काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दो क्रममा छ । जाडोमा अन्य मौसममा भन्दा बालबालिका र वृद्धवृद्धालाई बढि मात्रामा स्वास्थ्य समस्या हुने गर्दछ ।
शरीरमा तापक्रमको मात्रा कम हुनुलाई हाइपोथर्मिया भनिन्छ । यो समस्या आउँदा जीउ काम्ने, दिमाग सुस्त हुने, मानिसको समवेदना कम हुने गर्दछ । हाइपोथर्मियाको मात्रा बढे मानिस बेहोस नै हुने र बेहोसीमै अस्वभाविक ब्यवहार देखाउने गर्दछ ।
यदि हाइपोथर्मिया बढेमा मुटुको धड्कन नै रोकिने र बिरामीको ज्यानै जानेसम्म हुनसक्छ । हाइपोथर्मिया हुदाँ सामान्य भन्दा बढि न्यायो लुगा लगाउनु पर्छ । सकेसम्म तत्काल न्यायने स्थानमा बस्ने र शरीरलाई तातो बनाउनुपर्दछ । समस्या बढेमा अस्पताल जानुपर्दछ ।
इन्फ्लुएन्जा भाइरसबाट लाग्ने सरुवा रोगलाई फ्लु भनिन्छ । विशेषत मनसुनको मौसम वा जाडो महिनाको सुरुवातमा मौसमी फ्लु हुने गर्दछ । संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा अर्को व्यक्तिमा फ्लुको संक्रमण सर्ने गर्दछ ।
फ्लुबाट बच्न सकेसम्म सार्वजनिक स्थलमा नजानु नै बुद्धिमानी हुन्छ । संक्रमित व्यक्तिसँग नजिक नहुने, बाहिरबाट आएपछि साबुन पानीले राम्ररी हातखुट्टा, मुख धुने गर्नुपर्दछ । संक्रमित व्यक्तिले पनि हाछ्युँ गर्दा मुख छोपेर मात्र गर्नुपर्छ । फ्लुको शंका लागेमा तत्काल स्वास्थ्य परीक्षण गराउनुपर्दछ ।
चिसो मौसममा शरीरमा भाइरस बढी सक्रिय हुने भएकाले रुघाखोकी लाग्ने सम्भावना बढि हुन्छ । यस्तोमा रुघाखोकी सहित एलर्जी पनि हुन सक्छ । रुघाखोकीबाट बच्न चिसोबाट बच्नु नै सबैभन्दा ठूलो उपाय हो । बाहिर निस्कदा मास्क लगाउने गर्नुपर्दछ ।
साधारण रुघाखोकी भएमा घरमै उपचार गर्न सकिन्छ । तर नाकबाट पहेंलो सिंगान आउने, नाक बेस्सरी बन्द हुने, घाँटीमा समस्या देखिने वा कानमा समेत समस्या भएमा निकै सावधानी अपनाउनु पर्दछ । चिसो मौसममा बालबालिकालाई उच्च ध्यान दिनुपर्छ ।
जाडो मौसममा हिमाली तथा उच्च पहाडी जिल्लाहरुमा हिउँ पर्छ । अहिले पनि हिमपात जारी छ । यस्तोमा त्यस भागमा रहने वा बाहिरबाट घुम्न जानेहरुलाई हिउँले खाने समस्या हुनसक्छ । लामो समयसम्म हिउँ वा चिसो पानीको सम्पर्कमा रहे यो समस्या हुन सक्छ ।
हिउँले खाने समस्याबाट बच्न शरीरको कुनै पनि अंगलाई हिउँ वा चिसो पानी नछुनु नै पहिलो उपचार हो । विशेषगरी हातखुट्टा, औलाहरु, अनुहार, नाक, कान आदिलाई चिसोबाट बचाउनु पर्दछ । असावधानीका कारण हिउँले धेरै खाएको भए त्यस भागलाई शल्यक्रिया गरी फाल्नुपर्ने अवस्था पनि आउन सक्छ ।
चिसो बढेसंगै केहि मानिसमा श्वासप्रश्वास सम्बन्धी रोग लाग्ने गर्दछ । यसको सबैभन्दा छिटो प्रभाव बिरामी, वृद्धवद्धा, साना बालबालिका तथा सुत्केरीमा पर्न जान्छ । श्वासप्रश्वास सम्बन्धी रोग लाग्नुको मुख्य कारण प्रदूषण, धुम्रपानसंगै चिसो मुख्य कारण हो ।
श्वासप्रश्वास सम्बन्धी रोगमा दम, ब्रोङकाइटिस र निमोनिया लगायतका समस्या हुनसक्छ । श्वासप्रश्वास सम्बन्धी रोगबाट बच्न सम्भव भएसम्म धुलो, धुवाँ तथा प्रदूषणबाट टाढा बस्नु पर्छ । बाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्नुपर्छ । धुम्रपान, चुलोको धुवाँ तथा प्रदुषणबाट पनि बच्नु पर्छ ।
