२०८३ जेठ २५ , सोमबार 8, June 2026, Monday
राष्ट्रिय गौरवको आयोजना

कछुवाको गतिमा सिक्टा सिचाइँ आयोजना, ‘लागत बढ्यो, प्रगति सुस्त’

४० अर्ब बढी लागत बढ्दा हालसम्म आयोजनामा २० अर्ब २४ करोड रुपैयाँ खर्च भइसकेको छ ।
सत्यपाटीसत्यपाटी । बाँके । २०८१ मंसिर २६ गते बुधबार

बाँकेको सिक्टा सिँचाइ आयोजनाको काम सुस्त गतिमा अघि बढेको छ । गौरवको आयोजना भए पनि २० वर्षदेखि कछुवाको गतिमा काम भइरहेको छ । आयोजनाको लागत भने बढेको बढ्यै छ । सिक्टामा पैसा बगिरहँदा किसानको खेतमा पानी बग्न सकेको छैन ।

२०६१–०६२ मा गौरवको आयोजना सिक्टा सिँचाइको काम सुरु भएको हो । यसको सुरुवाती लागत १२ अर्ब ८० करोड थियो । समयमा काम सम्पन्न नहुँदा पटक–पटक गुरुयोजना संशोधन गर्दै ५२ अर्ब ८९ करोड लागत पुर्याइएको छ । २०८९–०९० सम्पन्न गर्ने पछिल्लो गुरुयोजना रहेको छ ।

बाँके जिल्लाको ४२ हजार ७६६ हेक्टर जमिनलाई सिँचाइ गर्ने गरी सिक्टाको परिकल्पना गरिएको छ । पूर्वी र पश्चिमीगरी दुई वटा मूल नहर छन् । पश्चिमी नहर ४५.२५ किलोमिटर र पूर्वी नहर ५३.५ किलोमिटरको रहेको छ । पश्चिमी नहरको शाखा, उपशाखा, प्रशाखाको करिव ६० प्रतिशत काम सकिएको छ ।

पूर्वी नहरमा धेरै काम बाँकी नै छ । पूर्वी नहरको नरैनापुर गाउँपालिकामा काम नै शुरुवात हुन सकेको छैन । आयोजनाका निमित्त निर्देशक इन्जिनियर राजु आचार्यले आयोजनाको हालसम्म ३९.२२ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए । यो भनेको २० हजार २०० हेक्टरमा सिँचाइ सुविधा पुगेको अवस्था हो ।

सुरुवातीभन्दा ४० अर्ब बढी लागत बढ्दा अहिलेसम्म आयोजनामा २० अर्ब २४ करोड रुपैयाँ खर्च भइसकेको छ । सिक्टा आयोजना सम्पन्न हुन नसक्नुमा आयोजना प्रमुखको हुने छिटो सरुवालाई पनि लिइएको छ । २०६१–०६२ देखि हालसम्म आयोजनामा १५ जना कार्यालय प्रमुख परिवर्तन भइसकेका छन् ।

सिक्टाको काम शुरुवात गर्दा कृष्णराज तिमिल्सेना कार्यालय प्रमुख थिए । त्यसपछि सर्वदेवप्रसाद जयसवाल, दिलिपबहादुर कार्की, सरोजचन्द्र पण्डित, रमेश बस्नेत, महेश्वर नरसिंह केसी, रमेश बस्नेत, कृष्ण नेपाल, लोकबहादुर थापा, रामप्रसाद अर्याल, सन्तोष कैनी, रमेशकुमार सिंह, देवराज निरौला र गोपाल शर्मा परिवर्तन भइसकेका छन् ।

यीमध्ये केही कार्यालय प्रमुखले मात्रै दुई वर्ष काम गर्न पाएका छन् । तीन महिना नपुग्दै कार्यालय प्रमुख परिवर्तन भएका छन् । आयोजनामा आएर कामकारबाही राम्ररी बुझ्न नपाउँदै सरुवा गरिदिने र हुने गरेको छ । स्रोतका अनुसार, पछिल्लो समयमा त सिक्टामा कार्यालय प्रमुख आउनै मानेका छैनन् ।

जनशक्ति र ठेक्का व्यवस्थापन, निकुञ्ज क्षेत्रमा बाढी व्यवस्थापन र घुलनशील माटोको समस्या सिक्टाको प्रमुख समस्या र चुनौतीको रुपमा रहेको छ । सिक्टा सिचाइँ आयोजनाको नहर आफ्नै खेत भएर जादा त्यहीका किसानले सिँचाइ गर्न पाएका छैनन् । अझै ९ हजार हेक्टर क्षेत्रमा काम नै हुन सकेको छैन ।

२०३२–०३३ सालदेखि सम्भाब्यता अध्ययन गर्दै २०६१–०६२ देखि काम थालिए पनि दु्रतगतिमा काम नहुँदा यहाँका किसान निराश भएका छन् । बाँकेमा अहिले ३६ हजार ५०० हेक्टरमा धानखेती हुन्छ । सिक्टा सिँचाइ सम्पन्न भएर पानीको सुविधा हुँदा ४२ हजार हेक्टरबढीमा खेती हुन सक्छ ।

सिक्टाको दुई पटक संसदीय टोलीले स्थलगत अनुगमन निरीक्षण गरेको छ । मंसीर ८ गते संसदको पूर्वाधार विकास समितिले सिक्टाको अनुगमन निरीक्षण गरेको थियो । ठाकुर गैरेको नेतृत्वमा आएको प्रतिमा गौतम, विना लामा र लालबीर चौधरीको टोलीले सिक्टाको स्थलगत निरीक्षण गरेको हो ।

यस्तो निरीक्षण यसअघि २०७५ सालमा पूर्णाकुमारी सुवेदी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको संयोजक हुँदा भएको थियो । ६ वर्षपछि आएको संसदीय समितिले सिक्टा सिचाइँ आयोजनाको काम छिटो हुन नसक्नुका कारण, समस्याबारे बुझेर सरकारलाई प्रतिवेदन दिने जनाएको छ ।

प्रकाशित मिति : २०८१ मंसिर २६ गते बुधबार