउराको व्यवस्थापन गर्न भनिएको छ ।’

प्रजिअ रिजालले चिसोबाट नागरिकको ज्यान जोगाउन जिल्ला विपद् व्यवस्थापन समिति आवश्यक तयारीसहित एलर्ट अवस्था रहेको बताए । उनले भने, ‘चिसोबाट जोगाउन अति विपन्न परिवार, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती तथा सुत्केरी महिला तथा जोखिमयुक्त क्षेत्र र समुदायको पहिचान गरी उनीहरूलाई न्यानो कम्बल वितरण गर्ने तयारी गरेका छौं ।’

यता जल तथा मौसम विभाग फिल्ड कार्यालय नेपालगन्जकी फिल्ड इन्चार्ज मीना सिवाकोटीले शनिबार बिहान ८ः४५ बजे नेपालगन्जको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन भएको बताइन् । उनका अनुसार बिहीबार नेपालगन्जको न्यूनतम तापक्रम १२ दशमलव ६ डिग्री सेल्सियस मापन भएको थियो भने शुक्रबारको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस थियो ।

प्रकाशित मिति : २० पुष २०८१, शनिबार १७:४४

लोकप्रिय