चिसो मौसममा हुन सक्ने अर्काे जटिल समस्या भनेको हृदयघात र मुटुरोग हो । मुटुमा रक्तप्रवाह अचानक बन्द भएमा हृदयघात हुने गर्दछ । यस्तो भएमा मुटुमा असर पर्ने र असर परेको भागले काम गर्न छाड्ने सम्मको समस्या निम्तन्छ ।
हृदयघातबाट बच्न चिसोबाट बच्नु पर्छ । यसका साथै वजन कम गर्ने, बढि चिल्लो, बोसो वा मसलेदार खाना नखाने गर्नुपर्दछ । चिसो मौसममा शरीर कममात्रामा सक्रिय हुने भएकाले शरीरलाई सक्रिय राख्ने वा नियमित केहिबेर शरीरिक व्यायाम गर्नुपर्दछ ।
चिसो मौसममा केहि मानिसहरु सबै झ्यालढोका बन्द गरेर आगो ताप्ने गर्दछन् । यसरी कतैबाट हावा नछिर्ने गरी कोठा बन्द गरेर आगो वा हिटर ताप्दा कोठामा कार्बनमोनोअक्साइडको मात्रा बढ्न जान्छ । यसले पोइजनको रुपमा शरीरमा प्रवेश गर्दछ ।
यसले मानिसको मृत्यु पनि हुन सक्छ । कार्वनमनोअक्साइड पोइजनिङबाट बच्न कोठा भित्र आगो वा हिटर ताप्दा कोठाको कुनै एक भाग खुल्ला राख्नु पर्दछ । केहिबेर आगो वा हिटर तापेपछि कोठा बाहिर जाने र अन्य काममा सक्रिय हुनुपर्छ ।
चिसो मौसममा देखापर्ने मुख्य समस्या मध्ये एक हो, जोर्नीको दुखाई । विशेषतः वृद्ध मानिसलाई देखापर्ने यो समस्या जाडो बढेसँगै शुरु हुने गर्दछ । बाहिरी तापमान घटबढ हुदाँ जोर्नीका नसा समेत खुम्चिने गर्दछन् र रगतमा पनि तापक्रम घट्दछ । जसका कारण जोर्नीहरू कडा हुने र दुख्ने गर्दछ ।
चिसो मौसममा जोर्नीको दुखाईबाट बच्न शरीरमा एक समानको तापमान बनाइ राख्नु पर्दछ । कतिपय मानिस शरीरको माथिल्लो भाग अर्थात जिउमा न्यायो लुगा लगाएपनि खुट्टामा भने साधारण पेन्ट, सारी वा पातलो लुगा मात्र लगाउने गर्दछन् । तर शरीरको तल्लो भागमा पनि न्यायो हुने गरी टाउजर वा पर्याप्त तातो हुने कपडा लगाउने गर्नु पर्छ ।
चिसो मौसम लागेसंगै हाम्रो शरीरका छालामा सुख्खापना बढ्ने गर्दछ । किनकी चिसो मौसम छालाका लागि अनुकूल समय होइन । बाहिरी वातावरण शरीरको को तापक्रम भन्दा कम हुदाँ शरीरको ताप वातावरणले तान्न थाल्छ र छाला सुख्खा हुने गर्दछ ।
छालामा सुख्खापना आउन नदिन जाडो मौसममा पर्याप्त न्यायो लुगा लगाउनु पर्छ । शरीरलाई ढाकेर न्यायो बनाउने र तातो तथा झोलिलो खानेकुरामा ध्यान दिनु पर्छ । कुनै पनि ज्याकेट वा उनीको स्विटर लगाउँदा शरीरमा टासिने कपडा सुतिको हुनुपर्छ । यदि छाला धेरै सुख्खा भए मोइस्चराइजर क्रिम लगाउनु पर्दछ ।
जाडो मौसममा नोरोभाइरसको सक्रियताका कारण केहि मानिसमा बान्ता हुने तथा झाडापखाला लाग्ने गर्दछ । जसलाई विन्टर डायरिया पनि भनिन्छ । संक्रमित व्यक्तिको संसर्गबाट सर्ने विन्टर डाइरीया संक्रमित खाना, वस्तु वा सतह छुँदा पनि सहजै सर्न सक्छ ।
विन्टर डाइरियाबाट बच्न खाना पकाउँदा साबुनपानीले राम्ररी हात धुने, संक्रमित व्यक्तिको संसर्गमा नआउने, एकअर्का कपडा वा सामान प्रयोग नगर्ने, संक्रमित व्यक्तिले गरेको बान्ता वा दिशापिसाब नसोर्हने र सोहर्नु परे पञ्जा र मास्क लगाउने र तातोपानी सहित साबुनपानिले मिचिमिचि हात धुने गर्नुपर्दछ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं