बाँकेको नेपालगन्जमा रहेको वडा प्रहरी कार्यालयको काम नेपालगन्ज उपमहानगरपालिकाका सबै वडामा शान्ति सुरक्षा कायम गर्ने हो । तर, अहिले उपमहानगरभित्र कार्यक्षेत्र रहेको वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्जलाई आफ्नै कार्यक्षेत्रबारे जानकारी छैन । इन्चार्जलाई नै आफ्नो कार्यक्षेत्र जानकारी नभएपछि आमनागरिकले सुरक्षाको अनुभूति कसरी गर्लान् ?
अहिले वडा प्रहरी कार्यालय नेपालगन्जको इन्चार्ज प्रहरी निरिक्षक अरुण बम छन् । वडा प्रहरीको सुरक्षा बजार क्षेत्रभित्र मात्रै सीमित छ । आमनागरिकले सुरक्षाको अनुभूति गर्न नसकेको नेपालगन्ज–२० मनिकापुरका स्थानीयहरु बताउँछन् । उनीहरुका अनुसार राँझा क्षेत्रका केही होटलहरुमा गलत क्रियाकलाप भइरहँदा समेत प्रहरीको भूमिका देखिएको पाइँदैन ।
वडा प्रहरीका सुरक्षा गस्ती नेपालगन्ज बजारभन्दा बाहिर जाँदैन । उपमहानगरका वडाको सुरक्षा जिम्मेवारी लिएको वडा प्रहरी कार्यालय अहिले नेपालगन्ज बजारका चार/पाँच वटा वडामा मात्रै सक्रिय देखिँदै आएको स्थानीयहरु बताउँछन् । ‘नेपालगन्जको वडा प्रहरीले ओल्लो र पल्लो बजार गर्दै दिनरात बिताउँछ,’ नेपालगन्ज–१८, कारकाँदोका महेन्द्र सुवेदी भन्छन् ।
प्रहरी ऐन अनुसार प्रहरीको प्रमुख कार्य संगठित अपराध, राज्यविरुद्धको अपराध, लागुऔषध, जासुसी, आतंकवाद, मानव बेचविखन तथा ओसारपसार जस्ता गम्भीर अपराधको अनुसन्धान गर्ने रहेको छ । तर, वडा प्रहरी नेपालगन्ज भने यी विषयभन्दा असुलीतिर बढी केन्द्रीत भएको नेपालगन्जका एक जना व्यवसायीले बताए ।
उनले भने, ‘आफ्नो कार्यक्षेत्रबारे नै जानकारी नहुने हाकिमबाट नागरिकले कस्तो सुरक्षाको प्रत्याभूति गर्लान् ?’ उनले नेपालगन्जमा प्रहरीबाट सुरक्षाभन्दा असुरक्षा महसुस गर्नुपरेको गुनासो गरे । ‘प्रहरीले भनेको समयमा पसल खोल्नुपर्ने, भनेको समयमा बन्द गर्नुपर्ने ?,’ उनले भने, ‘प्रहरीले भने अनुसार भएन भने हप्कीदप्की खानुपर्छ ।’
प्रावधान अनुसार वडा प्रहरी कार्यालयले उपमहानगरभित्रका सबै वडाको सुरक्षा जिम्मेवारी लिनुपर्ने देखिन्छ । उपमहानगरका २३ वटै वडामा सुरक्षा प्रवन्ध मिलाउनुपर्ने वडा प्रहरी अहिले नेपालगन्ज बजार बाहिर जान सकेको छैन । हाकिमलाई नै कार्यक्षेत्रबारे थाहा नभएपछि वडा प्रहरी कार्यालयले २३ वटै वडाको शान्ति सुरक्षामा पहुँच पुर्याउँला भनेर कसरी विश्वास गर्नु ?
वडा प्रहरी खुम्चिँदै आएको छ, उपमहानगरको क्षेत्र विस्तार भइरहेको छ । सबै वडामा उचित र प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउने बारेमा न वडा प्रहरीका हाकिमलाई चासो छ, न त जिल्लाका अन्य सुरक्षा अधिकारीलाई नै वास्ता छ । हुन त उपमहानगरको सुरक्षाको जिम्मा वडा प्रहरी कार्यालयको भएपछि अरुले चिन्ता लिने कुरै भएन ।
गाउँमा वडा प्रहरीको उपस्थिति हुन नसकेकै कारण आमनागरिक विभिन्न खालका घटना, धम्कीबाट त्रसित जीवन बिताइरहेका छन् । वडा प्रहरी कार्यालयले पहुँच विस्तार गर्न नसक्दा नेपालगन्ज बजारभित्रै खुम्चिँदा अन्य युनिटहरुले वडाको समेत काम गर्दै आएका छन् । उपमहानगरका २३ वटा वडामै वडा प्रहरीको सुरक्षा व्यवस्था निकै कमजोर रहेको देखिन्छ ।
‘वडाको गाडी दिनमा एक–दुई पटक गाउँमा आइदिए पनि धेरै शान्तिको महशुस हुने थियो,’ नेपालगन्ज–२० मनिकापुरकी एक महिला भनिन्, ‘दिनमा एक–दुई पटक त, के महिनामा एक पटक पनि प्रहरी आउँदैनन् । गाउँमा केही समस्या भइहाल्यो भने पनि प्रहरी खोज्न नेपालगन्ज वा कोहलपुर जानुको विकल्प छैन ।’
मनिकापुरका अन्य स्थानीयले पनि सुरक्षाको प्रत्याभूति नगरेको गुनासो गरे । नेपालगन्ज विविधतामा एकताको शहर भएकाले पनि यहाँ पहाडी, मधेसी, मुस्लिम र थारू समुदायको बसोबास छ । साना गल्तीले पनि ठूलो नोक्सानी व्यहोर्नुपर्छ । यो कुरा विगतका घटनाले देखाइसकेको छ । घटनास्थलमा समयमा प्रहरी पुग्नु अत्यावश्यक नै देखिएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके