ग्रामीण भेगमा पूजाअर्चना तथा धार्मिक कार्यमा प्रयोग हुने जुनेलो लोप हुँदै गएको छ । पूजाअर्चना तथा धार्मिक कार्यमा चढाउनका लागि जुनेलो भुटेर राखिने गरिन्थ्यो । तर अचेल भने जुनेलो औषधीकै रूपमा प्रयोग गर्नसम्म पनि पाउन मुस्किल हुन थालेको छ । धार्मिक कार्य तथा पूजाअर्चना मात्रै नभएर ग्रामीण भेगमा दिनको समयमा खाजाको रूपमा समेत जुनेलो प्रयोग हुने गर्दथ्यो ।
स्वास्थ्यका लागि पनि निकै राम्रो हुने जुनेलो अचेल देख्न पनि मुस्किलै हुन थालेको भन्छन्, बेनी नगरपालिका–४ बास्कुनाका शेरबहादुर केसी । बेनी नगरपालिका–४ चनौटेकी उमा गुरुङले जुनेलो एवम् दलहन अनाज बोडी, स्याल्टुङ पनि अहिले उत्पादन हुनै छाडेको बताइन् । उनी भन्छन्, ‘पहिला विकासे मल नहाल्दा राम्रो फल्ने जुनेलो विकासे मल हाल्न थाले पछि भने उक्लिँदै गयो ।’
बजारबाट किनेर ल्याउने युरिया मल (विकासे मल) को प्रयोगले गर्दा जुनेलो उत्पादन हुन छाडेको उनको बुझाइ छ । बेनी नगरपालिका–४ थामडाँडाका हर्कबहादुर विकले आफ्नो बारीमा कोदो मकै रोप्ने र बारीको डिलमा लहरै जुनेलो रोप्ने गर्थे । तर उनले बारीमा जुनेलो रोप्न छाडेको डेढ दशक बित्यो । उनको पनि उमाको जस्तै धारणा छ । विकासे मलले नै हाम्रो जुनेलो उकाल्यो ।
पहिलो मेरो बारीमा हरेक वर्ष ८–१० पाथीसम्म जुनेलो फल्थ्यो तर अचेल भने बिरुवासम्म देख्न मुस्किल छ विकले सुनाए । पहिला जुनेलो धेरै फल्थ्यो त्यो समय पुजाआजामा चढाउने प्रसादका साथै खाजाको रूपमा पनि प्रयोग गर्ने जुनेलो धेरै हुँदा मदिरा बनाउनका लागि जाँड बनाउन समेत प्रयोग गर्ने गरेको थामडाँडाकी हरिमायाँ गुरुङले बताइन् । अहिले लगाउने त गरेको छु तर फल्दै फल्दैन, अलिअलि मसिनो फल्ने र त्यो पनि चराले खाइदिने गर्दा रोपे जति फल्न समेत गाह्रो छ ।
जुनेलो मात्रै नभएर स्थानीय जानका सखरखण्ड, तरुल तथा बदाम र कोदो पनि राम्रो उत्पादन नहुने उनले बताइन् । शीतोष्ण बागवानी विकास केन्द्र मार्फा मुस्ताङका प्रमुख पद्मनाथ आत्रेयले जुनेलो लोपोन्मुख हुनुको कारण संरक्षण र प्रयोग गर्न नजान्नुको उपज रहेको बताए । उनले भने, ‘खानका लागि निकै स्वास्थ्यवद्र्धक भए पनि यसको खेती गर्ने परिपाटी नै हटेर जानुका साथै जुनेलो खेतीतर्फ कृषकको ध्यान नजानु पनि जुनेलो लोपोन्मुख हुने कारण हो ।’
राज्यको निकायबाटै जुनेलो संरक्षण वा खेतीका लागि पहलकदमी नहुनु तथा कृषि पेसामा लाग्नेको सङ्ख्या कम हुँदै जाने र उनीहरूले पनि नगदे र बढी आम्दानी हुने बाली तिरै ध्यान दिँदा यस्तो अवस्था आउन थालेको उनले बताए । कृषि कार्यालयमा गोलभेँडा, तथा काउली, बन्दा लगायतका तरकारी बाली लगाउनका लागि अनुदान होलान् प्राविधिक सहयोग मिल्ला तर जुनेलोका लागि भनेर कसैले माग गरेको खण्डमा अनुदान दिन्छन् र ? प्रश्न गर्नुभयो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । म्याग्दी