जाडो बेलामा शरीरमा बढी ऊर्जाको जरुरत पर्छ , यस्तो बेलामा बढी ऊर्जा दिने खानेकुरा खाने गर्नुपर्छ । जाडोमा विशेषगरी तातो खानेकुरा खाने गर्नुपर्छ । विशेषगरी बच्चा र बुढाबुढीहरुलाई जाडोले शरीरको तापक्रम कम भइसकेपछि निमोनिया हुन सक्ने हुनाले तातो खानेकुरा र लुगा पनि न्यानो, तातो आउने खालको लगाउने गर्नुपर्छ ।
टाउको र खुट्टाबाट चिसो चाँडो छिर्ने हुनाले हाम्रो हजुरबा, हजुरआमाले पहिलेदेखि नै टाउको र खुट्टा तातो बनाउनुपर्छ भन्ने गर्नुभएको हो । त्यसकारण टाउको र खुट्टालाई चिसोबाट राम्रोसँग जोगाउनुपर्छ । बालबालिकालाई विशेषगरी कोदोको सुप, फापरको सुप, गुन्द्रुक, भटमास, आलुको सुप जस्तो तातो झोलिलो तथा दाल, भात, तरकारी र रोगसँग लड्न सक्ने प्रतिरोध क्षमता भएका भिटामिन ’सी’ युक्त खानेकुरा खाने गर्नुपर्छ ।
यसमा कागती, अमला, गुन्द्रुक जस्ता खानेकुरा जुन सजिलै घरमै उपलब्ध हुन्छ । कागतीमा पर्याप्त मात्रामा भिटामिन सी पाइन्छ । विभिन्न फलफूलहरू अमला, सुन्तला, अम्बा र तुलसीको पत्ताले पनि हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । हामीले अहिले सुपका नाममा धेरै पैसा हालेर तयारी सुप किनेर ल्याउँछौँ । त्यसमा के के हालिएको छ पनि हामीलाई थाहा हुँदैन । गहत जो ऊर्जायुक्त, पोषणयुक्त तथा विभिन्न सुक्ष्म पोषक तत्त्वयुक्त हुन्छ ।
यसको दाल बनाएर खाँदा हाम्रो खर्च पनि धेरै नहुने र जाडोमा धेरै नै फाइदा हुन्छ । हामीले पहिलेदेखि हेपेर जात फाल्नु गहतको झोलमा भनेर गहतलाई निकृष्ट खानेकुरा बनाएका छौं । तर, गहतलाई पिसेर सुप बनाएर खान सकिन्छ, विभिन्न दालमा मिलाएर पनि खान सकिन्छ । जुनसुकै खाद्य वस्तुमा मिलाएर खाए पनि गहतले फाइदा गर्छ । गहतलाई त्यसकारण पनि हामी विशेष खानेकुरा अर्थात सुपर फुड पनि भन्ने गर्छौं ।
गहत र मास दुवैमा प्रोटिनसहित सुक्ष्म पोषक तत्त्व भएकाले यसले स्वास्थ्य राम्रो पार्न पनि भूमिका खेल्छ । ‘आयुर्वेद र परम्परागत सिद्धान्तअनुसार यसको तातोपनले ढुंगा पनि फुटाउन सकिन्छ भन्ने मान्यता छ । त्यसैले मृगौलामा स–साना पत्थरी भएकाहरूलाई गहतको झोल खाँदा फाइदा गर्छ भनेर गाउँघरमा प्रयोग गर्ने चलन छ । सुदूरपश्चिमतिर गहतलाई भुटेर, पिसेर, पानीमा मिसाएर पकाइन्छ । यसलाई ‘घुर्रे’ भनिन्छ ।
यो भात वा रोटीसँग खान सकिन्छ । साथै पकाउँदा अलिकति तरकारी, मकैको पीठो र घिउ हालेपछि यो तातो सुपको रूपमा पनि खान सकिन्छ । गुन्द्रुक, भटमास तथा आलु उमालेर भात, ढिँडो तथा रोटीसँग खाँदा शरीरमा ऊर्जा दिने, सुक्ष्म पोषकत्त्व दिने तथा स्वादिलो पनि हुन्छ । हामीले बजारका चाउचाउ तथा अन्य सुप खाँदा त पैसा बढी खर्च गरे पनि त्यसले शरीरमा ऊर्जा तथा पोषक तत्त्व भने दिने काम गर्दैन ।
बरु अन्य विभिन्न रासायनिक पदार्थ शरीरमा हालेर रोग लगाउने काम गर्छ । अहिले बजारमा विभिन्न थरिका प्याकेटको सुप पाइन्छन् । त्यस्तो सुपमा धेरै चिल्लो हुन्छ, रसायनहरू पनि धेरै हालेको हुन्छ । कति हालेको हुन्छ भन्ने आफैं पत्ता लगाउन, प्याकेटका सुप पकाएर, चिसो भएपछि ८–१० घण्टा (वा एक रात) फ्रिजमा राखिदिनुस् अनि फ्रिजबाट निकाल्दा धेरै चिल्लो जमेको देखिन्छ । अध्ययनले भन्छ त्यसरी धेरै चिल्लो पदार्थ भएको ‘खाना’ प्रयोग गर्दा स्वाद त हुन्छ तर स्वास्थ्यमा समस्या पर्न सक्छ ।
यस्तो ‘सुप’ को प्याकेट महँगो पनि हुन्छ । त्यसैले यस्ता प्याकेटको सुपहरू होइन कि घरमा नै भएका विभिन्न तरकारी, गेडागुडी, दाल आदि प्रयोग गरेर स्वस्थकर सुप बनाउन सकिन्छ । जाडोमा हामीले घरकै तातो खानेकुरा जस्तै तातो दूध, कागती र मह हालेको चिया, दही, अमिलो मोही छ भने त्यसमा बेसन हालेर कडीको सुप बनाएर खान सकिन्छ । हामीसँग सहजै सस्तो रुपमा उपलब्ध हुने यतिधेरै खानेकुरा छन् जुन बालबालिका, वृद्धवृद्धालाई खान दिँदा स्वास्थ्यमा धेरै नै फाइदा हुने गर्छ ।
माघे संक्रान्तिका दिन खाइने घ्यु, चाकु, तिलको लड्डु, शखरखण्ड, खिचडी शरीरका लागि निकै फाइदाजनक छ । खिचडीमा दही मिसाएर खाए यसले रोग प्रतिरोधात्मक क्षमतासमेत बढाउँछ । यसैगरी यमरी पूर्णिमाको दिन चामलको पिठोभित्र खुवा वा चाकु राखेर बनाइने यमरीले पनि जाडो मौसममा धेरै फाइदा गर्ने गर्छ । अष्ट्रेलियामा ‘पम्पकिन’ सुप भनेर फर्सीलाई उसिनेर पानीमा हालेर त्यसमा मखन र मरिच हालेर खाने चलन छ ।
हामीकहाँ फर्सीको तरकारीमा भटमास हालेर घ्यूले झानेर भातसँग खाँदा पनि रोगसँग लड्ने शक्ति भएको खाना नै खाएको भन्ने ठाने हुन्छ । तरकारी र गेडागुडी एकछिन उसिनेर त्यसलाई मिक्सचरमा पिसेर (यदि मिक्सचर छैन भने सिलौटामा पिसेर वा मसिनो गरेर काटेर) हल्का आँचमा पकाएर लसुनले झानेर, खाँदा अलिकता घिउ र हरियो धनिया, मरिच हालेर खाएपछि स्वाद र स्वस्थ दुबै हुन्छ । जाडोको बेलामा ‘क्वाँटी’ सुप बनाउन सकिन्छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
डा.अरुणा उप्रेती । काठमाडौं